close

नेपाली युवाले बनाएको यस्तो सफ्टवेयर, जुन फैलिएको छ विश्वका १२० देशमा

अर्पना आले मगर अर्पना आले मगर

फागुन १०, २०७८ १४:४५

नेपाली युवाले बनाएको यस्तो सफ्टवेयर, जुन फैलिएको छ विश्वका १२० देशमा

काठमाडौं । आज हाम्रो दुनियाँ नै मोबाइल भइसक्यो । मोबाइल बिनाको दिन र समय कल्पना गर्न गाह्रो छ । अनलाइन सेवाले झन् हरेक काम मोबाइल एपबाटै गर्न सहज बनाइदिएको छ । पाकेको खानादेखि नुन, तेल र रासनसम्म, अनि लत्ता कपडादेखि कोठा, घर-जग्गा खोज्ने काम सबै अनलाइनमा हुन थालेका छन् ।

हामी दैनिक जीवनमा आवश्यक हुने धेरैजसो कामका लागि विभिन्न मोबाइल एपमा निर्भर हुन थालेका छाैं । त्यसैले पनि धेरैजसो व्यवसायीले आफ्नो सेवा मोबाइल एपमार्फत दिएका छन् ।

कतिपय एप प्रयोग गर्द तपाईं आफैंले पनि याद गर्नुभएको होला, कुन‍ै एप प्रयोग गर्न निकै सहज हुन्छ भने कुनै एप प्रयोग गर्न झन्झट हुन्छ ।

त्यस्तै यदि तपाईं पनि आफ्नो व्यवसायका लागि अथवा अन्य कुनै सेवाका लागि मोबाइल एप बनाउने सोचिरहनु भएको छ, तर कस्तो प्रकारको एप बनाउँदा प्रयोगकर्ताले मनपराउने छन् भन्ने विषयमा पूर्ण रुपमा जानकारी छैन भने एप प्रभावकारी हुँदैन र यसकाे घाटा  तपाईंलाई नै हुन जान्छ ।

यी र यस्तै प्रकारका प्रयोगकर्ताको डिजिटल प्रडक्टको अनुभवलाई डेटाको माध्यमबाट परीक्षण गर्ने ‘युएक्सक्याम’ को जन्म भएको हाे । युएक्सको पूर्ण रुप हो ‘युजर एक्सेपिरियन्स’ अर्थात क्यामेराको माध्यमबाट प्रयोगकर्ताको अनुभव कैद गर्ने काम ।

कम्पनीका संस्थापक किसन गुप्ताले आफूले यसरी नै क्यामेराले खिचेर प्रयोगकर्ताको डिजिटल प्रडक्ट अनुभव कैद गरेको आफ्नो अनुभवको आधारमा युएक्सक्यामको सुरुवात गरेका हुन् ।

२०१५ मा युएक्सक्याम सुरुवात गर्दा गुप्ता स्नातकोत्तर गर्दै थिए । विश्वविद्यालयले नै दिने गरेको उद्यमशीलताको प्रयोगात्मक शिक्षाले उनलाई आफ्नै कम्पनी सञ्चालन गर्ने प्रेरणा मिल्याे ।

मोबाइल युजबिलिटी रिसर्च इन्जिनियरको रुपमा काम गरिरहेका गुप्तालाई यही काम थप सहज र परिष्कृत रुपमा अगाडि बढाउने सोच आयो ।

त्यति मात्र होइन, स्कुले उमेरदेखि नै सफ्टवेयर इन्जिनियरिङका बारेमा थाहा पाएका गुप्ताको सपना अरु कसैको जागिर खाएर बस्नेभन्दा आफैं एउटा उद्यमी बनेर अरुलाई रोजगारी दिनु थियाे ।

‘सानो छदाँ त सफ्टवेयर इन्जिनियर नै बन्छु भन्ने सोच थियो तर उद्यमी बन्ने चाहनाले बढि प्रोत्साहित गर्‍यो ,’ उनले सुनाए ।

मनपर्ने क्षेत्र र त्यही क्षेत्रमा उद्यमी बन्ने चाहना सहित उनले आफ्नै कम्पनीका लागि काम गर्न सुरु गरे । कामकै सिलसिलामा कलेजका साथीसँग मिलेर उनले कम्पनी स्थापना गरे ।

‘बेलायतमा स्नातकोत्तर सकेपछि एउटा युजरबिलिटी ल्याबमा काम गरेकाे थिएँ । त्यहाँ हामीले डिजिटल प्रडक्टहरूको क्वालिटेटिभ परीक्षण गर्थ्यौं । कुनै प्रडक्टलाई प्रयोगकर्ताले प्रयोग गर्दा कस्तो अनुभव भइरहेको छ भनेर हेर्नको लागि त्यहाँ परीक्षण गरिन्थ्यो,’ उनले भने, ‘त्यहाँ हामीले केही प्रयोगकर्तालाई ल्याबमा बोलाएर प्रडक्ट प्रयोग गर्न दिन्थ्यौं । यसरी प्रयोगकर्ताले उक्त प्रडक्ट प्रयोग गरिरहेको बेलामा क्यामेराले त्यहाँको गतिविधि रेकर्ड गर्थ्यौं र अन्तिममा रिपोर्ट बनाएर कम्पनीलाई बुझाउथ्यौं ।’

तर गुप्ताले यो विधिमा धेरै चुनौती भेटे । कुनै पनि एप अथवा वेबसाइटका सबै प्रयोगकर्ताको अनुभव एउटा ल्याबमा क्यामेराले कैद गर्नु मुश्किल थियो । प्रयोगकर्ताको दैनिक जीवनमा प्रयोग हुने धेरै डिजिटल प्रडक्टको परीक्षण ल्याबमा हुने कुरा सहज पनि थिएन ।

‘दोस्रो चुनौती भनेको मान्छे ल्याबमा ल्याउनु हो । मान्छेहरूलाई ल्याबसम्म ल्याएर परीक्षण गर्नको लागि पैसा पनि खर्च हुन्छ । त्यसमाथि आजभोलि एपहरूमा हप्तै पिच्छे नयाँ अपडेटहरू आइरहेको हुन्छ, यसले गर्दा मानिसलाई बोलाएर परीक्षण गर्न पनि गाह्रो, अनि पैसा पनि धेरै लाग्ने हुदाँ यो चुनौतिपुर्ण नै थियो,’ उनले थपे ।

यसलाई कसरी सहज तरिकाबाट डेटा लिन मिल्छ र ल्याबमा आएर परीक्षण गर्ने व्यक्ति मात्र नभएर व्यापक रुपमा धेरै मानिसबीच यो उत्पादनलाई प्रयोग गर्ने सबै जनाबाट परीक्षण गरिनुपर्छ भन्ने विषयलाई लिएर उनले युएक्सक्यामको अवधारणा अगाडि बढाए ।

युनिभर्सिटी अफ लन्डनबाट इन्फर्मेशन सेक्युरिटीमा स्नातकोत्तर गरेका गुप्ताले काम सुरु गरेको दुई-तीन वर्षसम्म त आफैंले तलब नलिई काम गरे । कम्पनीमा काम गर्ने अन्य कर्मचारीलाई भने आफूले काम गरिरहेको अरुको कम्पनीबाट आएको तलबले भुक्तानी गरिरहेका थिए ।

‘उद्यमशीलताको यो बाटो त्यति सहज त थिएन । तर पहिले नै सिकेका धेरै कुराले साथ दियो,’ उनले भने, ‘कम्पनी सफल हुनु पछाडि धेरै असफलता पनि थिए । सुरुमा त काम गर्नै गाह्रो भएको थियो ।’

नेपालका केही इन्जिनियरहरूलाई टिममा लिएर उनले २०१५ मा काम त सुरु गरे, तर वैशाखको भूकम्पले लामो समयसम्म उनको काम नै रोकियो ।

सुरुवाती दिनमा युजर इन्टरफेसमा बढी फोकस भए पनि २०१८ देखि कम्पनीले आफ्नो अवधारणा नै परिवर्तन गरी प्रडक्टको डिजाइनमा मात्र नभई सम्पूर्ण गतिविधिलाई नै लक्षित गरेर कम्पनी अगाडि बढिरहेको छ ।

‘अहिले हाम्रो मुख्य प्राथमिकता भनेको मोबाइल एपमा हो । हाम्रो दैनिक जीवनसँग जोडिएको धेरै सेवा मोबाइल एपमार्फत पाइन्छ । कोभिड महामारीका कारण त झन् पुरै दैनिकी नै अनलाइनमा गएको छ,’ उनले भने, ‘खानेकुरा डेलिभरीदेखि दैनिकजसो काम मोबाइलमा नै भइरहेको हुन्छ । यसैले हामीले मोबाइल एपमा बढी ध्यान दिइरहेका छौं । प्रयोगकर्ताको अनुभवलाई क्याप्चर गरेर हामीले कसरी कम्पनीहरूलाई यसको डेटा दिने भनेर काम गरिरहेका छौं ।’

तीन देशमा मुख्य कार्यालय सहित आज युएक्सक्यामको सेवा १२० वटा देशमा फैलिएको छ । कम्पनीको भौतिक कार्यालय जर्मनी, अमेरिका र नेपालमा छ ।

नेपालको कार्यालयमा मात्रै हाल ४० जना कर्मचारीले काम गरिरहेका  छन् । युएक्सक्यामको सबैभन्दा ठूलो बजार अमेरिका, भारत लगायतका देश छन् । ओरेन्ज, डेलिभरी हिरो, ओएलएक्स, भर्जिन मोबाइल, भोडाफोन लगायत केही ठूला कम्पनीले पनि आफ्ना प्रयोगकर्ताको अनुभव बुझ्न युएक्सक्यामको सफ्टवेयर प्रयोग गरिरहेकाे गुप्ताले जानकारी दिए ।

नेपालमा भने हाल प्रडक्टका लागि बजारभन्दा पनि रोजगारीको बजारको रुपमा हेरेको गुप्ताले बताए ।

‘नेपालमा धेरै राम्रो राम्रा प्रतिभा छन् । यहाँका इन्जिनियरहरू धेरै प्रभावकारी छन् । यसैले पनि हामी यहाँको सीपलाई प्राथमिकता दिएर यहाँ रोजगारको अवसर सिर्जना गर्न चाहन्छौं,’ उनले बताए ।

आउने दिनमा सेवालाई थप विस्तार गर्दै लैजाने उनको सोच छ ।

‘भोलिको दिनमा कुनै पनि कम्पनीले मोबाइल एप बनाउनुपर्दा हामीलाई सम्झिने स्थिति सृजना गर्नुछ । अहिले हामी अझै पनि सुरुवाती चरणमा नै छौं । जुन क्षेत्रमा हामी काम गर्दैछौं, यसको बजार एकदमै ठूलो छ । त्यही भएर हामीले यसमा गर्नुपर्ने काम धेरै छन्,’ उनले भने, ‘प्रविधिको बजार व्यापक हुँदै गइरहेको छ, जसले भोलिको दिनमा काम गर्ने लागि ठूलो अवसर दिन्छ ।’

अहिले त बजारमा यस्तो सेवा दिने धेरै कम्पनी छन् । तर पनि प्रडक्ट बनाउने बेला यस्तो गर्दा राम्रो हुन्थ्यो, अथवा यस्तो गर्दा ठीक हुन्छ कि भन्ने अनुमानमा मोबाइल एप बनिहेको छ र यसमा कुनै कम्पनीले डेटाबाट परीक्षण गर्ने प्रचलन नभएको उनले बताए ।

यही कमीकाे फाइदा उठाउँदै युएक्सक्यामले यस्तो अनुमानले गर्दा कुनै कम्पनीले गलत निर्णय लिन नपरोस् र प्रडक्ट र इन्जिनियरिङ टिमको समय पनि खेर नजाओस् भनेर आफ्नो प्रडक्ट काम गरिरहेको उनले भने ।

‘कुनै पनि कम्पनीले हाम्रो सफ्टवेयर प्रयोग गरेपछि प्रयोगकर्ताले उनीहरूको प्रडक्टबाट के खोजिरहेको छ भनेर डेटा मार्फत थाहा पाउन सक्छन् । यसले गर्दा कम्पनीले के निर्णय गर्दा राम्रो हुन्छ भन्नेमा धेरै सहयोग पुग्न सक्छ । यसले समय र पैसा दुवै बचत गर्न सक्छ,’ उनले थपे ।

पछिल्लो समय बढ्दै गएको प्रविधि क्षेत्रको आकर्षणलाई लिएर उनी खुसी छन् । भन्छन्, ‘प्रविधि एउटा रोचक क्षेत्र हो । यसमा धेरै सम्भावना छन् । झन् नेपालमा त यसका लागि धेरै अवसर छ र पछिल्ला दिनमा देशमा प्रविधिमा अब्बल युवा जन्मिरहेका छन् । हामीले यस्ता युवाको सही उपयोग गर्न सक्नुपर्छ।’

सैद्धान्तिक शिक्षाको राम्रो व्यवस्था भए पनि व्यवहारिक रुपमा भने यसलाई अझै अगाडि बढाउनुपर्ने उनको धारणा छ । प्रविधि सम्बन्धी नेपालमा राम्रो शिक्षा  र पूर्वाधारको पनि विकास हुँदै गएकाले कामका अवसर वृद्धि गरिनुपर्ने उनले बताए ।

‘प्रविधि क्षेत्र एकदमै राम्रो छ । यसको भविष्य पनि राम्रो छ । यो एकदमै छिटो परिवर्तन हुने क्षेत्र हो त्यहि भएर नयाँ विद्यार्थीहरूले आफूलाई अपडेटेड राख्नपर्छ । यसको लागि बाहिरको संसारसँग जोडिनुपर्छ,’ प्रविधि क्षेत्रमा भविष्य देखेका युवाहरूलाई सुझाउदै उनले भने, ‘आफ्नो काम गर्ने दायरा देशभित्र मात्र नभई विश्वका ठूला ठूला प्रोजेक्टमा पनि संलग्न हुन सक्नुपर्छ ।’

युएक्सक्याममै संलग्न हुन चाहनेका लागि पनि नेपालमा रहेको कम्पनीले जागिरको अवसर खुलाएको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२