close

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको एक वर्षको आम्दानी सवा ४ अर्ब, अरुको कति ?

टेकपाना टेकपाना

फागुन १, २०७८ १९:४७

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको एक वर्षको आम्दानी सवा ४ अर्ब, अरुको कति ?

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले गत आर्थिक वर्ष २०७७/०७८ मा कूल चार अर्ब २१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्न सफल भएको छ । कम्पनीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको प्रतिवेदन अनुसार कम्पनीको कूल आम्दानी थाहा हुन आएको हो ।

वर्ल्डलिङ्कले कूल आम्दानीको दुई प्रतिशतले हुन आउने आठ करोड ४३ लाख ९७ हजार रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गरेको छ भने चार प्रतिशतले हुन आउने १६ करोड ८७ लाख ९५ हजार रुपैयाँ रोयल्टी बुझाएको छ । दोस्रो धेरै आम्दानी गर्ने इन्टरनेट सेवाप्रदायक कम्पनीमा सुबिसु रहेको छ ।

जसको गत आवको कूल आम्दानी एक अर्ब २१ करोड रुपैयाँ रहेको छ । सुबिसुले त्यस वापत दुई करोड ४२ लाख रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गरेको छ भने रोयल्टी वापत चार करोड ९३ लाख ६७ हजार रुपैयाँ नियामकलाई बुझाएको छ ।

त्यस्तै भायनेटले सोही अवधिमा एक अर्ब १४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कूल कारोबार गरेको छ । जसबाट उसले दुई करोड २८ लाख ६२ हजार रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गरेको छ र चार करोड ५८ लाख तीन हजार रुपैयाँ रोयल्टी भुक्तानी गरेको छ ।

अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फरले गत आवमा ३२ करोड रुपैयाँको कूल आम्दानी जुटाउन सफल भएको छ भने अर्को नेटवर्क सेवा प्रदायक कम्पनी कम्युनिकेसन एन्ड कम्युनिकेटको कूल आम्दानी २३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

तर क्लासिक टेक, ब्रोडलिङ्क र टेकमाइन्ड्स जस्ता अन्य ठूला इन्टरनेट सेवाप्रदायक कम्पनीले निर्धारित समयमा रोयल्टी र ग्रामीण दूरसञ्चार कोष वापतको रकम जम्मा गरेका छैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२