close

माछा मार्ने जालबाट बनेको सामसङ ग्यालेक्सी एस २२ नेपालमा, मूल्य एक लाख ७० हजारसम्म

टेकपाना टेकपाना

फागुन ११, २०७८ १३:१४

माछा मार्ने जालबाट बनेको सामसङ ग्यालेक्सी एस २२ नेपालमा, मूल्य एक लाख ७० हजारसम्म

काठमाडौं । सामसङले वातावरण प्रति उत्तरदायी हुँदै पुनः प्रयोगलाई प्राथमिकता दिएर तयार पारेको ग्यालेक्सी एस २२ सिरिज अन्तर्गतका तीन स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ नेपाल भित्र्याएको हो ।

क्यामेरामा विशेष ध्यान दिएको कम्पनीले ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मा भएको नाइटोग्राफी फिचर राखेको छ । जसले प्रयोगकर्तालाई दिनमा होस् वा रातमा जुनसुकै बेला रेकर्डिङ गर्दा पनि अगाडि पछाडि दुवै क्यामराहरुले स्पष्ट भिडियो खिच्न सकिने सुविधा दिन्छ ।

ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगापिक्सेलको मुख्य क्यामरा सहित १० मेगा पिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स पनि छ । ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ तीनै स्मार्टफोनमा पोट्रेट मोड र अटो फ्रेमिङ फिचर दिइएको छ ।

ग्यालेक्सी एस २२ अल्ट्रामा उपलब्ध एस पेन अहिलेसम्मकै अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ रहेको कम्पनीको भनाई छ । ग्यालेक्सी एस २२ सिरिजको बडी र एस पेनको भित्री खोल २० प्रतिशत पुनः प्रशोधित माछा मार्ने जालबाट बनाइएको छ ।

यस्तै प्याकेजिङमा शत प्रतिशत पुनः प्रशोधित कागज र पुनः प्रशोधित प्लाष्टिक प्रयोग गरिएको सुरक्षित फिल्म राखिएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा प्रकृतिलाई झल्काउने रंगहरू फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डी अप्सनमा उपलब्ध छ । यस्तै ग्यालेक्सी एस २२ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रंगमा उपलब्ध गराइएको छ ।

कति छ मूल्य ?

नेपाली बजारमा ग्यालेक्सी एस २२ अल्ट्राको १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य १ लाख ६९ हजार ९९९ राखिएको छ भने १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजनको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ छ ।

त्यस्तै ग्यालेक्सी एस २२ को ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यति नै र्‍याम र स्टोरेज क्षमता भएको ग्यालेक्सी एस २२ प्लसको मूल्य भने १ लाख २९ हजार ९९९ रुपैयाँ रहेको छ । ग्यालेक्सी एस २२ अल्ट्राको प्रि अर्डर गर्दा ग्यालेक्सी बडस् २ सित्तैमा पाउन सकिने सामसङ नेपालले जनाएको छ ।

यसको साटो ग्यालेक्सी वाच ४ (४७ एमएम) क्लासिक २७,००० रुपैयाँमा वा ग्यालेक्सी वाच  (४० एमएम) १३,००० रुपैयाँमा खरिद गर्न सकिनेछ । नेपालमा बुधबारदेखि कम्पनीले ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोनको प्रिअर्डर सुरु गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२