close

तत्काल फाइभजी परीक्षण थाल्न टेलिकमलाई सञ्चार मन्त्री कार्कीको निर्देशन

टेकपाना टेकपाना

माघ २२, २०७८ १२:५६

तत्काल फाइभजी परीक्षण थाल्न टेलिकमलाई सञ्चार मन्त्री कार्कीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तत्काल फाइभजी परीक्षण सुरु गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री कार्कीले कम्पनीको नेतृत्व तथा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समेत स्वीकृति दिइसकेको उल्लेख गर्दै मन्त्री कार्कीले कम्पनीले त्यसका लागि आवश्यक काम गर्नुपर्ने बताए । साथै उनले टेलिकमको एफटीटीएच सेवा अपेक्षित रुपमा विस्तार हुन नसकेको भन्दै असनतुष्टी समेत व्यक्त गरेका छन् ।

‘कम्पनीको एफटीटीएच सेवाको विस्तार निकै सुस्त देखिन्छ,’ उनले भने, ‘ग्राहकले चाहेको अवस्थामा समेत एफटीटीएच सेवा पाउन सकेका छैनन् ।’ कम्पनीका अध्यक्ष समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले ग्राहक बढाएर मात्रै नहुने बताए ।

‘सक्रिय ग्राहक सङ्ख्या र आम्दानी बढेको छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ग्राहक सङ्ख्या बढाएर मात्रै हुँदैन, सँगसँगै हामीले त्यसको गुणस्तरमा समेत ध्यान दिन उत्तिकै जरुरी छ ।’ टेलिकम प्रतिस्पर्धी कम्पनीभन्दा सेवा विस्तार र गुणस्तरमा समेत कमजोर देखिएको उनले बताए ।

‘प्रतिस्पर्धी कम्पनीले दिने सेवासँगको तुलनामा हामीले दिने सेवा कस्तो छ भन्ने आधारमा हाम्रो मूल्याङ्कन गर्नुपर्ने हुन्छ । साथै ग्राहकसँग कर्मचारीले गर्ने व्यवहार समेत महत्त्वपूर्ण हुन्छ । त्यसमा पनि ध्यान दिन जरुरी छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२