close

नेपालमा कुन कानूनले छेक्यो क्रिप्टोकरेन्सी कारोबार ?

टेकपाना टेकपाना

माघ २६, २०७८ ८:३०

नेपालमा कुन कानूनले छेक्यो क्रिप्टोकरेन्सी कारोबार ?

काठमाडौं । नेपालले क्रिप्टोकरेन्सीलाई गैरकानूनी घोषित गरेको छ । केही महिनायता नेपाल राष्ट्र बैंकले यसमा संलग्न नहुन चेतावनी दिँदै आएको छ भने नेपाल प्रहरीले यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने कामलाई तीव्रता दिइरहेको छ ।

केही मुलुकले व्यवसायीलाई भुक्तानीको रूपमा क्रिप्टोकरेन्सी स्वीकार्न छुट दिएको भए पनि एल साल्भाडाेर बाहेक कुनै पनि मुलुकले यसलाई लिगल टेन्डरको मान्यता दिएका छैनन् ।

यसैले पनि अन्य मुलुकमा यसलाई मुद्राको रूपमा वा भुक्तानी वापत स्वीकार्न कानुनी बाध्यता नरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । 

नेपालमा क्रिप्टोकरेन्सीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता दिइएको छैन ।

यही ऐन अनुसार क्रिप्टोकरेन्सीलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणको रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । केही मुलुकले भने क्रिप्टोकरेन्सीलाई मुद्राको रूपमा मान्यता नदिएको, तर डिजिटल सम्पत्तिको रूपमा मान्यता दिई यसको माइनिङ, खरिद/बिक्री र स्वामित्त्वलाई नियमन गरी वैधानिकता दिएका छन् ।

नेपालमा भने कानूनी अभावका कारण हालसम्म क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रूपमा मान्यता नदिएको राष्ट्र बैंकले पनि स्वीकारेको छ । यसले गर्दा कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानूनी उपचार रहँदैन ।

अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइने अवस्था आउन सक्छ भनेर नेपाल राष्ट्र बैंकले यसमा लगानी नगर्न जनतालाई आह्वान गरिरहेको छ ।

क्रिप्टोकरेन्सी विदेशस्थित विभिन्न एक्सचेन्जमा डिजिटल सम्पत्तिको रूपमा अमेरिकी डलरमा किनबेच हुने भएकाले विदेशबाट त्यस्तो क्रिप्टोकरेन्सी खरिद गर्दा विदेशी मुद्रा अपचलन हुने तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ उल्लघंन हुने राष्ट्र बैंकको भनाइ छ ।

तसर्थ नेपालमा बैंक खाता, इलेक्ट्रोनिक कार्ड वा भुक्तानी सेवा प्रदायकको ई-वालेट बाट मोबाइल एप तथा इन्टरनेटमार्फत भुक्तानी गरी त्यस्तो डिजिटल सम्पत्ति खरिद गर्ने कार्यसमेत गैरकानूनी रहेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी दिन वा विदेशबाट भुक्तानी प्राप्त गर्न प्रतिबन्ध गरेको छ ।

यस सन्दर्भमा अनौपचारिक माध्यमबाट हुण्डीको प्रयोग गरी भुक्तानी पठाई विदेशबाट क्रिप्टोकरेन्सी खरिद गर्दा यस ऐन र माथि उल्लिखत विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ दुवै उल्लङ्घन हुने राष्ट्र बैंकले बताएको छ ।

अर्कोतिर क्रिप्टोकरेन्सीको मूल्यमा उच्च उतारचढाव हुने र यो विशेष गरी सट्टेवाजी गर्ने लगानीकर्ताले किनबेच गर्ने देखिएको हुँदा पनि यसमा लगानी गर्नु अत्यधिक जोखिमपूर्ण हुने राष्ट्र बैंकको भनाई छ ।

क्रिप्टोकरेन्सीसँग सम्बन्धित लगानी आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छली गर्नको लागि प्रयोग गर्ने माध्यम हुने गरेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

विदेशमा बसोबास गर्ने नेपालीलाई समेत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आकर्षित हुने भएकाले विदेशमा लगानी गर्नको लागि नेपालबाट पुँजी रकम लैजान वा नेपालमा बस्ने आफन्त तथा साथीभाइबाट पैसा मागी उनीहरूलाई विदेशमा लगानी गर्न सहजीकरण गर्ने कार्य गैरकानुनी घोषित गरिएको छ ।

क्रिप्टोकरेन्सी एउटा उदीयमान प्रविधि भएको र यससँग सम्बन्धित ब्लकचेन प्रविधि विशिष्ट किसिमको भए पनि यो नै मुद्राको भविष्य हो र यो कालान्तरमा निसन्देह वहुमूल्य हुन्छ भन्दै अपुष्ट एवंक भ्रामक प्रचार भइरहेको राष्ट्र बैंकको ठम्याइ छ ।

क्रिप्टोकरेन्सीको कुनै आन्तरिक मूल्य (इन्ट्रिन्सिक भ्यालु) नभएको, विभिन्न देशका केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रा जारी गर्ने क्रममा रहेको र भविष्यमा प्रविधि विकासको स्वरूप अनिश्चित रहेको सन्दर्भमा ब्लकचेन प्रविधिले अन्य आयाममा नाटकीय परिवर्तन ल्याउने सम्भावना रहेपनि क्रिप्टोकरेन्सीलाई लगानीकर्ताले लत्याई यसको मूल्य न्यून हुनसक्ने राष्ट्र बैंकको तर्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२