close

डाटा, एआई र मेसिन लर्निङमा काम नथाल्ने हो भने नेपाल पछि पर्नसक्छ

टेकपाना टेकपाना

पुस १७, २०७६ ११:२०

डाटा, एआई र मेसिन लर्निङमा काम नथाल्ने हो भने नेपाल पछि पर्नसक्छ

फ्युज मेशिन एक आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो । यसले आर्टिफिसियल इन्टेलिजेन्सका सहायक बिषयहरु डाटा साइन्स, मेशिन लर्निङ, डीप लर्निङ, तथ्यांकीय विश्लेषणलाई विभिन्न उद्देश्यका लागि एकीकृत गर्ने प्रयास गरिरहेको छ ।

मेसिन लर्निङ, यो तथ्यांकलाई हेर्ने एउटा नयाँ तरिका हो । यसको लागि फ्युज मेशिनले नयाँ पाठ्यक्रमको विकास गरिरहेको छ, जसले आधुनिक डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सको सबै पक्ष समेटेको छ । यी सबै पक्षहरु विद्यार्थीलाई जानकारी दिने छ ।  

आर्टिफिसियल इन्टेलिजेन्स नेपाल र नेपालीको लागि मात्रै काम लाग्ने नभएर यस विषयमा जान्न चाहने सबैको लागि उपयोगी विषय हो । आर्टिफिसियल इन्टेलिजेन्स भविष्य परिवर्तनको लागि हामी नजिकै आइसकेको शक्ति हो । यो आउने क्रमसँगै परिवर्तन पनि भइरहेको छ र यसले हाम्रो जीवन परिवर्तन गर्ने, हामीले प्रयोग गर्ने कुराहरु परिवर्तन गर्नेछ । 

उदाहरणको लागि हामी मोबाइल फोन प्रयोग गरिरहेको छौं । हामीले प्रयोग गर्ने अन्य प्रविधिले जस्तै यसले पनि हाम्रो जीवनलाई परिवर्तन गराइरहेको छ । यसैकारण नेपालको लागि मात्रै होइन, आधुनिक काम गर्न चाहने हरेकको लागि यो महत्वपूर्ण छ । 

भविष्यमा सबै कुरा डाटासँग सम्बन्धित हुनेछन् । जब हामी हाम्रो मोबाइल फोन, अनलाइन प्रणाली, अनलाइन बैंकिङ, अनलाइन सपिङ जस्ता चिजसँग जोडिन्छौं, ती सबै डाटा हुन् । हामीले जे गर्छौं, स्वतः हामीले डाटाको रुपमा हाम्रा पदचिन्हहरु छाडिरहेका हुन्छौं ।

पहिला हामीलाई डाटा कसरी महत्वपूर्ण हुन्छ भन्ने थाहा थिएन । वास्तवमा विकास भइरहेका प्रविधि र एल्गोरिदमका कारण हामीलाई डाटा हाम्रो भविष्यको लागि महत्वपूर्ण छ । किन कि यसैको कारण हामीले गर्ने हरेक काममा परिवर्तन आइरहेको छ । यसले सबै चिज परिवर्तन गराइरहेको छ ।

औद्योगिकीकरणको बेलामा हरेक कुरा आधुनिक भए जस्तै अहिले पनि सबै कुरा परिवर्तन भइरहेको छ । प्रविधि पनि सही वा गलत दुबै उद्देश्यमा प्रयोग हुन सक्छ । उदाहरणका लागि तपाईं डाटालाई मानिसलाई नियन्त्रण गर्न तथा दबाउन पनि प्रयोग गर्न सक्नुहुन्छ । यो अवश्य पनि राम्रो काम होइन । तर, यदि क्यान्सर निको पार्नको लागि डाटा प्रयोग गरिरहनु भएको छ भने, अवश्य पनि राम्रो काम हो ।

सही कामको लागि डाटा संकलन भएको छ भने, यसले हामीलाई फाइदै गर्छ । डाटा संकलनको बिषयप्रति पनि हामी सजग हुनुपर्ने बेला आएको छ । पहिलो कुरा डाटा संकलन हाम्रो विचार दबाउनको लागि हुन थालेको र दोस्रो गोपनीयताको बिषयलाई लिएर हाम्रो चासो छ । ती डाटा हाम्रो जीवन बचाउनको लागि उपयोग हुन्छ भने चिन्ताको विषयको रुपमा रहन्न ।

तपाईंको शरीरमा कहाँ ट्युमर पलाएको छ र यसलाई कसरी निको पार्ने भन्ने निश्कर्ष निकाल्नको लागि डाटा संकलन गर्नुपर्‍यो भने तपाईं सहमत हुन सक्नुहुन्छ । तपाईंको बिमारी निको पार्नको लागि तपाईं कस्तो खाना खानुहुन्छ, तपाईंको व्यायाम तालिका के छ भन्ने जस्तो तथ्यांक दिन पनि तयार हुनुहुन्छ, किनकी यसले तपाईंको जीवन बचाउन सक्छ । यसको लागि विभिन्न तरिकाहरु छन् । हामी यस्तै बिषयमा कुरा गरिरहेका छौं र यस्तै उदाहरण पनि दिन्छौं । 

विगतमा हामीले कृषिका कामहरु हातैले गथ्र्यौं । हामीले मेशिनको आविष्कार गर्‍यौं । कृषि कर्मको लागि ट्र्याक्टर प्रयोग गर्न थाल्यौं । अब, त्यो अवस्थामा पनि परिवर्तन भइरहेको छ । हामीले फिल्म हेर्ने तरिका समेत बदलिएको छ ।

फिल्म हेर्नुअघि तपाईं वेबसाइटमा जानुहुन्छ र कति जनाले उक्त फिल्मलाई मन पराए भनेर हेर्नु हुन्छ । टिकट काट्नु अघि तपाईं समीक्षा हेर्नुहुन्छ । कार किन्ने बेलामा पनि कस्तो बेलामा यसको ईन्जिनले काम गर्दैन भनेर पहिल्यै बुझ्नुहुन्छ र सोही अनुसारको निर्णय लिनुहुन्छ । अहिलेको अवस्था पहिले भन्दा किन भिन्न छ भने तपाईं पूरा जानकारी लिएर मात्रै निर्णय गर्नुहुन्छ । 

स्वास्थ्यकै कुरा गर्दा सरकारी संस्थाले बिरामीको डाटा संकलन गर्दा फरक पर्दैन । तर निजी अस्पतालले डाटा संकलन गरेर आफ्नो स्वार्थको लागि प्रयोग गरे भन्ने पर्न सक्छ । डाटा यस्तो चिज हो जुन सही र खराब दुवै उद्देश्यको लागि प्रयोग हुन सक्छ । उदाहरणको लागि जोसँग पनि बन्दुक हुन सक्छ । प्रहरीसँग पनि बन्दुक हुन्छ, जुन हाम्रै सुरक्षाको लागि प्रयोग हुन्छ । त्यसैले कसको हातमा शक्ति छ भन्ने कुरामा यो निर्भर रहन्छ ।

तर, महत्वपूर्ण कुरा यदि तपाईंले नयाँ प्रविधिलाई अंगीकार गर्न सक्नु भएन भने विस्तारै तपाईं पछि पर्दै जानुहुन्छ । कुन देश भन्ने कुराले फरक पार्दैन । नेपाल होस् वा अन्य देश । त्यसैले, इन्टेलिजेन्समा भएको खाडल कम गर्ने, मानिसहरुलाई शिक्षित तुल्याउने र प्रविधिको क्षेत्रमा भइरहेको विकाससँग अभ्यस्त गराउनु महत्वपूर्ण हुन्छ ।

फ्युज मेशिलने यही खाडल कम गर्न चाहिरहेको छ । यो निकै महत्वपूर्ण काम हो । औद्योगिकीकरणको कुरा गर्दा, नेपालले त्यो बेलाको प्रविधि प्रयोग गर्न पाएन होला तर अहिलेको अवस्था त्यस्तो छैन । एउटा कम्पनीले मानिसलाई समस्या समाधान गर्ने उपायको बिषयमा शिक्षित गर्न खोजिरहेको छ, योबाहेक यहाँ भएका दक्ष जनशक्तिलाई अन्य विश्वमा रहेका समस्या समाधानको लागि निर्यात गर्न पनि सकिन्छ । 

फ्युज मेशिनले तयार पारिरहेको पाठ्यक्रमले यहाँका जनशक्तिलाई प्रतिस्पर्धी बनाउने प्रयास गर्नेछ । जसका कारण यहाँ भएका इन्जिनियरहरु पनि अन्य देशका जस्तै गुणस्तरीय काम गर्न सक्ने हुन सकुन । यदि फ्युज मेशिनले यसो गर्न सक्छ भने नेपालमा भएका विश्वविद्यालय र अन्य संस्थाहरुले यसलाई अंगीकार गर्न नसक्ने कुरै छैन ।

यस्तो सेवाको अंगीकार गरेर सीपको खाडल पुर्न सकिन्छ । त्यसकै लागि फ्युज मेशिनले महत्वपूर्ण काम गरिरहेको छ भन्ने लाग्छ । आज धेरै मानिसले थाहा पाएर वा नपाएरै डाटा प्रयोग गरिरहेका छन् । सायद उनीहरु के भइरहेको छ भन्ने बारे बेखबर छन् ।

हामीले मोबाइल फोन प्रयोग गरिरहेका छौं । र, मेशिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स एल्गोरिदम भनेको के हो, ती मोबाइल फोनको प्रयोगको लागि क्वान्टम फिजिक्सले पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन् भन्ने हामीलाई थाहा नहुन सक्छ ।

तर भविष्यमा यस्तो हुने छैन । हामी परिवर्तन हुनेछौं, हामीले फरक काम गरिरहेको हुनेछौं, मेशिनसँग सम्बन्धित बढी काम गरिरहेको हुनेछौं । मेशिन र ती एल्गोरिदमलाई बुझ्नेछौं । सबैले एल्गोरिदम निर्माण गर्नुपर्छ भन्ने छैन । 

तर तपाईं हामी त्यसको महत्वपूर्ण प्रयोगकर्ता चाहिँ हुनेछौं । संभवतः अहिलेका ६० देखि ७० प्रतिशत कामहरु स्मार्ट जबको रुपमा परिवर्तन हुनेछन् । तपाईं कस्तो काम गर्न चाहनु हुन्छ ? पक्कै पनि बढी आम्दानी, बढी खुला र प्रतिस्पर्धी, विश्वभर काम पाइने स्मार्ट जब गर्न चाहनु हुन्छ । 

हामीले परिवर्तनशील भएर वा नयाँ प्रविधि अंगीकार गरेर आफूलाई त्यसमा अभ्यस्त बनाउन सक्छौं । किन कि परिवर्तन रोकिन्न । खासमा हाम्रो शक्ति भनेकै हाम्रो परिवर्तनशिलता हो । मानव इतिहास हेर्ने हो भने पनि हामी परिवर्तनशील भएकै कारण सफल भएका हौं । चार वर्ष अघिसम्म नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी सेवा दिने कुनै कम्पनी थिएन । 

तर, टेलिकमसहितका केही कम्पनीलाई सेवा दिन हामी आएका छौं । यसले पनि हामीलाई केही सन्देश दिन्छ– परिवर्तन भइरहेको छ । र, स्थानीय कम्पनीले स्थानीय जनशक्तिबाटै त्यो आवश्यकता पूर्ति गरिरहेको छ ।

चार वर्षमा यति धेरै काम भएको छ भने अनुमान गर्नुस् एआई स्कुललाई निरन्तरता दिए १० वर्षमा के हुन्छ ? हामीसँग धेरै डाटा इन्जिनियर हुनेछन्, हामी अझ धेरै बजारसम्म पुग्नेछौं, एआईको प्रयोगले हामी धेरै बजार मूल्य निर्माण गर्नेछौं । जसले धेरै नयाँ रोजगारीको अवसर दिनेछ ।

परम्परागत तथ्यांकीय विधि भन्दा नयाँ खालको एआई सीप हामीले दिन खोजेका हौं । डाटाबाट काम गर्न सक्ने एल्गोरिदमसहित हामी आएका छौं । यसलाई म विस्तृतमा भन्छु । पहिला हामीसँग तथ्यांकीय विधि थियो । हामीले धेरै कुराको मापन यस्तै विधिबाट गर्थ्यौं । उदाहरणको लागि आज पानी परिरहेको छ र भोलि के हुन्छ ? यस्तो अवस्थामा हामी गत वर्ष यति पानी परेको थियो र यो वर्ष यति पर्यो भन्न मात्रै सक्छौं । 

तर, आधुनिक एल्गोरिदमले त्यस्ता कोठामा बसेर संकलन गरिएका तथ्यांकमा मात्रै आधारित नभई थप आधुनिक तरिकाहरु अपनाउँछ । यसले न्यूरल नेटवर्क, डाटाको सिकाई र सूचकहरुको प्रयोगद्धारा असम्भव कामलाई सम्भव तुल्याउँछ ।

नयाँ विधिको प्रयोगबाट हामीले भोलि पर्ने पानीको सम्भावना मात्रै नभई आगामी वर्ष मुद्राको भाउ कस्तो हुन्छ ?, बजारको अवस्था के हुन्छ ? कसरी निश्चित खालका रोगहरु परिवर्तन भइरहेका छन् ? जस्ता तथ्यांकीय विश्लेषणबाट मात्रै थाहा हुन नसक्ने कामहरु हामी गर्न सक्छौं ।

फ्युज मेशिनले त्यस्ता एल्गोरिदम, मेशिन लर्निङ विधि, न्यूरल नेटवर्क, आर्टिफिसियल इन्टेलिजेन्सलाई पाठ्यक्रममा समावेश गर्ने प्रयास गरेको छ । जसका कारण यहाँका आधारभूत ज्ञान भएका जोकोही विद्यार्थीलाई पनि फ्युज मेशिनका विज्ञहरुले मूल्यांकन गर्छन् र उनीहरु यो कार्यक्रमको लागि छानिन सक्छन ।

उनीहरुले कक्षामा सहभागी हुनुको साथै भिडियोमार्फत फ्युज मेशिनमा भएका १ सय ३० भन्दा बढी डाटा इन्जिनियरहरु र विश्वभरका डाटामै पीएचडी गरेका ८–१० जना व्यक्तिहरुसँग पहुँच पाउन सक्छन् । उनीहरुले आफ्नो विज्ञता नेपालका विभिन्न स्कुलका विद्यार्थीहरुसँग बाँड्न सक्छन् ।

मलाई लाग्छ, के भइरहेको छ र के परिवर्तन भइरहेको छ भन्ने मात्रै होइन । सबैभन्दा महत्वपूर्ण प्रश्न त एआई विधि र मेशिन लर्निङ विधिको लागि नेपालले के गरिरहेको छ भन्ने हो । नेपालले यसमा योगदान गर्न सक्छ कि सक्दैन भन्ने हो । फ्युज मेशिनले यस्ता सबै सेवाहरु नेपाली विद्यार्थीलाई प्रदान गर्न प्रयास गरिरहेको छ । 

वास्तवमा, परिवर्तन भइरहेको छ । सायद भइ नै सकेको छ । किन कि धेरै चिजहरु परिवर्तन भइसकेका छन् । हामीसँग अहिले मोबाइल फोन छ, हामीसँग स्याटेलाइट डाटा छ । अनुमान र विश्लेषण गर्ने क्षमता छ । गुगल र फेसबुक छन्, जुन एआईकै कारण चलिरहेका छन् । त्यसकारण महत्वपूर्ण प्रश्न, हामीले यसलाई उपयोग गर्ने कि नगर्ने भन्ने हो । अर्को प्रश्न, हामी कहिले यसलाई उपयोग गछौं भन्ने हो किनकी परिवर्तन अपरिहार्य छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०