close

ई-सेवा १४ औँ वर्षमा, यसरी बन्यो देशकै ‘नम्बर वान’ डिजिटल वालेट

टेकपाना टेकपाना

माघ ११, २०७८ ११:२३

ई-सेवा १४ औँ वर्षमा, यसरी बन्यो देशकै ‘नम्बर वान’ डिजिटल वालेट

काठमाडौं । ई-सेवाको मोबाइल एपमार्फत सहज रुपमा पैसा पठाइरहेका हाम्रा लागि कम्पनीको पहिलो भर्सनबारे त्यति जानकारी नहुन सक्छ । आज मोबाइल एपमा ई-सेवा चलाउनेलाई यसको सुरुवात कम्प्युटर भर्सनबाट भएको थियो भन्दा अचम्म लाग्न सक्छ ।

सन् २००९ मा ई-सेवाको बेटा भर्जन डेक्स्टप कम्प्युटरबाट मात्र चलाउन सकिन्थ्यो । सुरुवाती समयमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स रिचार्जमा गइसकेको थिएन ।

ई-सेवाले टेलिकमबाट रिचार्ज कार्ड ल्याएर पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर बेच्ने गर्दथ्यो । नेपाल टेलिकमले इलेक्ट्रोनिक्स रिचार्ज सिस्टम बनाएपछि भने तरिका फेरियो ।  

सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नकै लागि कम्पनीले दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियल टाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिने भएको छ ।

बुद्ध एयर ई-सेवाको पहिलो आधिकारिक मर्चेन्ट बन्यो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्सको टिकट ई-सेवाबाटै लिन सकिन्छ । हरेक दिन हजारौँले ई-सेवामार्फत एयरलाइन्सको टिकेट काट्न ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको ई-सेवा सन् २०१२ सम्म एफ-वान सफ्टको एउटा प्रोडक्टको रुपमा रहेको थियो । २०१२ पछि भने छुट्टै कम्पनीका रूपमा स्थापना भएर यसले सेवा दिँदै आएको छ ।

साेही समयबाट ई-सेवाको ब्राण्ड कलर निलोबाट परिवर्तन भएर हरियो बन्याे । २०१३ बाट एजेन्ट मोडलमा गएको ई-सेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए ।

आजको दिनमा ई-सेवामा मर्चेन्टको संख्या तीन लाखभन्दा बढी छन् । यससँगै कम्पनीले ५० लाख प्रयोगकर्तालाई अनलाइन भुक्तानीको सेवा दिँदै आएको छ । अहिले ई-सेवाको नेटवर्कमा ५१ ओटा बैंक, ३०० भन्दा बढी सहकारी र एक लाख ३० हजार एजेन्ट आवद्ध छन् ।

कम्पनीका अनुसार ई-सेवाले हालको समयमा दैनिक पाँच लाख ओटा भुक्तानी कारोबार फर्छ्यौट गर्दै आएको छ । जुन नेपालको अनलाइन भुक्तानीको ८० प्रतिशत भएको कम्पनीको दाबी छ ।

२०१७ मा ई-सेवाले मोबाइल एप्लिकेसनमार्फत इन्टरनेट र एसएमएस दुवै भर्जनमा सेवा लिन सकिने प्रणालीको विकास गर्‍यो । २०१६ मा नेपाल राष्ट्र बैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै ईसेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दियो ।

यसरी स्थापना भएको आठ वर्षपछि अर्थात सन् २०१७ मा मात्रै ई-सेवाले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गर्न सफल भयो । यसरी अघि बढेको ई-सेवा आजबाट १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२