close

देशभरका विद्यालयलाई डिजिटल बनाउने अभियानमा ‘ई-डिजिटल नेपाल’

मेनुक्श मेनुक्श

माघ १८, २०७८ १५:३५

देशभरका विद्यालयलाई डिजिटल बनाउने अभियानमा ‘ई-डिजिटल नेपाल’

काठमाडौं । सूचना र प्रविधिको युगमा विश्वलाई नै एउटा गाउँको रुपमा हेरिन्छ । तर टाढाका चिजलाई नजिक ल्याउँदै गर्दा आफ्नो वरपरका चिज वस्तु के कति ‘ग्लोबलाइज्ड’ भइरहेका छन् या छैनन् भन्ने कुरालाई मनन गर्न भने बिर्सिन हुँदैन ।

एसएलसी पास गरेको एक दशक बित्नै लाग्दा पुनः आफू पढेकाे विद्यालय पुग्दाको स्थितिलाई देखेर आफ्नो सेवाको क्षेत्र निर्धारण गरेका थिए आदित्य राजले । जसलाई दीर्घकालीन योजनाको एउटा रूप दिएर ‘डिजिटल नेपाल’ नाम दिए ।

आदित्यले सुरु गरेको ‘डिजिटल नेपाल’ अहिले एउटा स्थापित स्कुल म्यानेजमेन्ट सफ्टवेयरका रुपमा परिचित छ । सन् २०१५ मा आदित्य आफ्नो इन्जिनियरिङको पढाइ सकाएर संस्था दर्ता गर्नका लागि नेपाल इन्जिनियरिङ अशाेसिएसनमा पुगेका थिए ।

‘आवश्यक सम्पूर्ण कागजातको सक्कल विवरण उपलब्ध गराउनुपर्ने रहेछ । तर मसँग एसएलसीको कागजातको फोटोकपि मात्रै थियो । काम बनेन,’ उनले भने ।

उनी पढेको पुरानो विद्यालय राजविराज जानुपर्‍याे । समस्या त त्यतिबेला भयो, जब उनको कुनै पनि पुरानो रेकर्ड विद्यालयमा सुरक्षित थिएन ।

आदित्य सम्झन्छन्, ‘१० वर्षमा विद्यालयको कार्यप्रणालीमा उल्लेख्य परिवर्तन आएकाे थिएन । कर्मचारी भने हेरफेर भएका थिए । मलाई विद्यालयका कर्मचारीले समेत चिनेनन् ।’

उनी आजित भए । तर उनलाई पढाएकै एकजना गुरु भेटेपछि भने आश्वस्त बने । उनका गुरुले हाम्रै विद्यालयमा अध्ययन गरेको विद्यार्थी हो भनेपछि बल्लतल्ल काम बन्याे । याे घटनाले उनलाई निकै आघात तुल्यायो ।

‘हामी विद्यार्थीहरू पढेर ठूलो कम्पनीमा पुग्छौं । राम्रै प्रगति पनि गर्छौं । हामीले आफू पढेको विद्यालयलाई बिर्सिन्छौं,’ भावुक हुँदै उनले भने, ‘जुन विद्यालयले कखरा सिकाएको हुन्छ । समाजमा उभिन लायक बनाएको हुन्छ । त्यो क्षेत्रलाई फर्केर हेर्ने विद्यार्थी एकदम थोरै हुन्छन् । यदि देशलाई यो युगमा आवश्यक हुने दक्ष जनशक्तिको उत्पादन गर्ने हो भने हामीले शिक्षा क्षेत्रको विकासलाई विशेष महत्व दिनसक्नुपर्छ ।’

यदि कुनै क्षेत्रमा सबैभन्दा चाँडो प्रविधिको प्रयोग हुनपर्छ भने त्यो शिक्षा क्षेत्र नै हुनपर्ने आदित्यको भनाइ छ ।  शिक्षा क्षेत्र देशको मेरूदण्ड हो र सबैभन्दा पहिला डिजिटाइज हुनुपर्छ, अनि मात्र डिजिटल देशको कल्पना गर्न सकिन्छ भन्ने विचारधारा सहित २०१५ मा उनले ‘ई-डिजिटल नेपाल प्रालि’ को स्थापना गरेका थिए ।

उनी काठमाडौं फर्किएर अनुसन्धान गर्न थाले । राजधानीका चलेका स्कुल तथा कलेजले समेत परम्परागत शैलीले रेकर्ड राख्ने काम गरिरहेका थिए । प्रविधिको उस्तो प्रयोग भएको नदेखेपछि चारजना सफ्टवेयर डेभलपर हायर गरेर सफ्टवेयर विकास गरे ।

पहिलो सफ्टवेयर बोकेर उनी दुर्गा माध्यमिक विद्यालय पुगे, जहाँ उनले एसएलसीसम्म पढेका थिए ।

कम्पनीका संस्थापक आदित्य राज

‘सुरुमा त आफैंले बनाएको भन्दा कसैले पत्याउनु भएन । भारतबाट ल्याएको होला भन्नुभयो । तर पछि आफ्नै विद्यालयमा पढेको विद्यार्थीले गरेको कामप्रति उहाँहरू पनि गौरवान्वित हुनुभयाे,’ उनले भने ।

‘सफ्टवेयर प्रयोग गर्ने/नगर्ने भन्ने सम्बन्धमा छलफल गर्नका लागि बैठक बस्यो । अन्ततः सफ्टवेयर प्रयोग गर्नका लागि विद्यालय तयार भयो । व्यवस्थापनका लागि आवश्यक अन्य फिचर थप गर्न समेत विद्यालयबाटै प्रस्ताव भयो,’ उनले सुनाए ।

सफ्टवेयरको प्रयोग त गरियो । तर केबीपीएसको स्पिडमा चल्ने इन्टरनेटले उपलब्धिमूलक काम गर्न सकेन । कम गुणस्तरकाे इन्टरनेटका कारण विद्यालयहरूले उनको सफ्टवेयर प्रयोग गर्नका नकारिदिन्थे । बल्लतल्ल क्लाइन्ट बनेका विद्यालयमा पनि राम्रोसँग सफ्टवेयरको प्रयोग हुन सकेन ।

‘मलाई लाग्यो कि, समस्या बजारमा होइन, उत्पादनमा भइरहेको छ । केही त फरक गर्नुपर्छ भन्ने सोच बनाएँ । पहिल्यैको सफ्टवेयरलाई उनले परिमार्जन गरेर जस्तोसुकै भूगोलमा पनि सरल रुपले प्रयोग गर्न सकिने बनाउने निधो गरेँ ।’ 

सबै कामलाई थाँती राखेर आदित्य फेरि अनुसन्धानमा लागे । जतिबेला उनले आफ्नो लगानी पुरापुर खर्चिसकेका थिए । लगानीकर्ता पनि भेटिएका थिएनन् । साथीहरूसँग सहयोग माने । नयाँ बाटो खोजे, तर हार मानेनन् ।

त्यतिबेला सम्म उनको एमबीएको पढाइ पनि सुरु भइसकेको थियो । उनले पढाइलाई अनुसन्धानको एक हिस्सा बनाए । इन्टरनेट र फिल्डमा गएर दुवै हिसाबले अनुसन्धान गरे । टिममा भएका साथीहरूलाई लगानीमा प्रोत्साहन गरे ।

डेभलपरको रुपमा जोडिएका कपिल बस्नेत पनि कम्पनीका संस्थापकमध्येमा एक भए । यमाहामा काम गरिरहेका वसन्त गुप्ता पनि  टिममा जोडिए ।

उनीहरूले एक वर्ष लगाएर अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने सफ्टवेयर विकास गरे । नयाँ प्रडक्टसहित २०१८ मा बजारमा आएको तीन महिनामा नै उनीहरू सयभन्दा बढी विद्यालयलाई आफ्नो सेवा उपलब्ध गराउन सफल भए ।

सरकारी तथा निजी सबै किसिमका शैक्षिक संस्थाले अब उनीहरूलाई पत्याउन थाले । देशभरका नौ वटा आर्मी आवासीय स्कुलहरुमा ‘डिजिटल नेपाल’कै म्यानेजमेन्ट सफ्टवेयर प्रयोग भइरहेको आदित्य सुनाउँछन् ।

अप्ठ्याराे अवस्थामा कत्ति पनि विचलित नभई सपनालाई डोहोर्‍याएका आदित्य भन्छन्, ‘साथीहरूलाई सधैं हौसला दिइरहेँ, भनिरहेँ कि कर्ममा विश्वाश गर्न जरुरी छ । हामी आज नै सफल नभइएला, तर हाम्रो सपनाले वास्तविकताको आकार लिनु त अवस्वम्भावी छ, निश्चित छ ।’

नभन्दै कम्पनीलाई एसीटीसी अवार्ड मिल्यो । विस्तारै अब बजार र प्रडक्टमा भएको समस्याबाट मुक्ति मिलेको महसुस हुँदै गएको आदित्य बताउँछन् ।

कोभिड महामारीले अन्य क्षेत्र धराशयी हुँदा उनकाे टिमले भने थप अवसर र जिम्मेवारी पायाे ।

‘पहिला हामीले विद्यालय खोज्दै जानुपर्ने बाध्यता थियो । कोभिडपछि विद्यालयहरूले हामीलाई खोज्न थाले । हामीले अनलाइन क्लासलाई मध्यनजर गरी सेवालाई परिमार्जन गर्‍याैं । अहिले सफ्टवेयरको प्रयोग नै गर्दिन भन्ने मानसिकतामा रहेकाको सोच परिवर्तन भएको छ । यो देख्दा सफलताको असली स्वाद मिल्ने रहेछ,’ आदित्य भन्छन् ।

कोभिडपछि तीन सय विद्यालय स्वतःस्फूर्त रुपमा ‘डिजिटल नेपाल’लाई खोज्दै कम्पनीसँग जोडिएको उनले बताए ।

उनी भन्छन्, ‘सुरूवातका दिनमा युवालाई खासै विश्वास पनि गरिँदैन थियो । विश्वास जित्नु ठूलो कुरा थियो । तर हामीले हरेक चुनौतीलाई सहर्ष स्वीकार गर्दै परिस्थितिको सामना गरिरह्यौं । हरेक क्षेत्रबाट सराहना मिल्न थाल्यो । २०१९ मा बेस्ट स्टार्टअप कम्पनीको अवार्ड मिल्यो । जसले कम्पनीको नयाँ माइलस्टोन सेट गर्‍याे ।

१५ लाखको लगानीमा आदित्य एक्लैले सुरूवात गरेको कम्पनीको ‘नेटवर्थ’ अहिले छ करोडको हाराहारीमा छ । साथै कम्पनीले ४६ जनालाई नियमित रोजगारी समेत दिइरहेकाे छ ।

अहिलेको अवस्थामा स्कुल म्यानेजमेन्ट सफ्टवेयर उपलब्ध गराउनेमध्येमा आफूहरूले सबैभन्दा उत्कृष्ट सेवा प्रवाह गरिरहेको उनको दाबी छ ।

सुरुवाती दिनबाट नै शिक्षा क्षेत्रमा हुने कामकाजलाई डिजिटाइज गर्न लागिपरेको ‘डिजिटल नेपाल’ यसमा नै अनवरत सक्रिय रहने कुरामा प्रतिबद्ध रहेको आदित्यले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५