close

साइबर आक्रमणको शिकार बन्यो भोडाफोन, देशभर फोरजी र फाइभजी सेवा बन्द

टेकपाना टेकपाना

माघ २७, २०७८ १२:८

साइबर आक्रमणको शिकार बन्यो भोडाफोन, देशभर फोरजी र फाइभजी सेवा बन्द

काठमाडौं । पोर्चुगलस्थित दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भोडाफोन साइबर आक्रमणको शिकार बनेको छ । जसका कारण ठूलो संख्यामा प्रयोगकर्ता प्रभावित भएका छन् ।

मंगलबार भएको साइबर आक्रमणबाट कम्पनीको फाेरजी, फाइभजी मोबाइल नेटवर्कका साथै, फिक्स भ्वाइस, टेलिभिजन, एसएमएस र भ्वाइस डिजिटल एन्सरिङ सर्भिस सबै बन्द भएका थिए । त्यसमध्ये मोबाइल भ्वाइस तथा फिक्स भ्वाइस सर्भिसको समस्या भने समाधान भएको कम्पनीले बताएको छ ।

कम्पनीले हालका लागि थ्रीजी नेटवर्कमार्फत उक्त सर्भिस उपलब्ध गराएको छ । तर, फोरजी, फाइभजी लगायतका सर्भिस भने हालसम्म पनि रिकभर हुने सकेको छैन । जसको असर देशभर नै देखिएको छ ।

यसरी करोडौं प्रयोगकर्तालाई असर गर्नेगरी भएको यो साइबर आक्रमणलाई पोर्चुगल सरकारले पनि महत्वका साथ हेरिरहेको छ ।

यसलाई सिरियस क्राइमको रुपमा संज्ञा दिँदै सरकारले पनि यसमा थप अध्ययन गर्ने जनाएको छ । कम्पनीले भने, बाँकी रहेको अन्य सर्भिसलाई सञ्चालनमा ल्याउन थप केही दिन लाग्ने उल्लेख गरेको छ ।

त्यसका लागि हाल स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरबाट विभिन्न समूहले काम गरिरहेका छन् । 

साथै यो घटनाको अध्ययनका लागि कम्पनीले हाल सरकारी नियामकसँग समन्वय गरी प्रक्रिया अघि बढाएको छ । प्रारम्भिक अध्ययनका अनुसार ह्याकरले प्रयोगकर्ताको कुनै डेटामा पहुँच भने बनाउन नसकेको दावी कम्पनीको छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२