close

टोरेन्टले कसरी गर्छ काम ?

हरिजङ्ग थापा हरिजङ्ग थापा

माघ २१, २०७८ ११:४४

टोरेन्टले कसरी गर्छ काम ?

काठमाडौं । इन्टरनेट प्रयोगकर्तामाझ टोरेन्ट अपरिचित टुल पक्कै होइन । यो कस्तो खालको प्रविधि हो, किन यो लोकप्रिय बन्यो र यसको उपयोग गर्दै गर्दा हामीले ध्यान दिनुपर्ने कुरा के के हुन् त ? आज म यस्तै प्रकारका जिज्ञासा मेटाउने प्रयास गर्दैछु ।

कुनै सिरिज वा मुभी नेटफ्लिक्स अथवा अमेजन प्राइममा सार्वजनिक भयो । तपाईंलाई त्यो फिल्म हेर्न निकै नै मन छ । नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने पहिलो कुरा त तपाईं इन्टरनेटमार्फत सित्तैमा त्यो सामग्री हेर्न अनेक विकल्प खोज्नुहुन्छ । यस्तो अवस्थामा जानेर वा नजानेर कानून विपरितका विकल्पमा पनि धेरै मानिस गइरहेका हुन्छन् ।

हुन त सकेसम्म सुरुमा विदेशमा रहेका साथीभाईसँग नेटफ्लिक्स वा अमेजन प्राइमको अकाउन्ट मागेर भए पनि आफ्नो चाहना पक्कै पुरा गर्नुहुन्छ । तर यस्तो सहज पहुँच पाउनेहरु हाम्रो जस्तो देशमा एकदमै कमै मात्र छन् ।

फलस्वरुप क्रियटरको दृष्टिबाट हेर्ने हो भने टोरेन्ट एउटा पाइरेसी बढाउने टुलजस्तो लाग्न सक्छ । यद्यपि टोरेन्टको सुरुवात भने पाइरेसी बढाउने हेतुले भएको थिएन ।

टोरेन्ट आफैंमा एउटा छुट्टै प्रविधि हो । सन् २००१ देखि सुरु भएको यो प्रविधि सुरुमा etree organization को लागि बनाइएको थियो । जसले लाइभ कन्सर्टको रेकर्डिङ फ्यानहरुमाझ शेयर गर्ने काम गर्थ्यो ।

त्यो समय इन्टरनेट अहिलेजस्तो फास्ट थिएन, वेबसाइटहरु स्ट्याटिक खालका मात्र थिए । अडियो गीतहरु इन्टरनेटमार्फत शेयर गर्न सजिलो थिएन । न त सर्भर नै अहिलेजस्तो क्षमतावान थिए ।

कुनै सानो फाइल डाउनलोड गर्न पनि धेरै समय लाग्थ्यो। त्यसैले इन्टरनेटमार्फत ठूला फाइल शेयर गर्ने सजिलो होस् भनेर ब्राम काेहेन नाम गरेका अमेरिकी प्रोग्रामरले टोरेन्ट (Torrent) को विकास गरे ।

अहिले त्यसको Updated version को रुपमा U-Torrent, Bittorent जस्ता थुप्रै सफ्टवेयरहरु प्रयोगमा छन् ।

यसले कसरी काम गर्छ त ? 

उदाहरणका लागि तपाईं आफ्नो ब्राउजरमा कुनै वेबसाइट सर्च गर्नुहुन्छ भने त्यही वेबसाइटको सर्भरबाट तपाईंले खोजेको कुराहरु तपाईंलाई आउँछ । वा तपाईं कुनै फाइल डाउनलोड गर्दै हुनुहुन्छ भने त्यो फाइल जुन सर्भरमा सेभ भएर बसेको छ, त्यहाँबाट तपाईंको डिभाइसमा ‍फाइल डाउनलोड हुन्छ ।

तर यदि एउटै फाइललाई एकैपटक लाखौं मानिसहरुले एकैसमयमा डाउनलोड गर्न चाहन्छ भने त्यो ट्राफिकलाई थेग्न सर्भर निकै शक्तिशाली चाहिन्छ जसको स्पिड पनि उच्च हुनुपर्छ, अन्यथा सबै प्रयोगकर्ताले त्यसको वेबपेज देख्न सक्दैनन् ।

त्यसैले सर्भरलाई बलियो बनाउनु बाहेक यसका लागि तपाईंसँग अन्य विकल्प हुँदैन । तर सर्भर राख्ने आर्थिक हैसियत बलियो आम्दानी भएको कम्पनीबाहेक अरुसँग हुँदैन ।

त्यसैले ठूला फाइलहरु शेयर गर्नका लागि आर्थिक हैसियत कम भएका मानिस तथा कम्पनीका लागि सजिलो बाटो थिएन। जसलाई टोरेन्टले सजिलो बनाइदियो ।

उदाहरणका लागि यदि एक जना सिङ्गल युजर, जस्तो मसँग कुनै डकुमेन्ट, म्युजिक, गेम, फिल्म अथवा जुनसुकै फाइल छ । त्यसलाई म विश्वको कुनै पनि कुनामा धेरैभन्दा धेरै मानिसहरुमाझ पुर्‍याउन चाहन्छु । तर मसँग यसका लागि कुनै सर्भर त हुँदैन । यस्तै बेला म टोरेन्ट प्रविधिको प्रयोग गर्न सक्छु ।

मैले सबैमाझ पुर्‍याउन चाहेको फाइल मेरो ल्यापटप वा मोबाइलमा छ । यस्तो बेला म कुनै पनि टोरेन्ट होस्टिङ वेबसाइटमा गएर त्यस फाइलको एउटा टोरेन्ट क्रिएट गर्न सक्छु ।

जब मैले क्रिएट गरेको टोरेन्टलाई कसैले डाउनलोड गर्छ । जब उसले त्यसलाई आफ्नो टोरेन्ट क्लाइन्टमा एड गर्दछ, तब विस्तारै टोरेन्ट क्लाइन्टले त्यस फाइललाई मेरोबाट त्यस व्यक्तिकोमा पुर्‍याउन सुरु गर्छ ।

यतिबेला मेरो इन्टरनेटको अपलोड र त्यस व्यक्तिको इन्टरनेटको डाउनलोड स्पिड अनुसार त्यो फाइल आदानप्रदान भइरहेको हुन्छ। जब त्यो फाइल त्यस व्यक्तिको सिस्टममा आइरहेको हुन्छ तब त्यस व्यक्तिको सिस्टमबाट पनि त्यस फाइल अपलोड हुन थाल्छ ।

यही समयमा अर्को तेस्रो व्यक्तिले पनि त्यस फाइललाई डाउनलोड गर्छ भने उसले अब दुई ठाउँबाट त्यो फाइल डाउनलोड गर्नका लागि पहुँच पाउँछ। अब तेस्रो व्यक्तिले डाउनलोड गर्न थाले लगत्तै त्यस फाइलको तीनवटा स्रोत बन्दछ ।

जति मान्छेले त्यो फाइल डाउनलोड गर्छन् उनीहरुले नै नयाँ युजरको लागि सर्भर जसरी सेवा दिइरहेका हुन्छन्। यसको मतलब जति धेरै मान्छेले फाइल डाउनलोड गर्छन् उति छिटो नयाँ युजरलाई त्यो फाइल उपलब्ध हुन्छ ।

यसरी टोरेन्टले वान टु वान नेटवर्कबाट एउटा वृहत जालो निर्माण गर्दछ, जसबाट फाइल जुनसुकै समयमा जुनसुकै व्यक्तिले जहाँबाट पनि एक्सेस पाउन सक्छ। टोरेन्ट प्रविधिमा फाइल टुक्रा टुक्रामा डाउनलोड हुन्छ ।

जुन सोर्सबाट जति मिल्यो त्यति डाउनलोड हुन्छ । कतैबाट शिर कतैबाट जिउ कतैबाट फेद अनि अन्त्यमा यो एउटा पूर्ण फाइल बन्छ । अहिलेको युगमा त टोरेन्ट यति धेरै लोकप्रिय छ भने इन्टरनेट स्लो हुँदाका बखत यो झनै विकल्प बिनाको उपयोगी टुल थियो ।

टोरेन्टमा दुईवटा पक्ष हुन्छ एउटा सिडर्स र अर्को लिचर्स । फाइल जसले अपलोड गर्छ उ सिडर्समा गनिन्छ। जब तपाईं फाइल डाउनलोड गर्नुहुन्छ तब तपाईलाई सिडर्सको नम्बर टेबलमा देखाइन्छ । यसले के प्रस्ट हुन्छ भने सिडर्सको रेटिङ जति धेरै भयो तपाईंको टोरेन्ट फाइल त्यति नै राम्रो छ भन्ने बुझाउँछ ।

अर्को पक्ष भनेको लिचर्स हो । जसलाई हामी पियर्स पनि भन्छौं । लिचर्स त्यो पक्ष हो जसले फाइल डाउनलोड गरिरहेका हुन्छन्। फाइल डाउनलोड भइसकेपछि लिचर्स पनि सिडर्स बन्न सक्छ। त्यसैले सिडर्स धेरै र लिचर्स कम भएको फाइल डाउनलोड गर्दा राम्रो स्पिडमा फाइल उपलब्ध हुन्छ ।

तर कुनै फाइलमा २ जना सिडर्स छन्, तर पाँच सय जना लिचर्स छन् भने त्यस्ता फाइल डाउनलोड हुन लास्टै समय लाग्छ। कम क्षमताको सर्भर हुँदा वेबसाइटहरु स्लो भएजस्तै स्लो हुने र कनेक्सन हराउने जस्ता समस्या देखिन सक्छ । किनभने त्यसमा एकदमै कमले अपलोड गरिरहेको हुँदा डाउनलोड स्पिड कम हुन्छ र सिस्टमले थेग्न सकिरहेको हुँदैन ।

टोरेन्टमा अर्को एउटा पक्ष हुन्छ एक्टिभ सिडर्स । कसैले टोरेन्ट डाउनलोड गर्दैछ डाउनलोड भइसकेपछि पनि पनि टोरेन्टलाई बन्द गर्दैन भने उसको सिस्टमबाट फाइल अपलोड भएर सबैलाई फाइदा पुगिरहेको हुन्छ । यस्ता एक्टिभ सिडर्स धेरै भएको खण्डमा फाइलहरु छिटो डाउनलोड हुन्छ ।

यस्तै टोरेन्टमा लिचर्सका लागि अपलोड र डाउनलोड स्पिड चयन गर्ने विकल्प पनि हुन्छ । यस्तोमा कसैले आफ्नो डाउनलोड स्पिडलाई बढाएर अपलोड स्पिडलाई घटाउँछ भने सिडर्सको संख्यामा त उ गणना भइरहेको हुन्छ । तर त्यो टोरेन्ट १, २ केबीपीएसमा अपलोड भइरहेको हुन्छ जसलाई स्वस्थकर टोरेन्ट मानिँदैन ।

Utorrent वा Bittorrent को वेबसाइटमा गएर हामीले यसलाई निशुल्क डाउनलोड गर्न सक्छौं। 1337x, yts जस्ता विभिन्न टोरेन्टिङ साइटहरु भिजिट गरेर फाइलहरु शेयर तथा डाउनलोड गर्न सकिन्छ ।

तर अनुमति बिना कुनै पनि मुभी सिरिज वा सफ्टवेयर डाउनलोड गर्नुलाई कानुनले वर्जित गरेको छ, जुन कुराको हेक्का भने हामी सबैले राख्नु पर्ने हुन्छ। त्यस्तै यसरी टोरेन्ट डाउनलोड गर्दा पाइरेसी  VPN को प्रयोग गर्नु राम्रो मानिन्छ। त्यस्तै डाउनलोड गरिसकेपछि File Scan गर्नु पनि बुद्धिमानी हुन्छ ।

किनकि यस्ता टोरेन्ट फाइलहरुसँगै विभिन्न मालवेयर पठाइएको पनि हुनसक्छ। जसले कम्प्युटर वा मोबाइल डिभाइस सजिलै अन्य व्यक्तिको पहुँचमा पुग्न सक्छ । सित्तिमा मुभी, सिरिज, गेम वा सफ्टवेयरहरु पाएँ भनेर मख्ख पर्दै गर्दा ह्याकरले सिरिखुरी पार्ने सम्भावना पनि रहन्छ। जुन कुरामा तपाईं हामी सचेत हुन जरुरी छ ।

टोरेन्ट पाइरेसीका कारण विवादमा आउने गर्छ। मेरो विचारमा यो गलत बुझाइ हो । टोरेन्ट आफैँमा गजबको प्रविधि हो जसले सामान्य डिभाइसलाई सर्भरको रुपमा प्रयोग गरि जो कोहीलाई आफ्ना फाइल तथा सामग्रीहरु इन्टरनेटको दुनियाँमा शेयर गर्न सजिलो बनाएको छ। त्यसैले टोरेन्टलाई उचित तरिकाले चलाउनु कानुन विपरित होइन ।

यद्यपि टोरेन्ट पाइरेसीका लागि पनि प्रयोग हुँदै आइरहेको छ। क्रियटरको हिसाबले हेर्ने हो भने यसले ठूलो घाटा पुर्‍याउने गरेको छ। जुन कानुनी रुपमा कुनै मुभी वा सिरिज अनुमति बिना टोरेन्टमार्फत शेयर गर्नु वा डाउलोड गर्नु अपराध हो । तर अधिकारसँगै हरेक मामलामा चार कदम अगाडि रहेका राष्ट्रले समेत यसलाई नियन्त्रण गर्न सकिरहेका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५