close

घरको कोठामा बल्ब लगाउँदा ध्यान दिनैपर्ने ३ कुरा

टेकपाना टेकपाना

माघ २२, २०७८ १९:४४

घरको कोठामा बल्ब लगाउँदा ध्यान दिनैपर्ने ३ कुरा

काठमाडौं । गाउँ होस् वा सहर, घर, सडक वा अफिस जताततै उज्यालो पार्न चिमको आवश्यकता पर्दछ । यस्तोमा बजारमा कयौँ प्रकारका बल्ब उपलब्ध छन्, जसलाई घरमा लगाउँदा सबैतिर उज्यालो छाओस् ।

तर तपाईँलाई थाहा नहुन सक्छ, यदि तपाईँ धेरै उज्यालो दिने बल्ब उचित हुन्छ भन्ने ठान्नु भएको छ भने तपाईँ गलत हुन सक्नुहुन्छ । किन भने धेरै उज्यालो प्रकाशले आँखाको ज्योतिमा असर पार्न सक्छ ।

गलत बल्ब वा चिम छनौट गर्दा तपाईँको खल्ती, आँखा तथा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । त्यसैले आज हामी तपाईँलाई घरमा कुन प्रकारको बल्ब उचित हुन्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

१. उमेरको हिसाबले बल्ब छनौट गर्नुहोस्

यदि घरमा बृद्ध बुबाआमा वा हजुर बुबाआमा हुनुहुन्छ, जसको उमेर ६० वर्षभन्दा बढी छ भने उहाँहरूको कोठामा बढी वाटको बल्ब लगाउनुपर्ने हुन्छ । वास्तवमा बढ्दो उमेरसँगै नजर कमजोर हुँदै जान्छ, जसका कारण कम वाटको बल्बको प्रकाशमा कुनै पनि चिज राम्रोसँग देख्न गाह्रो पर्छ ।

त्यसैगरी घरमा ५० वर्ष वा त्यसभन्दा कम उमेरका व्यक्ति छन् भने उनीहरूको कोठामा सामान्य वा मध्यम प्रकाश दिने बल्ब उपयुक्त हुन्छ । सेतो प्रकाश दिने बल्ब छ भने अझ राम्रो हुन्छ ।

किन भने त्यसले आँखामा अत्यधिक भार पर्दैन । यस्तै घरमा ससाना बालबालिका छन् भने उनीहरूका लागि कम प्रकाशको बल्ब राख्नुहोस् । किन भने बालबालिकाको आँखाले धेरै प्रकाश सहन गर्न सक्दैनन् ।

स्कुल पढ्ने वा किशोरकिशोरी उमेरका बालबालिकाका लागि टेबल ल्याम्प राख्नुहोस् । जसबाट सीमित मात्रामा मात्रै प्रकाश आदान प्रदान हुन्छ ।

२. घरको पर्खालको रङ्ग अनुसार बल्ब राख्नुहोस्

घरमा बल्ब वा लाइट फिटिङ गर्नुभन्दा अगाडि एकपटक कोठाको पर्खालको कलर कस्तो छ भन्ने कुरा राम्रोसँग विचार गर्नुहोस् । किनकी पर्खालको रङ्गले बल्बको उज्यालोलाई प्रतिबिम्बित गर्छ ।

यस्तोमा यदि तपाईँको घरको भित्री पर्खालमा रातो, निलो वा पहेँलो जस्तो गहिरो रङ्ग छ भने बढी वाट भएको बल्ब आवश्यक हुन्छ ।

त्यसैगरी कोठाको पर्खाल सेतो, क्रिम वा हलुका गुलाबी कलरको छ भने कम वाटको बल्बले नै धेरै उज्यालो दिन सक्छ । वास्तवमा हल्का रङ्गले लाइट बढी मात्रामा प्रतिबिम्बित गर्ने काम गर्छ । जसका कारण कम प्रकाशले समेत बढी उज्यालो दिन्छ ।

३. एलईडी बल्ब प्रयोग गर्नुहोस्

अहिलेको समयमा बजारमा एलईडी बल्बको माग सबैभन्दा बढी छ । जसले कम ऊर्जा खपत गर्छ र बढी उज्यालो दिने गर्दछ । एलईडी बल्बको गुणस्तर समेत एकदमै राम्रो हुनेगर्छ ।

त्यसैले चाँडै फ्युज हुने सम्भावना समेत कम हुन्छ । तर यसको बैगुन भनेको अन्य बल्बको तुलनामा महंगो हुने गर्दछ । यद्यपि एक पटक यस्तो बल्ब लगाइसकेपछि उज्यालो कम हुने समस्या दूर हुन्छ ।

कुनै १० बाई १० वर्ग फिटको कोठाको लागि १० देखि २० वाटको बल्ब पर्याप्त हुन्छ । जसको प्रकाशले आँखालाई समेत बिझाउने गर्दैन ।

त्यसैले आफ्नो घरका लागि सही वाटको बल्ब लगाउनुहोस् । यदि घर बाहिरका लागि हो भने तपाईँले बढी वाटको बल्ब समेत लगाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२