close

स्कुल/कलेजको व्यवस्थापन सुधार्ने सफ्टवेयर

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन ९, २०७८ १८:३४

स्कुल/कलेजको व्यवस्थापन सुधार्ने सफ्टवेयर

काठमाडौं । सूचना प्रविधि (आईटी) को विकाससँगै अहिले हरेक क्षेत्र डिजिटलाइज्ड हुने क्रममा छ । नेपालमा पनि आईटीको व्यापक विस्तार र प्रयोग भइरहेको छ ।

यो बीचमा शैक्षिक प्रणालीमा आधुनिकीकरण भित्र्याउने उद्देश्यसहित आठ वर्षअघि अरुणकुमार गुप्ताले एडभान्स बिजनेश ग्रुप (ए.बी. ग्रुप प्रालि) नामको कम्पनी सञ्चालनमा ल्याए ।

विद्यालय तथा कलेजकाे शैक्षिक एवं व्यवस्थापन प्रणालीलाई परिवर्तन गर्ने सोचअनुरुप उनले आफ्नो व्यवसायिक यात्रा थाले । यो अवधिसम्म आइपुग्दा गुप्ताको कम्पनीले चार सयभन्दा बढी विद्यालय तथा क्याम्पसमा आफ्नो सेवा विस्तार गरेको छ ।

‘जसरी विदेशी शिक्षण संस्थाले आफ्नो पढाइ-लेखाइ र व्यवस्थापनका काम सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गरिरहेका छन्, त्यसरी नै नेपालमा पनि शिक्षा क्षेत्रको मुहार फेर्न सकिन्छ भनेर यो कम्पनी सुरु गरेँ,’ सफ्टवेयर इन्जिनियरिङ पृष्ठभूमि भएका उनले सुनाए ।

अहिले यो कम्पनीले शिक्षा क्षेत्रमा मात्र नभई होटेल, रेस्टुरेन्ट, अस्पताल लगायतका लागि पनि सफ्टवेयर विकासकाे काम गरिरहेकाे छ ।

केही दिनअघि मात्र कम्पनीले कस्टमर रिलेसनशिप म्यानेजमेन्ट (सीआरएम) सफ्टवेयर सार्वजनिक गरेको छ, जसले विभिन्न कार्यालयमा हाजिरी, तलब बाँडफाँड आदिको अभिलेख राख्न मद्दत गर्ने उनले जानकारी दिए ।

गुप्ताले १४ लाख लागतमा याे कम्पनी सुरु गरेका थिए, जसकाे हालकाे पुँजी चार करोड पुगिसकेकाे छ । विभिन्न स्वदेशी तथा विदेशी कम्पनीले उस्तै प्रकृतिको सेवा दिइरहँदा आफ्नो कम्पनीले अरूको भन्दा सवल र विशेष सेवा सुविधा दिएर विश्वास जितेको उनको दाबी छ ।

‘हामीले आफ्ना क्लाइन्टलाई चौबिसैं घण्टा, सातै दिन सेवा दिने भएकाले पनि यसप्रति शैक्षिक संस्थाको आकर्षण बढ्दो छ,’ उनी अगाडि भन्छन्, ‘विशेषतः परीक्षाको समयमा शैक्षिक संस्थालाई धेरै प्राविधिक सहयाेग चाहिएको हुन्छ । त्यस्तो बेला हामीले निःशुल्क सेवा दिने गरेका छौं, जसले गर्दा यसको लोकप्रियता झन् बढ्दो छ ।’

यसबाहेक कम्पनीले ईकमर्शको दुनियाँमा नयाँ प्रयोग ल्याउन चाहेकाे छ ।

‘यसमा कुनै एउटा सामानको बारेमा विस्तृत जानकारी राखिएको हुन्छ । अरु साइट र त्यो साइटमा पाइने सो सामानको तुलनात्मक जानकारी समेटिएको हुन्छ । यसबाट बिक्रेता र खरिदकर्तालाई निकै फाइदा पुग्ने र सामान किनबेच गर्न सहज हुने विश्वास छ,’ उनले भने ।

अझ विशेष सेवा सहितका अन्य सामग्री बजारमा ल्याउन उनले लगानीकर्ताकाे साथ खाेजेका छन् ।

अहिले ए.बी. ग्रुपले विद्यालयमा अटोमेटिक एटेन्डेन्स र स्पिकर म्यानेजमेन्ट लगायतका सेवा ईआरपी सिस्टममार्फत दिइरहेकाे छ ।

धेरै विद्यार्थी भएका विद्यालयमा प्रायः एक-दुई जना विद्यार्थीलाई नजरमा राखिरहन सकिँदैन । भन्नुको अर्थ विद्यार्थी कहाँ छन् भन्ने कुरा थाहा नै हुँदैन । यसले गर्दा धेरै विद्यार्थी हराउने, अपहरणमा परेका सूचना आइरहेका हुन्थे ।

यसलाई व्यवस्थापन गर्न कम्पनीले ल्याएको अटोमेटिक एटेन्डेन्सको सेवाले विद्यार्थी विद्यालय परिसरको १० मिटर पर हुनासाथै हाजिरी लगाउँछ । र, विद्यार्थीलाई जीपीएसको माध्यमबाट ट्रयाक गरिरहेको हुन्छ । यसले गर्दा अभिभावक तथा शिक्षकलाई विद्यार्थी विद्यालय वा घर पुगे/नपुगेको जानकारी हुन्छ ।

यो सुविधा हुँदा विद्यार्थी हराउने सम्भावना कम हुने कम्पनीकाे विश्वास छ ।

अर्को छ स्पिकर म्यानेजमेन्ट सिस्टम, जसले विद्यार्थीलाई कुन शिक्षक शिक्षिकाको कुन विषय कतिबेला हुन्छ भन्नेबारे जानकारी दिन्छ । यसले विद्यार्थीलाई अन्योलमा पर्न दिँदैन ।

विगतमा कोभिडका कारण शैक्षिक क्षेत्र निकै प्रभावित भयो । अनलाइन क्लासको अवधारणा आइसकेको भए पनि उपलब्ध केही सफ्टवेयर जस्तै; गुगल मिट, जुम आदिमा समय सीमित भएकाले अन्य कक्षा सञ्चालन गर्दा असुविधा भयो ।

यसलाई निराकरण गर्न उनकाे कम्पनीले आफ्नै सफ्टवेयर लन्च गर्दै छ, जसले यी असुविधालाई निराकरण गर्ने गुप्ताको दाबी छ । यसमा एकपटक लिएको सब्क्रिप्शनले वर्षभर काम गर्नेछ ।

साथै यसमा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री पनि राखिएको हुनेछ । यो काममा ई-लर्नरको पनि संलग्नता हुनेछ ।

सफ्टवेयर इन्जिनियर रहेका गुप्ताले नेपालमा नै  केन्द्रित गरेर केही व्यवसाय गर्ने अभिप्रायले याे कम्पनी सुरू गरेका थिए । यो कम्पनी सुरुवात गर्न गुप्तासँगै तीन जना अरू आईटी क्षेत्रका साथी थिए । त्यसपछि नेपालमा नै आईटी क्षेत्रमा कसरी नयाँ प्रयोग गर्न सकिन्छ भन्ने सोच्दा सोच्दै विदेशी प्रयोग नेपालमा भित्राउने आयोजना बन्यो ।

सुरुवाती दिनमा आधारभूत सेवा दिँदै सुरु भएको यो कम्पनीले विस्तारै अन्य सेवातिर हात हाल्यो । गुप्तासँगै लागेका उनका तीन साथीले आफ्नो समस्याका कारण कम्पनी छाडे । त्यसपछि सम्पूर्ण कम्पनीको जिम्मेवारी गुप्ताको काँधमा आयो ।

‘साथीहरूले एक्कासी छाडेपछि कसरी अगाडि बढाउने भन्नेबारे सोच्न केही समय लाग्यो । त्यसपछि आफ्नै आत्मबलले कम्पनीलाई यो स्थानसम्म पुर्‍याउन सफल भएँ,’ उनले सुनाए ।

हाल यस कम्पनीमा १५ भन्दा बढी कर्मचारी कार्यरत छन् ।

यी बाहेक आफूसँग हालकाे बजारको आवश्यकता परिपूर्ति गर्ने धेरै उपाय भए पनि लगानीकर्ताको अभावले सबै योजना अगाडि बढ्न नसकेको बताउँदै गुप्ताले भने, ‘आजकाे दिनमा बजारलाई के के कुराहरूको आवश्यकता छ र ती कुरालाई आईटीकै माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्नेबारे तमाम योजना छन् । लगानीकर्ता भेटेको खण्डमा हामी चाँडै नै अन्य सुविधा सहित बजारमा आउने छौं ।’

कम्पनीले सुरुवात गरेको ई-सोलुसन स्कुल म्यानेजमेन्ट प्रणालीको सेवाबाट सयौं विद्यालय, हजारौँ विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् ।

‘नेपालमा पनि उच्च स्तरीय सफ्टवेयर बन्न सक्छ भन्ने उदाहरण हाम्राे ई-सोलुसन स्कुल म्यानेजमेन्ट सिस्टम बनेकाे छ,’ उनले भने ।

सफ्टवेयरकाे महत्वपूर्ण विशेषताका रूपमा यसले विद्यार्थीको गतिविधिको निगरानी गर्ने भएकाले विद्यार्थीको भविष्यमा सकारात्मक परिवर्तन ल्याउने उनकाे विश्वास छ ।

‘साथै हामीले हरेक समय प्राविधिक सहयाेग पनि प्रदान गर्छाैं । यसबाट विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावक सबै लाभान्वित भएका छन्,’ उनले भने ।

त्यस्तै याे कम्पनीले होटल रेस्टुराँ व्यवस्थापन प्रणाली, हस्पिटल केयर प्लस (ल्याब तथा अस्पताल व्यवस्थापन प्रणाली), माइपिप्लर (जनशक्ति व्यवस्थापन प्रणाली) आदि सफ्टवेयर आंशिक रूपमा सञ्चालनमा ल्याएकाे छ ।

यी सफ्टवेयरको माध्यमबाट हस्पिटल, ल्याब, होटेल, रेस्टुराँमा छिटो र सरल तरिकाबाट उपलब्ध सेवा सहजै व्यवस्थापन गर्न सकिने कम्पनीकाे दावी छ ।

‘तपाईं सपना देख्नुस्, हामी तपाईंको सपना साकार पार्छौ’ भन्ने नाराका साथ कम्पनी अघि बढिरहेको छ । ‘न्यूनतम शुल्कमै व्यवस्थित, छिटो, छरितो र चाैबिसैं घण्टा सेवा प्रदान गर्छाैं,’ उनले भने ।

साथै कम्पनीकाे आफ्नै रिसर्च टिम छ, जसले बजारको आवश्यकतालाई मध्यनजर गर्दै सेवा बढाउन याेगदान पुगेकाे गुप्ता बताउँछन् ।

आउँदा दिनमा कम्पनीले विभिन्न सेवा विस्तार गर्ने याेजना ल्याएकाे छ । ‘विशेषतः ईकमर्श, हस्पिटल, रेस्टुरेन्ट, विद्यालय लगायतका लागि नवीनतम शैली अपनाएर अघि बढ्ने याेजना छ,’ उनले भने ।

साथै कुनै सामान मर्मत गर्नुपर्ने छ भने कुन ठाउँको कुन पसलले मर्मत गर्छ भन्ने कुराको जानकारी दिन अर्को सफ्टवेयर पनि चाँडै नै सार्वजनिक गर्न लागेकाे उनले सुनाए ।

आईटीको माध्यमबाट अव्यवस्थित क्षेत्रलाई व्यवस्थित बनाउन सकिने साेच उनकाे छ । यस अनुरूप बजार सिर्जना गरिरहे पनि विविध समस्या र चुनाैती विद्यमान रहेकाले सराेकारवाला निकायले स्टार्टअप र युवा व्यवसायीमैत्री वातावरण बनाउन सहयाेग पुग्नुपर्ने मत गुप्ताकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२