close

गुणस्तरीय सेवा नदिने टेलिकम कम्पनीलाई किन हुँदैन कारबाही ? भुटानबाट सिक्ने कि ! 

टेकपाना टेकपाना

माघ २१, २०७८ १५:११

गुणस्तरीय सेवा नदिने टेलिकम कम्पनीलाई किन हुँदैन कारबाही ? भुटानबाट सिक्ने कि ! 

काठमाडौं । भुटानको दूरसञ्चार क्षेत्रको नियामक निकाय भुटान इन्फोकम एन्ड अथोरीटी (बीसीआईएमए) ले स्थानीय दुई दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना गरेको छ । यसअन्तर्गत टासी सेल र भुटान टेलिकम (बीटी) लाई दूरसञ्चार सेवामा तोकिएको मापदण्ड पुरा नगरेको भन्दै जरिवाना गरिएको हो ।

भुटानको थिम्पु क्षेत्रमा गरिएको मोबाइल सेवाको गुणस्तर मापनमा फाइल ट्रान्सफर र हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल पुरा नभएको भन्दै बीसीआईएमएले जरिवाना गरेको हो ।

उनीहरूले नियामकको निर्देशिका बमोजिम आफ्ना प्रयोगकर्तालाई सेवा उपलब्ध नगराएको भन्दै जरिवाना गर्ने निर्णय भएको बीसीआईएमएका निर्देशक जिग्मे वाङडीले बताएका छन् ।

उनका अनुसार यो परीक्षण ड्राइभ टेस्टमा आधारित रहेको थियो । ड्राइभ टेस्ट (यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तर मापन एकै साथ गरिन्छ) मार्फत जनवरी २४ देखी २७ सम्म भएको अनुगमनमा डेटातर्फ दुवै सेवा प्रदायकले मापदण्ड पुरा गर्न नसकेको जनाइएको छ ।

दुवै सेवा प्रदायकलाई समान जरिवाना गरिएको जानकारी दिइए पनि जरिवाना रकम खुलाइएकाे छैन ।

यसरी पहिलो पटककै अध्ययनमा सेवाको गुणस्तर कायम गर्न नसकेको भन्दै कारवाही गरेको भुटानबाट नेपालको नियामक निकायले पनि सिक्नुपर्ने देखिएको छ ।

नेपालमा पनि नियामक निकायले दूरसञ्चार सेवा प्रदायकको सेवाको विषयमा अध्ययन गर्दै आएको छ । ड्राइभ टेस्टमार्फत हुने यस्ता कतिपय अध्ययन सार्वजनिक हुने गरेका छन् भने कतिपय अध्ययन बाहिर नै नआउने अवस्था छ ।

यसअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न सेवा प्रदायकको मोबाइल कलको गुणस्तर परीक्षण गरेको थियो ।

काठमाडौंको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकीसहित कूल २० स्थान, ललितपुरको टेकु, कुपण्डोल, बालकुमारीसहित छ स्थान र भक्तपुरको बालकोट, कौशलटार, पेप्सिकोलासहित चार स्थानका साथै जिल्लाका रिङरोडभित्रका मुख्य तथा सहायक मार्गमा ४० सेकन्डका दरले मोबाइल कलको गुणस्तर परीक्षण भएको थियो ।

सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र भएको लोकल कल परीक्षणमा सबै कम्पनी तोकिएको मापदण्ड पुरा गर्न असफल भएका हुन् । प्राधिकरणका अनुसार गत चैत महिनादेखि जेठ महिनासम्म नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नेटवर्कको गुणस्तर परीक्षण गरिएको थियो ।

हरेक सेवा प्रदायकले कुनै एक स्थानमा उपलब्ध गराएको नेटवर्क (फोरजी, थ्रीजी र टुजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुनेगरी कलको परीक्षण गरिएको थियो ।

त्यसरी भएको परीक्षणमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा तीन कम्पनी मापदण्ड पुरा गर्न असफल देखिएका थिए । निर्धारित मापदण्डअनुसार कल हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ ।

तर नेपाल टेलिकमको ९.३४ सेकेन्ड रहेको छ । स्मार्टको १०.२७ सेकेन्ड र एनसेलको ५.२७ सेकेन्ड देखिएको थियो । त्यस्तै फोनकल स्थापना हुने दर ९९ प्रतिशत वा त्योभन्दा बढी हुनुपर्नेमा टेलिकमको ९०.५१, स्मार्टको ८४.४७ प्रतिशत, एनसेलको ९४.४३ प्रतिशत रहेको थियो ।

यो खालको अध्ययन यो पहिलो पटकमात्रै भएको भने होइन । यसअघि भएका धेरै अध्ययनले पनि सेवा प्रदायक गुणस्तर सर्भिस दिन असफल भएको देखाएको छ ।

यस्तोमा नियामकले सेवा प्रदायकलाई उक्त स्थानको सेवा गुणस्तर सुर्धान निर्देशन दिनेभन्दा थप काम भएको छैन । प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालका अनुसार अबको आवश्यकता गुणस्तरीय सेवा भएकाले आगामी दिनमा प्राधिकरण सुधारको मौका दिने र सचेत गराउने मात्रै भन्दा पनि कारबाहीमै जाने योजनामा प्राधिकरण रहेको छ ।

‘हामीले अध्ययन पश्चात सेवा प्रदायकलाई सचेत गराउने काम गर्दै आएका छौं,’ अर्यालले भने,‘त्यो गर्दा पनि सेवा राम्रो नभएको खण्डमा हामी उनीहरूलाई कारबाही गर्छाै ।

अर्यालले कारबाही गर्ने बताएता पनि नेपालमा एक पटक एक ठाउँमा भएको अध्ययन पुनः उक्त स्थानमा सेवाको परीक्षण भएको धेरै घटना देखिँदैनन् । अथवा भएका अध्ययन सार्वजनिक हुँदैन् ।

पुनः अध्ययन भएको ठाउँमा दोहोर्याएर सेवा गुणस्तर मापन गर्न नसक्दा त्यस्तोमा कारबाही गर्ने खालको सिस्टम पनि बसिसकेको देखिदैन ।

किनभने प्राधिकरणले झन्डै दुई वर्षअघि पनि काठमाडौं उपत्यकामा दूरसञ्चार सेवाको गुणस्तर मापन गरेको थियो । त्यसमा पनि सेवा प्रदायकले कुनै मापदण्ड पुरा गर्न सकेका थिएनन् ।

दोस्रो पटक गएको साउनमा भएको यो अध्ययनले समेत सेवा प्रदायकले गुणस्तरीय सेवा दिन नसकेको देखाएको छ । यस्तोमा समेत प्राधिकरणले सेवा प्रदायकलाई सुधारको मौका र सचेत गराउने काम मात्रै गरेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५