close

आजदेखि व्यावसायिक रुपमा सुरु हुँदै टेलिकमको भीओएलटीई सेवा

टेकपाना टेकपाना

माघ २२, २०७८ १०:३३

आजदेखि व्यावसायिक रुपमा सुरु हुँदै टेलिकमको भीओएलटीई सेवा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजदेखि आफ्नो भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवाको व्यावसायिक रुपमा सुरु गर्ने भएको छ । आजबाट १८ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यसअघिदेखि परीक्षणमा रहेको यो सेवा औपचारिक रुपमा आरम्भ गर्न लागेको हो ।

टेलिकमले आठ महिनाअघि भीओएलटीई सेवा परीक्षणको रुपमा सुरु गरेको थियो । फोरजी एलटीई प्रविधिमा एचडी भ्वाइस कल गर्न सकिने यो सेवामा डेटा बिना नै भिडिओ कल समेत गर्न सकिन्छ ।

साथै फोन डायल गर्ने बित्तिकै अर्को व्यक्तिको मोबाइलमा रिङ बज्ने हुँदा कुर्नुपर्ने समय पनि कम हुन्छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २४ घण्टासम्म आफ्नो भीओएलटीई सेवा निःशुल्क गरेको छ ।

यति मात्र नभएर टेलिकमले वार्षिकोत्सवको लागि भन्दै विशेष अफर समेत सार्वजनिक गरेको छ । जसअनुसार २९४ रुपैयाँमा १० दिन मान्य अवधि रहेको २० जीबी डेटा पाउन सकिनेछ ।

त्यस्तै ३ दिनका लागि ९८ रुपैयाँमा ६ जीबी र एक दिनका लागि ६९ रुपैयाँमा एक एमबीपीएस गतिमा अनलिमिटेड डेटा समेत लिन सकिन्छ । यो अफर यही फेब्रुअरी १५ तारिखसम्म मात्रै लागू हुनेछ । यदि तपाईँ नेपाल टेलिकमको मोबाइल प्रयोग गर्नुहुन्छ भने *1415# डायल गरी यो अफरमा सहभागी हुन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५