close

नझुक्किनुहोस्, एउटै होइन मोबाइल र इन्टरनेटको ‘फाइभजी’

टेकपाना टेकपाना

फागुन ५, २०७८ १५:२९

नझुक्किनुहोस्, एउटै होइन मोबाइल र इन्टरनेटको ‘फाइभजी’

काठमाडौं । यतिबेला नेपालको दूरसञ्चार तथा इन्टरनेट सेवाको क्षेत्रमा ‘फाइभजी’ निकै चर्चामा छ । एकातर्फ नेपाल टेलिकम र एनसेल जस्ता मोबाइल सेवाप्रदायक ‘फाइभजी’ परीक्षणको तयारीमा छन् ।

अर्को तर्फ इन्टरनेट सेवा प्रदायकहरूले राउटरमा नयाँ प्रविधिको रुपमा ‘फाइभजी’ भन्दै बजारिकरण गरिरहेका छन् । काठमाडौं । बजार अहिले फाइभजीको छ ।

एकातर्फ मोबाइल प्रविधि ‘फाइभजी’, अनि अर्कोतर्फ इन्टरनेट सेवाप्रदायकको ‘फाइभजी’ । झट्ट सुन्दा दुवै ‘फाइभजी’ एउटै प्रविधि हो कि भन्ने पनि लाग्न सक्छ ।

अझ इन्टरनेट सेवा प्रदायकले पछिल्लो समय गरिरहेको फाइभजीको बजारीकरणले प्रयोगकर्तामा अझ दुविधा सिर्जना गरेको छ । यस्तोमा वास्तविक फाइभजी कुन हो ? यी दुई प्रविधि एउटै हुन् कि नितान्त भिन्न ? यदि फरक हो भने, एउटै भएजस्तो गरी प्रचार प्रसार गर्नु कति उचित  ?

इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान) भायनेटका अध्यक्ष विनय बोहोरा विश्व बजारमै दुवै प्रविधिलाई ‘फाइभजी’ भन्ने प्रचलन रहेको बताउँछन् । यही बुझाइका साथ नेपालका इन्टरनेट सेवा प्रदायकले पनि त्यही प्रयोगमा ल्याएका हुन् । 

‘यसले पक्कै पनि प्रयोगकर्तामा केही अन्यौल सिर्जना भएको होला । तर, यो गलत भने होइन,’ उनी भन्छन् ।’ बोहोराको यो भनाइमा नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल समेत सहमति जनाउँछन् ।

‘वाई–फाई प्रविधिलाई पनि ‘फाइभजी’ नै भन्ने गरेको पाइन्छ । यस्तोमा जुन रुपमा इन्टरनेट सेवा प्रदायकले प्रचार गरिरहेका छन्, त्यसलाई गतल भन्नसक्ने ठाउँ छैन,’ उनी भन्छन् ।

दुवै प्रविधिलाई ‘फाइभजी’ नै भन्ने प्रचलन रहेपनि प्राविधिक रुपमा यी दुई पूर्ण रुपमा फरक छन् । दूरसञ्चार तथा मोबाइल सेवाप्रदायकले दिने ‘फाइभजी’ मोबाइल प्रविधिको परिष्कृत तथा पछिल्लो भर्सन हो ।

अझ भनौँ यो मोबाइल प्रविधिमा आएको नयाँ क्रान्ति हो । जसले मोबाइल इन्टरनेटमा नयाँ आयाम ल्याएको छ । स्पिड र लेटेन्सी दुवै हिसाबले यो प्रविधि यसअघिको मोबाइल प्रविधि भन्दा निकै प्रभावकारी छ ।

अर्कोतर्फ इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराएको ‘फाइभजी’ पनि स्पिड र लेटेन्सीको हिसाबले पुरानोको तुलनामा नयाँ आयाम हो । यसअघि वाई–फाईका लागि प्रयोग हुने २.४ गिगाहर्ज फ्रिक्वेन्सीको तुलनमा ५.२ गिगाहर्ज फ्रिक्वेन्सी निकै प्रभावकारी छ ।

यसरी हेर्दा दुवै प्रविधिलाई पछिल्लो र उन्नत प्रविधिको रुपमा लिन सकिन्छ । तर, यथार्थमा भने यी दुवैबीच निकै भिन्नता छ । सुरुवातमा त यसको नाममै ठूलो अन्तर छ । यथार्त के हो भने दुवै प्रविधिको नामाकरण नै भिन्न छ ।

मोबाइल प्रविधि पाँचौ पुस्ताको (फिप्थ जेनेरेसन) प्रविधिको अङ्ग्रेजीमा छोटकरी नामाकरण गर्दा फाइभजी (5G) भनिएको हो । त्यसैगरी पाँच गिगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा चल्ने वाई-फाई प्रविधिलाई संक्षिप्त रुप दिँदा फाइभ गिगाहर्ज (5Giz) लाई पनि सहजताको लागि फाइभजी नै भन्न थालिएको हो ।

मोबाइल सेवाको प्रविधि टुजी, थ्रिजी, फोरजी हुँदै फाइभजीमा पुगेको छ । जसले फोरजीको तुलनामा सयौँ गुणा बढी स्पिड उपलब्ध गराउँछ ।

कम लेटेन्सी सहितको यो मोबाइल नेटवर्कलाई आजसम्मकै ठूलो उपलब्धीको रुपमा हेरिएको छ । आज विश्वका धेरै देशमा फाइभजी मोबाइल नेटवर्क प्रयोगमा आइसकेको छ ।

कतिपय देशमा परीक्षणको क्रममै रहेको छ भने नेपालमा पनि फाइभजी परीक्षणको लागि नेपाल टेलिकमले तयारी थालेको छ । तर इन्टरनेट सेवाप्रदायक भने ‘फाइभजी’ वाई–फाईको नयाँ प्रविधि व्यापक स्तरमा विस्तार र बजारीकरण गरिरहेका छन् ।

तर वाई-फाईको फाइभजी त्यसको पाँचौ पुस्ता भने होइन । यसअघिसम्म तपाईँ हाम्रो घरमा चल्ने वाई–फाई २.४ गिगाहर्ज फ्रिक्वेन्सीमा चल्ने गर्दथ्यो ।

त्यसो त अझै पनि ठूलो सङ्ख्यामा रहेका नेपाली इन्टरनेट प्रयोगकर्ताले त्यही राउटरले काम चलाइरहेका छन् । २.४ गिगाहर्जमा चल्ने वाई-फाईले लामो कभरेज दिने भए पनि त्यसको स्पिड कम हुन्छ ।

अर्कोतर्फ ५.२ गिगाहर्ज वाई-फाईले स्पिड धेरै दिने भए पनि त्यसको कभरेज थोरै हुन्छ । वाई-फाई राउटरको यही विशेषताले २.४ गिगाहर्ज राउटर र ५.२ गिगाहर्जमा अर्को भिन्नता महसुस हुने गर्छ ।

यदि तपाईँको छरछिमेकमा २.४ गिगाहर्ज राउटर छन् भने एउटा घरको वाई-फाई चारपाँच घर परसम्म (खासगरी सहरी क्षेत्रमा) पुगिरहेको हुन्छ । त्यसमाथि एउटै घरमा थुप्रै राउटर हुने कुरा पनि छँदैछ ।

यस्तोमा एउटा वाई-फाई राउटरले अर्को वाई-फाई राउटरको सिग्नलमा अवरोध गरिदिन्छ । जसले गर्दा २.४ गिगाहर्ज राउटरको वाई-फाईमा अझ धेरै समस्या आउन थाल्छ ।

अहिले बजारमा लामो कभरेजका लागि २.४ गिगाहर्ज र छोटो दूरीमा राम्रो स्पिडका लागि ५.२ गिगाहर्ज दुवैलाई समावेश गरी डुअल ब्यान्ड राउटर लोकप्रिय छन् । तर इन्टरनेट सेवाप्रदायक कम्पनीले फाइभजीलाई ब्रान्डिङको रुपमा बजारिकरण गरिरहेका छन् ।

यस्तोमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरू डुअल ब्यान्ड राउटरको साटो फाइभजी राउटर भन्न रुचाइरहेका हुन्छन् । जसले प्रयोगकर्तालाई अझ दुबिधामा पारेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२