close

खल्ती वालेटको ५ वर्ष पुरा, डिजिटल कारोबारमा यसरी बन्दैछ सहयात्री

मेनुक्श मेनुक्श

माघ १२, २०७८ ९:४२

खल्ती वालेटको ५ वर्ष पुरा, डिजिटल कारोबारमा यसरी बन्दैछ सहयात्री

काठमाडौं । प्रविधिको फड्को र आजको आवश्यकतालाई तुलना गरेर हेर्दा डिजिटाइजेसन मूल आधार बनेको छ । नेपालको वित्तीय प्रविधि क्षेत्रमा छोटो समयमै उल्लेखनीय प्रगति गरेको भुक्तानी सेवा प्रदायक हाे, खल्ती ।

विविध चुनौतीको बावजुद पनि मुद्राको प्रयोगलाई डिजिटाइज गर्न लागिपरेको खल्ती वालेट आजदेखि पाँच वर्ष पुरा गरी छैटाैं वर्षमा लागकाे छ । सन् २०१७ मा सानो टिम र ठूलो लक्ष्यसहित सुरू भएको खल्तीले छोटो समयमा धेरै उपलब्धिसँग आत्मसात गरेको छ ।

नेपालको भौगोलिक अवस्था र प्रविधिकाे असमान पहुँचका कारण स्वभावैले सेवा सुविधाको वितरण छिटो छरितो छैन । समान्यभन्दा सामान्य कामका लागि पनि धेरै समय खर्चिनुपर्ने बाध्यता छ ।

अनि कतिपय कामका लागि त १० देखि पाँच बजेभित्र पुग्नैपर्ने बाध्यता पनि हुन्छ । यस्तोमा सीमित समयलाई २४ घण्टामा रुपान्तरण गर्न खल्तीको सुरुवात भएको कम्पनीका सह-संस्थापक अमित अग्रवाल बताउँछन् ।

पाँच वर्षअघि उनीसहित चारजना मिलेर सुरुवात गरेको खल्ती अहिले १३० भन्दा धेरैको एउटा परिवारका रुपमा विस्तार भएको छ । अनि सहरदेखि गाउँका लाखौं सेवाग्राहीको पहुँचमा खल्ती पुगेको छ ।

आजको दिनसम्म आइपुग्न कम्पनीकाे निकै लगाव र झुकावले काम गरेको छ । सुरूका दिनमा खर्च बचाउन उनीहरूले एकदमै कम पारिश्रमिकमा काम गरे ।

उनीहरूले १० वर्षको बचतलाई काठमाडौंमा घर बनाउन अथवा अन्य आवश्यकता पुरा गर्नमा खर्चिनुको सट्टा खल्तीमा लगानी गरेका थिए ।

अमित भन्छन्, ‘यदि त्यो समय हामीले कुनै वित्तीय परामर्श नै लिएका थियौं भने हामीले खल्तीको यात्रा तय गर्ने थिएनौँ । कसैको नजरमा पनि हामी त्योबेला फिनटेकका लागि तयार भएका थिएनौँ । तर पनि प्राविधिक टिमको काम हो, मिहनेत गरे सम्भव छ ठानेर हामी दशौं वर्षको बचतका साथ जानकी टेक र खल्ती वालेटमा होमियौँ । हाम्रो पागलपनले आज लाखौं प्रयोगकर्तालाई सरल भुक्तानी प्रकृयाको सुविधा प्रदान गरेको छ ।’

खल्ती प्रयोग गरेर मोबाइलबाटै टपअप, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद र होटेल रुम बुकिङ गर्न सकिन्छ । त्यस्तै ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु खल्तीबाट लिन सकिन्छ ।

खल्ती वालेटभन्दा पहिले उनीहरूले १० वर्ष अघिदेखि सञ्चालन गरेको स्प्यारो एसएमएस निकै लोकप्रिय थियो ।

अमित भन्छन्, ‘त्यसबाट जे जति पनि कमाएका थियौं, त्यो नै लगानी गरेका हौं ।’

कम्पनीका संस्थापक चारैजना काठमाडौं बाहिरबाट आएका हुनाले यहाँ सबै कुरा सहज पनि थिएन । मनिष माेदी, ध्रुव अधिकारी र अरविन्द साह पुल्चोक क्याम्पसमा सँगै पढेका थिए । मारवाडी सेवा समाजको स्कलरशिप प्रोग्राममा मनिष र अमितको भेट भयो ।

उनीहरूले इन्जिनियरिङ पछि सुबिसुमा काम गरे । उता साथीहरूले भने थर्ड इयरमा नै जानकी टेकको सुरूवात गरिसकेका थिए । सुबिसुमा चार महिनाजसो काम गरेर उनीहरू पनि जानकी टेकमा नै आवद्ध भए ।

मनिष भन्छन्, ‘प्रारम्भिक उत्पादनका लागि एसियाली बजारकाे अनुसन्धान गर्दा हामीले फिनटेक क्षेत्र फस्टाउँदै गइरहेको फेला पायाैं । सन् २०१० ताका, हामीले भुक्तानी गेटवे वा डिजिटल वालेट चलाउन सक्छौं कि भनेर अध्ययन गर्‍याैं । बजार तयार नभएको र धेरै कमीकमजोरी रहेको निष्कर्ष निकालियो । तर २०१४ मा फेरि, हामीले निर्णय गर्‍याैं कि नेपाल फिनटेक क्षेत्र काम गर्नका लागि तयार छ।’

उनीहरूले पहिले नै नेपाल टेलिकम र अन्य ग्राहकहरू जस्तै डिशटिभी र आईएसपीहरूसँग सहकार्य गरेर काम गरिसकेका थिए ।

टेलिकमको सिम कार्ड वितरण परियोजनामा पनि उनीहरूले काम गरिसकेका छन् । मनिष भन्छन्, ‘हामीले बनाएको प्रणाली धेरै प्रयोगकर्ता अनुकूल थियो र राम्रो साथ पायो । अन्ततः हामीले अहिले नै उपयुक्त समय हो भनी निर्णय गर्‍यौं र खल्तीको विकास सुरु गर्‍यौं ।

खल्ती वालेट गेटवे जारी गर्ने बेलाकाे चटारोलाई अमित यसरी सम्झन्छन्, ‘हामीले क्यान इन्फोटेकको टिकटको पछाडि एउटा विज्ञापन पहिल्यै लिइसकेका थियौं । तर खल्ती तयार थिएन । भोलिदेखि क्यान इन्फोटेक आउँछ भनेसँगै खल्तीको विज्ञापन पनि आउने भयो । त्योभन्दा अगाडि खल्ती त आउनुपर्‍याे । त्यतिबेला हाम्रो प्राविधिक टिम १५ दिनसम्म घर नै गएन ।’

पेमेन्ट गेटवे सञ्चालनका लागि प्रत्येक बैंकसँग गएर छुट्टै इन्टिग्रेट गर्नुपर्छ । एउटै बैंकमा तीन महिनादेखि छ महिनासम्म पनि लाग्न सक्छ । त्यति हुँदा पनि बैंकहरूसँग इन्टिग्रेट गर्दै, मार्केटिङ गर्दै खल्ती अगाडि बढिरहेकाे छ ।

अब भने खल्तीप्रति बैंक र मर्चेन्टहरूको विश्वास बढेर गएको छ । खल्तीलाई आफ्नो सेवामा आवद्ध गर्नुपर्छ भन्ने धारणा राख्न थालेका छन् । यदि राम्रोसँग यसैगरी सबैको साथ र विश्वास मिलेमा खल्तीलाई विश्वस्तरीय फिनटेक कम्पनीको रुपमा स्थापित हुन धेरै समय नलाग्ने अमित बताउँछन् ।

राष्ट्र बैंकको अनुमति पाएपछि प्रयोगकर्तामा अझ खल्तीप्रतिको विश्वास बढेको छ । अब खल्तीलाई अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित गराउने कम्पनीको योजना छ । यद्यपि सुरूमा नेपालमै ‘एक घर एक खाता’को मूल नारालाई मूर्त रुप दिन कम्पनी लागिपरेको छ ।

अहिले खल्तीले वित्तीय साक्षरतासँगै पूर्वाधारमा काम गरिरहेको छ । राष्ट्र बैंकको अनुमति पाएपछि प्रयोगकर्तामा अझ खल्तीप्रतिको विश्वास बढेको छ ।

भोलिका दिनमा ठूलाठूला कम्पनीले पनि भुक्तानीको काम गर्न सक्छन् भन्ने हुँदाहुँदै पनि आफ्नो प्रतिस्पर्धा क्यासलाई डिजिटल बनाउनु नै थियो । बिल तिर्नलाई खर्चिने समयलाई अरु कुनै कामका लागि खर्चिन सकिने अवस्था सिर्जना गर्नु उनीहरूको लक्ष्य थियो ।

मनिष भन्छन्, ‘नेपालमा खास अर्थमा पेमेन्ट गेटवे थिएन । यहाँ ईकमर्समा समस्या भनेकै भुक्तानी र डेलिभरी थियाे । हामी भुक्तानीको समस्या मेटाउन चाहन्छौं । त्यस अवस्थामा, तपाईंले हामीबाट एपीआई प्राप्त गर्न सक्नुहुन्छ, जसलाई तपाईंले आफ्नो ईकमर्स साइटमा हाम्रो गेटवे एकीकृत गर्न सक्नुहुन्छ र तपाईंका प्रयोगकर्ताहरूले तपाईंलाई सजिलै भुक्तानी गर्न सक्नेछन् । तपाईंले आफ्नो खल्ती खातामा सिधै भुक्तानी स्वीकार गर्न सक्नुहुन्छ, जुन साना व्यापारीहरूलाई धेरै लाभदायक हुनेछ । हामीले चाँडै नै हाम्रो प्रणाली र एपीआईमा क्रेडिट र डेबिट कार्ड भुक्तानीको सेवा ल्याउने लक्ष्य राखेका छौं ।’

डिजिटल भुक्तानी प्रक्रियालाई मूलधारमा ल्याएर खल्तीले देशको कर तथा राजस्व चुहावटलाई रोक्नमा समेत महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यसरी सबै प्रयोगकर्ताले डिजिटल वालेटको प्रयोगार्थ आफूहरूलाई तयार गरेमा मुद्रा कारोबारबाट निम्तिने जोखिमलाई समेत कम गर्न सकिन्छ ।

मंगलबारमात्रै नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवाले आफ्नो १३औं वार्षिकोत्सव मनायो । स्वभावैले अनलाइन भुक्तानीको क्षेत्रमा ईसेवाको हिस्सा ठूलो भएपनि उसलाई पछ्याउँदै खल्ती अघि बढिरहेको छ ।

हाल डिजिटल भुक्तानीको बजारमा खल्तीको १५ प्रतिशत बजार हिस्सा रहेको कम्पनीका संस्थापक अमित बताउँछन् । यो बीचमा खल्ती निरन्तर इनोभेसनमा काम गरिरहेको छ ।

हालै खल्ती वालेटमा नेपालको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको समेत समेत लगानी थपिएको छ । लगत्तै खल्तीका प्रयोगकर्ताका लागि वर्ल्डलिङ्कको फ्रि हट्सपटमा १०० जीबी इन्टरनेट प्राप्त गर्नसक्ने सुविधा ल्याइएको छ ।

अमितका अनुसार वर्ल्डलिंकले ल्याएको फेसबुक एक्सप्रेसलाई खल्तीमा इन्ट्रिगेसन गरेर यो सर्भिस उपलब्ध गराइएको हो ।

डिजिटल पेमेन्ट प्रणालीको पहुँच सहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगसम्म विस्तार गर्ने योजना खल्तीले ल्याएको छ । पछिल्लो एक वर्षमा मात्रै खल्तीमा पाँच लाख नयाँ प्रयोगकर्ता जाेडिएका छन् ।

पछिल्लो वर्ष एन्ड्रोइड र एप्पलको सिस्टमलाई समेत फ्लटर टेक्नोलोजी सहित सेवा विस्तार गरेकाले खल्तीका लागि केही हदसम्म चूनौतीपूर्ण रह्याे ।

कोभिड-१९ महामारी सुरू भएपछि धेरै टिभी, इन्टरनेट सेवाप्रदायक, बैंक र मर्चेन्टहरू खल्ती नेटवर्कमा जोडिन थाले । यसपछि खल्तीका प्रयोगकर्तामात्रै नभएर कारोबार पनि बढ्न थाल्याे ।

यसअघि २०१८ मा ल्याएको ‘Refer and earn campaign’ खल्तीले पुनः सुरू गरेको छ । जुन कम्पनीका लागि ठूलो उपलब्धि भएको मनिषले बताए ।

फिनटेकमा वालेट एउटा हिस्सा मात्रै भएकाले आगामी दिनमा क्षेत्र विस्तार गर्दै लैजाने कम्पनीको लक्ष्य छ । अहिलेसम्मको अवधिलाई हेर्दा पाँच वर्षको यात्रामा धेरै उतारचढाव भोग्नुपरेको भएतापनि सफलताको पक्ष भने सुखद देख्न सकिन्छ ।

छाेटाे समयमै आफ्नो निश्चित बजार सिर्जना गर्दै नवीनतम सेवा उपलब्ध गराउन सफल खल्तीको आगामी यात्रा अझै रोचक र फलदायी हुन सकोस् । ह्याप्पी फिप्थ एनिभर्सरी खल्ती !

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२