close

सिक्सजीमा चीनलाई अर्को सफलता, १ टीबीपीएस गतिमा डेटा ट्रान्सफर गरेको दाबी 

टेकपाना टेकपाना

माघ २९, २०७८

सिक्सजीमा चीनलाई अर्को सफलता, १ टीबीपीएस गतिमा डेटा ट्रान्सफर गरेको दाबी 

काठमाडौं । चिनियाँ अनुसन्धानकर्ताले सिक्सजी प्रयोग गरेर डेटा स्ट्रिमिङको स्पिड रेकर्ड गरेको दाबी गरेका छन् । यो सफल परीक्षणले चीनलाई विश्वको सिक्सजी प्रविधिको दौडमा अगाडि लगेको छ ।

भोर्टेक्स मिलिमिटर वेभ (अत्यधिक उच्च फ्रिक्वेन्सी रेडियो वेभ) को सहायतामा चिनियाँ अनुसन्धानकर्ताले एक टेराबाइट डेटा एक सेकण्डमा एक किलोमिटरसम्म सफल रुपमा प्रसारण गरेको दावी गरेका छन् ।

बेइजिङस्थित सिङ्ह्वा विश्वविद्यालयको एरोस्पेस इन्जिनियरिङ स्कुलका प्रोफेसर झाङ चाओको नेतृत्वमा रहेको टोलीले साे अनुसन्धान गरेकाे थियाे ।

एक विज्ञप्ति सार्वजनिक गर्दै साे टाेलीले गत महिना बेइजिङ विन्टर ओलम्पिक कम्पाउन्डमा स्थापना गरिएको प्रयोगात्मक वायरलेस कम्युनिकेशन लाइन (ताररहित सञ्चार लाइन) ले एकैसाथ १० हजारभन्दा बढी हाई-डेफिनेसन (एचडी) लाइभ भिडिओ फिडहरू स्ट्रिम गरेकाे जनाएकाे छ ।

पछिल्लो एक शताब्दीमा रेडियो सञ्चारमा भोर्टेक्स वेभले वायरलेस प्रसारणमा नयाँ आयाम थपेको साे विज्ञप्तिमा उल्लेख छ ।

यो सफल परीक्षणले सिक्सजीको सम्भावित प्रमुख प्रविधिहरूको अनुसन्धानमा चीनले विश्वको नेतृत्व गरिरहेको कुरालाई प्रमाणित गरेको पनि दावी गरिएकाे छ ।

विद्यमान मोबाइल डिभाइसहरूले सञ्चारका लागि पोखरीमा आउने लहरहरू जस्तै फैलिने इलेक्ट्रोम्याग्नेटिक वेभ (विद्युत चुम्बकीय तरंगहरू) प्रयोग गर्छन् । यी वेभ तल-माथि गरेर प्रसारण हुँदा सूचनाहरू तीनै तरंगहरूले बोक्ने गर्छन् । गणितीय भाषामा यसलाई दुईवटा डाइमेन्सन भनिन्छ ।

तर भोर्टेक्स इलेक्ट्रोम्याग्नेटिक वेभमा यस्ता तीनवटा डाइमेन्सहरू हुन्छन्, जसले कम्युनिकेसनको ब्यान्डविथलाई व्यापक रूपमा बढाउन यी तरंगहरूको भुमरी (टोर्नाडो) जस्तै घुमाउरो वा अर्बिटल एङ्गुलर मोमेन्टम (ओएएम) मा थप सूचना कोड गर्न सक्छन् ।

रेडियो तरंगको ह्विर्लिङ (भुमरी जस्तै घुम्ने) क्षमताको बारेमा पहिलो पटक बेलायती भौतिकशास्त्री जोन हेन्रीले सन् १९०९ मा पत्ता लगाएका थिए ।

यद्यपि यसको प्रयोग गरेर देखाउन भने निकै गाह्रो भएको थियो । झाङ र उनको टोलीले पनि आफूहरूको यो सफलताको श्रेय विगतका केही दशकमा विश्वभरका अनुसन्धाकर्ताले गरेको अनुसन्धानलाई दिएको छ ।

युरोपका केही अनुसन्धानकर्ताले सन् १९९० को दशकमा भोर्टेक्स तरंग प्रयोग गरेर प्रारम्भिक प्रयोग सञ्चालन गरेका थिए । सन् २०२० मा भने जापानको निप्पोन टेलिग्राफ र टेलिफोन कम्पनीको टोलीले १० मिटरभन्दा बढिको दूरीमा २०० जीबीपीएस सम्मको स्पिड प्रसारण गर्न सफल भएको थियो ।

यो प्रविधिको मुख्य चुनौती भनेको ‘स्पिनिङ वेभ’ अर्थात घुमाउरो आकारमा उत्पन्न हुने तरंगहरूको आकार हाे, जुन दूरी बढेसँगै बढ्छ र दूरी घटेसँगै सिग्नल पनि कमजोर हुन्छ, जसले गर्दा हाई स्पिड डेटा प्रसारणमा समस्या हुनसक्छ ।

यो समस्यालाई सम्बोधन गर्दै चिनियाँ टोलीले तीन फरक मोडमा वेभहरूलाई घुमाउन थप केन्द्रित भोर्टेक्स बीम उत्पन्न गर्न एउटा युनिक ट्रान्समिटरको निर्माण गर्‍यो र हाई पर्फर्मेन्स रिसिभ गर्ने उपकरणको विकास गर्‍यो, जसले थोरै समयमा पनि धेरै डेटाको कोड सकंलन गरेर डिकोड गर्न सक्छ ।

चिनियाँ सरकारले बेइजिङमा भएको यो प्रयोगलाई कम्युनिकेसन टेक्नोलोजी (सञ्चार प्रविधिमा) एउटा क्रान्तिको सुरुवात हुनसक्ने विश्वास व्यक्त गरेको छ ।

यो परीक्षणले स्पिड मात्र होइन, फिजिकल डाइमेन्सनहरूको पनि नयाँ परिभाषा खोजी गरेको बताएको छ, जसले भविष्यमा कम्युनिकेशन प्रविधिमा असीमित सम्भावनाहरू सिर्जना गर्ने विश्वास लिइएको छ ।

हाललाई भने सिक्सजीको परीक्षण सँगै चीन फाइभजीको व्यापक कार्यन्वयनमा ध्यान दिने बताइएको छ । सिक्सजी प्रविधिको भने सन् २०३० सम्म आवश्यक तयारी सकेर कार्यन्वयन सुरु गर्ने चीनको योजना छ ।