close

सामसङ ग्यालेक्सी एस २२ र एस २२ प्लस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ २६, २०७८ २२:८

सामसङ ग्यालेक्सी एस २२ र एस २२ प्लस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस २२ सार्वजनिक गरेको छ । कम्पनीले बुधबार राति भर्चुअल रुपमा आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी एस २२ स्मार्टफोन सिरिज र ग्यालेक्सी ट्याब ए ८ सार्वजनिक गरेको हो ।

ग्यालेक्सी एस २२ मा ६.१ इन्च र ग्यालेक्सी एस २२ प्लसमा ६.६ इन्चको डिस्प्ले रहेको छ । दुवैको रेजोलुसन २३४० बाई १०८० रहेको छ । दुवै फोन ब्ल्याक, ह्वाइट, ग्रीन र पिङ्क गोल्ड गरी चार कलर भेरियन्टमा आएको छ ।

ग्यालेक्सी एस २२ को मूल्य ७९९ अमेरिकी डलर (करिब ९५ हजार ३०० रुपैयाँ) बाट सुरु हुन्छ भने ग्यालेक्सी एस २२ प्लसको न्यूनतम मूल्य ९९९ अमेरिकी डलर (करिब एक लाख १९ हजार रुपैयाँ) रहेको छ । यी दुवै मोडेल समान १२८ जीबी स्टोरेज तथा ८ जीबी र्‍यामका साथ आएका छन् ।

यसमा माथिल्लो भेरियन्टमा २५६ जीबी स्टोरेज मोडेल रहेको छ । र्‍याम भने यसमा पनि समान ८ जीबीकै राखिएको छ । फोनमा रहेको ५० मेगापिक्सेलको मेन क्यामेरामा एस २१ को तुलनामा २३ प्रतिशत ठूलो सेन्सर राखिएको छ ।

यी दुवै फोनमा ३X अप्टिकल जुम सहितको १० मेगापिक्सेलको टेलिफोटो लेन्स राखिएको छ भने १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा दिइएको छ । सामसङले फोनमा नाइट फोटोग्राफी अर्थात कम प्रकाश भएको अवस्थामा खिचिने फोटोमा आकर्षक फिचर रहेको कुरामा बढी जोड दिएको छ ।

जसका लागि ‘अडेप्टिभ पिक्सेल टेक्नोलोजी’ प्रयोग गरिएको छ । कम्पनीले पोट्रेट शटमा समेत उल्लेख्य सुधार गरिएको जनाएको छ । जसले अझ वास्तविक रुपमा ब्याकग्राउन्डलाई ब्लर गर्नेछ ।

ग्यालेक्सी एस २२ र एस २२ प्लस दुवैमा १२० हर्जको रिफ्रेश रेट राखिएको छ । तर यो चाहिँ ब्याट्री जोगाउने उद्देश्यका साथ स्क्रिनमा रहेको कन्टेन्टको आधारमा १० हर्जसम्म खुम्चिन सक्ने बताइएको छ ।

कम्पनीले चहकिलो अवस्थामा समेत स्पष्ट तस्वीर र कलर स्याचुरेसन कायम राख्न नयाँ भिजन बुस्टर प्रयोग गरिएको जनाएको छ । एस २२ प्लसमा अल्ट्राकै समान १७५० निट्सको ब्राइटनेश दिइएको छ, जुन चाहिँ सूर्यको सोझो प्रकाशको अवस्थामा मात्रै पुग्नेछ ।

एस २२ मा भने १३०० निट्सको ब्राइटनेस रहेको छ । दुवै फोनमा स्न्यापड्रागन ८ जेन वान प्रोसेसर राखिएको छ । यद्यपि केही अन्तर्राष्ट्रिय बजारमा सामसङको आफ्नै एक्सिनस चिप सहित उपलब्ध हुनेछ ।

एस २२ र एस २२ प्लस दुवै एन्ड्रोइड १२ तथा सामसङको वनयूआई ४.१ मा रन हुनेछन् । एस २२ र एस २२ प्लस बीच ब्याट्री क्षमतामा भने निकै फरक रहेको देखिन्छ ।

एस २२ मा ३७०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जब कि एस २२ प्लसमा ४५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । चार्जिङ स्पिड समेत एस २२ मा कमजोर छ, जसका लागि २५ वाट वायर्ड फास्ट चार्जिङ सपोर्ट रहेको छ भने प्लस मोडेलमा ४५ वाटको वायरलेस समेतको चार्जिङ सपोर्ट छ ।

झट्ट हेर्दा गत वर्षको ग्यालेक्सी एस २१ सिरिजको तुलनामा नयाँ सिरिजमा खासै फरक देखिँदैन । यद्यपि प्रिमियम डिस्प्ले र विश्वसनीय ग्राहक अनुभवको हिसाबले भने यसमा पक्कै पनि नयाँ अनुभूति गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२