close

नक्कली लाइसेन्स लिएर सवारी चलाउनेलाई अब मोबाइल एपले नै समात्ने

टेकपाना टेकपाना

फागुन ९, २०७८ १९:१७

नक्कली लाइसेन्स लिएर सवारी चलाउनेलाई अब मोबाइल एपले नै समात्ने

काठमाडौं । नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउने व्यक्तिलाई कारबाही गर्न ट्राफिक प्रहरीले प्रविधिको प्रयोग गर्ने भएको छ ।

सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स मार्फत स्क्यान गरी सजिलै नक्कलीरसक्कली छुट्याउन सक्ने बताए ।

उनले एक वर्षे परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्नसक्ने प्रावधान रहेको समेत जानकारी दिए ।

महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यता रहेकोमा अब आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एपमार्फत लाइसेन्स प्रमाणीकरण गर्नसक्ने बताए ।

उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले बिकसित प्रबिधीको प्रयोग गरि लाईसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिए ।

कोही कसैले नक्कली लाईसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

कसरी काम गर्छ त एपले ?
विशेष प्रकारको मोबाइल एपमार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स भेरिफाई गरिन्छ । उक्त लाइसेन्समा रहेको क्यूआरलाई यस एपमार्फत स्क्यान गरी लाइसेन्स भेरिफाई गरिन्छ ।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२