close

तन्नम अवस्थामा स्मार्ट टेलिकमः सम्पत्ति ५ अर्ब, ऋणदायित्व १४ अर्ब

टेकपाना टेकपाना

माघ १४, २०७८ १३:३५

तन्नम अवस्थामा स्मार्ट टेलिकमः सम्पत्ति ५ अर्ब, ऋणदायित्व १४ अर्ब

काठमाडौं । नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनीको रुपमा रहेको स्मार्ट टेलिकम टाट पल्टिएको छ । कम्पनीको अवस्था यतिसम्म तन्नम बनेको छ कि उसको कूल सम्पत्तिभन्दा तिर्नुपर्ने ऋण दायित्व करिब तीन गुणा बढी छ । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले केही महिना अघि कम्पनीको आर्थिक वर्ष २०७७/०७८ सम्मको वित्तीय प्रतिवेदनको विश्लेषण गराएको थियो । जसअनुसार गत असार मसान्तसम्म कम्पनीको कूल सम्पत्ति पाँच अर्ब २७  ७२ लाख ६३ हजार रुपैयाँ रहेको देखिन्छ । 

तर सोही समयमा कम्पनीले १३ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ विभिन्न ऋण, सरकारी कर तथा राजस्व र अन्य दायित्व बुझाउनुपर्ने देखिन्छ ।

यसरी कम्पनीको कूल सम्पत्ति घटाउँदा समेत स्मार्ट टेलिकमले तिर्नुपर्ने ऋण- दायित्व आठ अर्ब ४२ करोड रुपैयाँ हुन आउँछ । त्यसमाथि असार यताको हिसाब गर्ने हो भने कम्पनीको ऋण तथा दायित्व अझ धेरै हुन पुग्छ । कम्पनी चल्न नसक्ने अवस्थामा पुगेपछि सरकारले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेर हत्याउने तयारी थालिसकेको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने ६ अर्बमाथि

कम्पनीले असार मसान्तसम्म नेपाल दूरसञ्चार प्राधिकरणलाई लाइसेन्स नवीकरण वापत चार अर्ब २५ करोड रुपैयाँ बुझाउन बाँकी रहेको देखिन्छ । यसबाहेक फ्रिक्वेन्सी शुल्क एक अर्ब ६६ करोड रुपैयाँ, रोयल्टी ११ करोड ९४ लाख रुपैयाँ र आरटीडीएफ बापत आठ करोड, ६४ लाख रुपैयाँ समेत बुझाउनुपर्नेछ ।

यसरी विभिन्न शीर्षकमा स्मार्ट टेलिकमले प्राधिकरणलाई ६ अर्ब ११ करोड २८ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । 

लगानीकर्ताको ऋण ३ अर्ब ३९ करोड 

सुरुवाती समयमा स्मार्ट टेलिकमले कम्पनीमा ५० प्रतिशत शेयर रहेको सिङ्गापुरको लालसाहु डिस्टिब्युसनबाट वार्षिक १० प्रतिशत ब्याजदरमा दुई करोड अमेरिकी डलर (हालको विनिमय दरअनुसार अनुसार करिब दुई अर्ब ३८ करोड ) रुपैयाँ ऋण लिएको थियो ।

तर यसका लागि नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति समेत लिएको छैन । सन् २०११ मा लालसाहुले त्यसमध्ये एक करोड ३५ लाख डलर ऋण सम्झौता ब्रिटिस भर्जिन आइसल्यान्डमा रहेको स्क्वायर स्टार इंकको नाममा ट्रान्सफर गर्‍यो ।

त्यसपछि पुनः ५ सेप्टेम्बर २०१६ मा स्क्वायर स्टार इंकले आफ्नो सबै ऋण अधिकार, ब्याज सबै दुई करोड ६८ लाख ५० हजार अमेरिकी डलर कस्बो इन्भेस्टमेन्ट लिमिटेडको नाममा ट्रान्सफर गर्‍यो ।

कस्बो स्मार्ट टेलिकमकै ३० प्रतिशत लगानीकर्ता कम्पनी हो । यसरी अहिलेसम्म ब्याजसहित उक्त ऋण ३ अर्ब ३८ कोरड ५७ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।  

दुई ओटा बैंकमा एक अर्ब ५७ करोड ऋण

स्मार्ट टेलिकमले नेपाल इन्भेस्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंकबाट समेत ऋण लिएको छ । जुन गत असारमै एक अर्ब ५७ करोड ११ लाख रुपैयाँ पुगेको थियो ।

यस बाहेक ती दुवै बैंकमा क्रमशः ३० करोड र सात करोड गरी थप ३७ करोड ऋण समेत छ । यसरी समग्रमा बैंकिङ ऋण ९४ करोड ११ लाख रुपैयाँ छ । 

अन्य लेनदेन ३५ करोड

कम्पनीको अन्य प्रकारको लेनदेनमा तिर्नुपर्ने रकम असार मसान्तसम्म दुई अर्ब ३४ करोड ५२ लाख रुपैयाँ देखिएको  थियो । 

टीडीएस ३१ करोड

कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म सरकारलाई बुझाउनुपर्ने ३० करोड ८१ लाख टीडीएस समेत बुझाएको छैन ।  

आयकर ३ करोड २५ लाख

कम्पनीले आन्तरिक राजस्व विभागलाई असार मसान्तसम्म तीन करोड २५ लाख १८ हजार रुपैयाँ बुझाउनुपर्ने देखिन्छ ।

भ्याट साढे १२ करोड

स्मार्ट टेलिकमले विभिन्न खरिद बिक्रीका क्रममा संकलन गरेर समेत सरकारलाई नबुझाएको भ्याट रकम असार मसान्तसम्म १२ करोड ४६ लाख रुपैयाँभन्दा बढी छ । 

डिस्ट्रिब्युटरलाई तिर्नुपर्ने

कम्पनीले सिमकार्ड एक्टिभेसन बापत असार मसान्तसम्म डिस्ट्रिब्युटरलाई ५८ करोड ५३ लाख ३२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

ग्राहकको २४ करोड

कम्पनीले भ्वाइस, डेटा लगायतका सेवाका लागि आफ्ना ग्राहकबाट उठाएको रकम २३ करोड ९४ लाख रुपैयाँ रहेको छ । जस बापत उसले असार मसान्तसम्म सेवा दिन बाँकी रहेको थियो ।  

सेक्युरिटी डिपोजिट २४ करोड

कम्पनीले विभिन्न सङ्घसंस्थाको सेक्युरिटी डिपोजिटको रुपमा २४ करोड रुपैयाँभन्दा बढी दायित्व निर्वाह गर्नुपर्नेछ । 

एलसी ४१ करोड 

स्मार्ट टेलिकमले एलसी बापत नेपाल इन्भेस्टमेन्ट बैंकलाई ४१ करोड ३६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । 

एमजी हर्बलको २७ करोड ऋण

कम्पनीले एमजी हर्बल एन्ड इन्भेस्टमेन्ट प्रालिबाट विभिन्न मितिमा २७ करोड रुपैयाँ ऋण लिएको छ । नेपाल स्याटलाइट टेलिकमको ५२ करोड ऋणस्ट्राटेजिक टेक्निकल पार्टनरशिपको रुपमा नेपाल स्याटलाइट टेलिकमबाट लिएको ५२ करोड रुपैयाँ समेत स्मार्ट टेलिकमको ऋण दायित्वको रुपमा रहेको छ । 

सम्पत्तिमा के छ ? 

स्मार्ट टेलिकमसँग एक करोड ५९ लाख रुपैयाँ पर्ने जग्गा, एक करोड ९७ लाख रुपैयाँ मूल्यको बिल्डिङ, ६२ लाखको लिजमा लिएको सम्पत्ति, तीन अर्ब ७२ करोड रुपैयाँ बराबरको प्लान्ट तथा मसिनरी, ६४ लाख मूल्यको अफिस सामग्री, २८ लाखका फर्निचर र २७ लाख मूल्यका सवारी साधन छन् ।

यसरी कम्पनीसँग करिब तीन अर्ब ७४ करोड रुपैयाँ बराबरको अचल सम्पत्ति रहेको छ । त्यस्तै बिभिन्न बैंकमा रहेको खातामा कम्पनीको कूल बैंक ब्यालेन्स  एक करोड ५२ लाख रुपैयाँ छ । यसैगरी लाइसेन्स नवीकरणका लागि अग्रिम रुपमा नियामक प्राधिकरणमा जम्मा गरेको रकम ७६ करोड नौ लाख रुपैयाँ रहेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२