close

शीर्ष १० धनाढ्यको सूचीबाट मार्क जुकरबर्ग आउट !

टेकपाना टेकपाना

माघ २५, २०७८ १७:९

शीर्ष १० धनाढ्यको सूचीबाट मार्क जुकरबर्ग आउट !

काठमाडौं । विश्वका अर्बपतिहरूको शीर्ष १० को सूचीबाट मेटाका संस्थापक मार्क जुकरबर्ग बाहिरिएका छन् । पछिल्लो समयमा विभिन्न कारण मेटाको शेयरको मूल्य लगातार घट्दा जुकरबर्गको आम्दानी पनि घट्न गएको हो ।

यसले गर्दा जुकरबर्ग विश्वका १० अर्बपतिहरूको सूचीबाट बाहिरिएका हुन् । फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार उनी १३औँ स्थानमा झरेका हुन् ।

मंगलबारसम्म उनको सम्पत्ति ५.०१ प्रतिशतले कम भई ८०.३ अर्ब डलरमा पुगेको छ । सन् २०२१ कै कुरा गर्ने हो भने मार्क जुकरबर्ग अर्बपतिहरूको सूचीमा पाँचौं स्थानमा थिए ।

यद्यपि मेटाको बजार मूल्य घट्दा गत बिहीबार जुकरबर्गको नाफा ३१ अर्ब डलरले घटेको थियो । सो दिनसम्म उनी उत्कृष्ट १० कै सूचीमा थिए । आजमात्र उनको सम्पत्ति ४.२ अर्ब डलरले घटेको छ ।

केही समययता मेटाले विभिन्न किसिमका समस्या भोग्दै आइरहेको छ । कोरोना महामारीको समयमा मेटा अन्तर्गतको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकलाई भ्याक्सिन सम्बन्धी गलत समाचार फैलाएको आरोप लागेको थियो ।

त्यस्तै सन् २०२१ को जुनमा अमेरिकी संघीय सरकारले फेसबुकले आफ्ना प्रतिस्पर्धीलाई खरिद गरेको आरोपमा इन्स्टाग्राम र ह्वाट्सएप बिक्री गर्न भन्दै मुद्दा दायर गरेको थियो । यद्यपि यो मुद्दामा न्यायाधीशले मेटाको पक्षमा फैसला गरेका थिए । पछिल्लो समयमा मेटामाथि अन्य मुद्दा पनि दायर भएका छन्  ।

१८ वर्षको यात्रामा पहिलोपटक फेसबुकको प्रयोगकर्ता पनि घटेको छ । यसैबीच मेटाले मेटाभर्सको काम पनि सुरु गरेको छ । यद्यपि यी सबै नयाँ लगानीको बाबजुत कम्पनीको बजार मूल्य घटिरहेको छ ।

फोर्ब्सका अर्बपतिहरूको सूचीको पहिलो नम्बरमा भने एलन मस्क नै रहेका छन् । दोस्रोमा बर्नार्ड आर्नल्ड, तेस्रोमा जेफ बेजोस, चौथौंमा बिल गेट्स र पाँचौंमा ल्यारी पेज रहेका छन् ।

त्यसैगरी छैठौंमा वारेन बफेट, सातौंमा सर्गे ब्रिन, आठौंमा ल्यारी एलिसन, नवौंमा स्टिभ बालमर र दशौंमा मुकेश अम्बानी रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२