close

स्मार्टफोनबाट यसरी शेयर गर्नुहोस् वाई-फाईको पासवर्ड

टेकपाना टेकपाना

माघ ११, २०७८ १९:५०

स्मार्टफोनबाट यसरी शेयर गर्नुहोस् वाई-फाईको पासवर्ड

काठमाडौं । एक समय थियो, जब आफन्त वा साथीभाइसँग भेट हुँदा सुरुमा चियापानी सोधिन्थ्यो । तर अब भने वाई-फाईको पासवर्ड अफर नगरे रित्तो हातको स्वागत जस्तै हुन्छ ।

यस्तोमा झट्ट पाहुनालाई वाई-फाईको पासवर्ड दिन सँधै पासवर्ड याद नभइदिन पनि सक्छ । कतिपयलाई पासवर्ड टाइप गर्न अलि झमेला जस्तो लाग्नसक्छ । त्यसैले आज हामी तपाईँलाई एन्ड्रोइड स्मार्टफोनबाट वाई-फाईको पासवर्ड शेयर गर्ने सजिलो तरिका बारे बताउँदै छौँ ।

एन्ड्रोइड स्मार्टफोनमा क्यूआरकोडको प्रयोग गरी सजिलै वाई-फाई शेयर गर्न सक्नुहुन्छ । यसका लागि आफ्नो मोबाइलमा वाई-फाई खोल्नुहोस् ।

त्यहाँ वाई-फाई सिग्नलमा लिस्ट देखिन्छ । यदि तपाईंको फोन वाई-फाईमा कनेक्ट छ भने सम्बन्धित वाई-फाई सिग्नल सबैभन्दा माथि देखिन्छ । अब तपाईँले आफ्नो फोनमा कनेक्ट भएको वाई-फाई नेटवर्कमा क्लिक गर्नुपर्ने हुन्छ ।

यति  गरिसकेपछि क्यूआर कोड देखिन्छ । कहिलेकाहीँ क्यूआर कोड शेयर गर्नुअघि तपाईंको फिङ्गरप्रिन्ट पनि माग्न सक्छ । जुन तपाईँको फोनको सेटिङमा निर्भर गर्दछ । अब तपाईँ अर्को मोबाइलको इन्टरनेट सेटिङमा जानुहोस् ।

अथवा स्मार्टफोनको क्यामेराबाट सोझै क्यूआर कोड स्क्यान गर्नुहोस् । उपलब्ध नेटवर्कहरूको सूचीको तल नेटवर्कका थप्ने विकल्प हुन्छन् । यसको दायाँपट्टि, तपाईंले अर्को QR कोड आइकन देख्नुहुनेछ ।

त्यसमा ट्याप गर्नुहोस् । पहिलो फोनमा देखिएको क्यूआर कोड स्क्यान गर्नुहोस् । यति गरेपछि तपाईंको एन्ड्रोइड स्मार्टफोनले बाँकी काम आफैँ गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२