close

विज्ञान प्रविधि अनुसन्धानमा अनुदानसँगै फेलो नियुक्त गर्दै नास्ट (आवेदन दिने तरिका सहित)

टेकपाना टेकपाना

फागुन ११, २०७८ १४:१५

विज्ञान प्रविधि अनुसन्धानमा अनुदानसँगै फेलो नियुक्त गर्दै नास्ट (आवेदन दिने तरिका सहित)

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम सुरु गरेको छ । विज्ञान प्रविधि सम्बन्धी अनुसन्धानमा अनुदान दिन तथा वैज्ञानिक र प्रविधिज्ञलाई फेलोको रुपमा आवद्ध गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम घोषणा गरिएको हो । 

कार्यक्रमअन्तर्गत योगदान पुर्‍याउन इच्छुक वैज्ञानिक तथा प्रविधिज्ञहरूबाट ३० दिनभित्र बढीमा एक वर्षको अवधिभित्र सम्पन्न हुने नतिजामूलक अनुसन्धान प्रस्ताव पेश गर्न सक्नेछन् । अनुसन्धान प्रस्ताव पेश गर्दा नास्टको प्रयोगशालामा रहेर अनुसन्धान गर्ने वा अन्य वैज्ञानिक निकायमा रहेर अनुसन्धान गर्ने भन्ने विषयमा खुलाउनुपर्नेछ ।

साथै नास्टमा रहेर कार्य गर्ने वैज्ञानिक तथा प्राविधिकलाई प्रस्ताव स्वीकृत भए अनुसारको वृत्ति प्रदान गरी अनुसन्धान कार्यमा संलग्न गराइने बताइएको छ । त्यसैगरी अन्य निकायमा रहेर अनुसन्धान गर्ने स्वीकृत प्रस्तावलाई कार्यविधिअनुसार अनुदान उपलब्ध गराइनेछ ।

यसका लागि इच्छुक वैज्ञानिक तथा प्रविधिज्ञले यहाँ क्लिक गरी ई-मेलमार्फत आफ्नो अनुसन्धान प्रस्ताव नास्टलाई पठाउन सक्नेछन् । यति मात्र नभएर नास्टले इमिनेन्ट फेलो र एसोसियट फेलोको रुपमा समेत वैज्ञानिक र प्रविधिज्ञलाई आवद्ध गर्ने कार्यक्रम ल्याएको छ ।

स्वदेश तथा विदेशमा कार्यरत नेपाली नागरिक वा गैरआवासीय नेपालीले विज्ञान तथा प्रविधिको क्षेत्रमा हासिल गरेको सफलता र कार्य अनुभवको आधारमा तथा नास्टसँगको सहकार्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा पुर्‍याउन सक्ने योगदानदेखि प्रविधि हस्तान्तरणसम्मको कार्य गर्न इच्छुकले नास्ट इमिनेन्ट फेलको लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी ४० वर्ष उमेर ननाघेका विज्ञान तथा प्रविधिको क्षेत्रमा हासिल गरेको सफलता तथा नास्टसँगको सहकार्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउन इच्छुक वैज्ञानिक तथा प्रविधिज्ञलाई नास्ट एसोसियट फेलोको रुपमा आवद्ध  गराइनेछ ।

यसका लागि सम्बन्धित क्षेत्रमा हासिल गरेको उपलब्धि र आगामी दिनमा पुर्‍याउन सक्ने योगदान खुल्ने गरी आशयपत्र र वैयक्तिक विवरण ३० दिनभित्र नास्टमा पेश गर्नुपर्नेछ । नास्ट एसोसियट फेलोको लागि आशयपत्र पेश गर्न यहाँ क्लिक गरी ई-मेल पठाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३