close

किन आएन होला विण्डोज ९ र आईफोन ९ ?

टेकपाना टेकपाना

माघ २३, २०७८ १५:४०

किन आएन होला विण्डोज ९ र आईफोन ९ ?

काठमाडौं । एप्पल र माइक्रोसफ्ट प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरु हुन् । यी कम्पनीका अनेकन् प्रविधि र सेवा बजारमा उपलब्ध छन् । विशेषतः एप्पल भन्ने बित्तिकै आईफोन र माइक्रोसफ्ट भन्ने बित्तिकै विण्डोज अपरेटिङ सिस्टमको नाम हाम्रो दिमागमा आउँछ ।

हुन पनि यी उत्पादनबाटै कम्पनीहरुले विश्वबजारमा आफूलाई विस्तार गरेका छन् र सफलता पनि पाइरहेका छन् । तपाईं हामीलाई थाहा भएकै कुरा हो, माइक्रोसफ्टले विण्डोज ७, विण्डोज ८ जसरी विण्डोज ९ सार्वजनिक गरेन ।

त्यस्तै एप्पलले पनि आईफोन ९ बजारमा ल्याएन । यसबारे दुवै कम्पनीले कुनै पनि आधिकारिक भनाइ त राखेको छैन । तर विण्डोज ९ र आईफोन ९ सार्वजनिक नहुनुमा धेरै अनुमान गरिएको छ । धेरै प्रयोगकर्तामा यस विषयमा प्रश्न पनि उब्जिएको छ । 

आखिर किन छैन त आईफोन ९?

सन् २०१७ मा एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा आईफोन एक्स सार्वजनिक गरेर मनायो ।

यो भन्दा अगाडि आईफोन ४ देखि अंकको आधारमा क्रमश नाम राख्दै गएको कम्पनीले ८ र ८ प्लस सार्वजनिक गरेपछि अर्को फोनको नाम ९ नै राख्ने सबैको अनुमान थियो ।

तर यसको विपरित कम्पनीले आईफोन १० पनि नभई आईफोन एक्स नाम दियो ।

यसपछि धेरै जनाको प्रश्न थियो एप्पलले किन आईफोन ९ नाम राखेन ? यसमा धेरै अनुमानहरू मध्ये एउटा हो एप्पलको वार्षिक उत्सव ।

त्यो वर्ष एप्पलको दशौं वार्षिक उत्सव रहेको कारण ८ पछि ९ लाई छोडेर कम्पनीले नयाँ फोनको नाम आईफोन एक्स (रोमनमा अंक १०) दिइएको भन्ने भनाई पनि छ ।

अर्कोतिर आईफोन ९ नाम नदिइनुमा अन्धविश्वासलाई पनि आधार मानिएको छ । प्रायजसो नम्बर ‘९’ र नम्बर ‘१३’ जस्तै धेरै संस्कृतिहरूमा अशुभ मान्ने गरिन्छ ।

केही एसियाली देशहरूमा नम्बर ९ र नम्बर १३ को नकारात्मक अर्थ हुन्छ । जस्तो कि चिनियाँ शाब्दिक अर्थमा ९ लाई अनुवाद गर्दा ‘श्राप’ र जापानीमा भाषामा ‘यातना’ वा ‘पीडा’ भन्ने बुझिन्छ । यी दुवै देश एप्पलका लागि ठूलो बजार हुन् । यस्तो कारणले पनि एप्पलले आईफोन ९ नाम नराखेको भन्ने अनुमान छ ।

तर यही अनुमानलाई मान्ने हो भने आईफोन १३ नामसहित एप्पलले भर्खरै नयाँ फोन सार्वजनिक गरेको छ । त्यसैले यसलाई केहीले मिथक मात्र भएको बताउँछन् ।

त्यस्तै कतिले भने यसलाई व्यवसायिक रणनीतिको रुपमा पनि लिने गरेका छन् । सोही वर्षको सेप्टेम्बर महिनामा आईफोन ८ सिरिजका दुईवटा फोन सार्वजनिक गरेको एप्पलले नोभेम्बरमा नै आईफोन एक्स सार्वजनिक गरेको थियो ।

केही महिनाको अन्तरालमा नै यसरी दुई नयाँ फोन सार्वजनिक हुँदा प्रयोगकर्तामा अन्यौलता हुने पक्का थियो ।

आईफोन ८ लगत्तै आईफोन ९ नामको फोन आउँदा प्रयोगकर्ताका लागि केही नौलो नहुने भएपछि आईफोन ९ नाम नदिई यसलाई केही फरक बनाउने सोचसहित कम्पनीले आईफोन एक्स नाम दियो ।

थप अपग्रेडेड फिचर सहित प्रस्तुत गरेर यसलाई कम्पनीले क्लासी र युनिक नाम दिएर प्रयोगकर्ताको नजरमा यसलाई विश‍ेष महसुस गराउन मात्र खोजिएको केहीको भनाइ छ ।

यसले गर्दा आईफोन ८ र आईफोन एक्समा प्रयोगकर्ताले नयाँ र पुरानोको तुलना भन्दा पनि राम्रो र उत्कृष्ट फिचरको तुलना गर्ने कम्पनीको सोच रहेको पनि केहीको अनुमान छ । 

किन आएन विण्डोज ९ ? 

एप्पलले जस्तै माइक्रोसफ्टले पनि विण्डोज ८ पछिको भर्सनमा विण्डोज ९ नाम दिएन । माइक्रोसफ्टले सन् २०१२ मा विण्डोज ८ सार्वनजिक गर्‍यो । त्यस्तै  २०१३ मा विण्डोज ८.१ सार्वजनिक गर्‍यो । हुन त कम्पनीले यसलाई विण्डोज ९ भनेर नै नाम दिन चाहेको थियो । तर पछि त्यो योजना छोडेर कम्पनीले विण्डोज ८.१ नाम दिएको थियो ।

यसपछि २०१५ मा सिधै विण्डोज १० सार्वजनिक गर्‍याे । माइक्राेसफ्ट विन्डोज १० आफ्नो अन्तिम ‘प्रमुख’ विण्डोज अपडेट हुनेछ भन्ने देखाउन चाहन्थ्याे ।

प्रत्येक वर्ष नयाँ भर्सन सार्वजनिक गर्ने भन्दा पनि यसैमा अब थप स-साना अपडेटहरू दिइरहने कम्पनीको योजना थियो । त्यसैले पनि यसलाई ग्रान्ड बनाउनका लागि कम्पनीले विण्डोज ९ नाम छोडेर एकैपटक विण्डोज १० नाम दिएको भन्ने भनाइ छ । यद्यपि केही महिनाअघि मात्र विन्डोज ११ सार्वजनिक भएकाे छ ।

अर्को भनाइ चाहिँ माइक्रोसफ्ट विण्डोज संस्करण ८ को अत्यधिक आलोचना भएको थियो । यसपछि कम्पनी विण्डोज ८ मा धेरै परिवर्तन गर्न चाहन्थ्यो ।

त्यस्तै विगतमा, विण्डोज ९५ र ९८ नामको संस्करण पनि थियो । यसले गर्दा विण्डोज ९ नाम राख्दा भ्रम हुने र कोड ओभरल्याप समेत हुनसक्ने भएका कारण कम्पनीले विण्डोज ९ नाम नदिएको भनाइ पनि छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२