close

क्रिप्टोकरेन्सीको लगानी अत्यधिक जोखिमपूर्ण भएकाले डुब्नसक्ने राष्ट्र बैंकको चेतावनी

टेकपाना टेकपाना

माघ २५, २०७८ २१:३९

क्रिप्टोकरेन्सीको लगानी अत्यधिक जोखिमपूर्ण भएकाले डुब्नसक्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी माथिको लगानी अत्यधिक जोखिमपूर्ण हुने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ । केन्द्रिय बैंकले मङ्गलबार एक सूचना मूलक सामग्री प्रकाशन गर्दै मूल्यमा उच्च उतारचढाव हुने देखिएको र विशेष गरेर सट्टेबाजी गर्ने लगायतका लगानीकर्ताले किनबेच गर्ने गरेको भन्दै यसमा गरिने लगानि अत्यधिक जोखिमपूर्ण हुने निष्कर्ष निकालेको हो ।

राष्ट्र बैंकले २०२१ नोभेम्बरदेखि २०२२ जनवरीसम्मको अवधिमा बिटक्वाइनको मूल्यमा भएको ४० प्रतिशत गिरावटलाई नै त्यसको उदाहरणको रुपमा प्रस्तुत गरेको छ । ‘त्यसैले यस्तो लगानीमा छोटो अवधिमा नै उच्च घाटा हुने सम्भावना रहन्छ,’ केन्द्रिय बैंकको गभर्नर कार्यालयको प्रकाशनमा भनिएको छ ।

त्यसैगरी क्रिप्टोकरेन्सीसँग सम्बन्धित लगानी आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छली गर्नका लागि प्रयोग गर्ने माध्यम हुने गरेको समेत बताइएको छ । क्रिप्टोकरेन्सी एउटा उदीयमान प्रविधि भएको कुरा भने राष्ट्र बैंकले स्वीकार गरेको छ ।

‘यससँग सम्बन्धित ब्लक चेन प्रविधि विशिष्ट किसिमको भए पनि यो नै मुद्राको भविष्य हो र यो नै कालान्तरमा निसन्देह बहुमूल्य हुन्छ भन्दै अपुष्ट एवम् भ्रामक प्रचार भइरहेको पाइएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

‘क्रिप्टोकरेन्सीको कुनै आन्तरिक मूल्य (इन्ट्रिन्सिक भ्यालू) नभएको, विभिन्न देशका केन्द्रिय बैंकले आफ्नै डिजिटल मुद्रा जारी गर्ने क्रममा रहेको र भविष्यमा प्रविधि विकासको स्वरुप अनिश्चित रहेको सन्दर्भमा ब्लकचेन प्रविधिले अन्य आयाममा नाटकीय परिवर्तन ल्याउने सम्भावना रहेको भए पनि क्रिप्टोकरेन्सीलाई लगानीकर्ताले लत्याई यसको मूल्य न्यून हुनसक्ने सम्भावना रहन्छ ।’

केही मुलुकले व्यवसायीलाई भुक्तानीको रुपमा स्वीकार गर्न छुट दिएको भए पनि एल साल्भाडोर बाहेक कुनै पनि मुलुकले क्रिप्टोकरेन्सीलाई लिगल टेन्डरको मान्यता नदिएकोले सो बाहेक अन्य मुलुकमा यसलाई मुद्राको रुपमा भुक्तानी वापत स्वीकार्न कानुनी बाध्यता रहेको देखिँदैन ।

नेपालमा क्रिप्टोकरेन्सीलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकोले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणको रुपमा प्रयोग गर्न बन्देज लगाइएको राष्ट्र बैंकको स्पष्टोक्ति छ ।

अन्य केही मुलुकले क्रिप्टोकरेन्सीलाई मुद्राको रुपमा मान्यता नदिएको तर डिजिटल सम्पत्ति को रुपमा मान्यता दिइ यसको माइनिङ खरिद बिक्री र स्वामित्वलाई नियमन गी वैधानिकता दिएको पाइन्छ । नेपालमा कानून अभावका कारण हालसम्म क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रुपमा मान्यता नदिइएको राष्ट्र बैंकले जनाएको छ ।

‘कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानूनी उपचार रहँदैन,’ राष्ट्र बैंकले अगाडि भनेको छ, ‘अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइने अवस्था आउन सक्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२