close

रेटिङ दिएकै भरमा रिवार्ड दिने ‘मेरो रेटिङ’

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १२, २०७८ १६:४४

रेटिङ दिएकै भरमा रिवार्ड दिने ‘मेरो रेटिङ’

काठमाडौं । जमाना बदलिएको छ । प्रविधिको दुनियाँमा हरेक कुरामा परिवर्तन आइरहेको छ । गाउँ होस् या सहर, प्रविधिले नछोएको ठाउँ र व्यक्ति सायदै होलान् । यसरी नै मानिसको जीवनशैली फेरिँदैछ ।

सञ्चार गर्नमात्रै होइन, पढ्न, काम गर्न र ज्ञानगुनका कुरा सिक्न अनलाइन निकै उपयोगी माध्यम बनेको छ । पछिल्लो समयमा त आर्थिक कारोबारसमेत अनलाइनबाटै हुन थालेको छ ।

व्यवसायिक कम्पनीदेखि सार्वजनिक सेवा दिने सरकारी निकायसम्म अनलाइनमा जोडिएका छन् । यसरी इन्टरनेटमा आश्रित हुने जमात बढ्दै जाँदा एउटा कठिनाइ भने आएको छ । विशेषगरी वेबसाइट वा मोबाइल एपको संख्या धेरै हुँदा कुन गुणस्तरीय छ, कुन छैन भनेर पत्ता लगाउन प्रयोगकर्तालाई मुस्किल परेको छ ।

यसकारण सबैलाई निर्धक्क विश्वास गर्नसक्ने वातावरण छैन । यही दुविधा कम गर्न नेपालका केही युवाले एउटा प्लेटफर्म विकास गरेका छन् ।

यसको नाम हो, मेरो रेटिङ डटकम, जसले ग्राहकबाट आएको प्रतिक्रिया विश्लेषण गरी विस्तृत जानकारी दिन्छ । ग्राहकहरूकै प्रतिक्रियालाई आधार बनाई वेबसाइटको गुणात्मक विशेषता थाहा पाउन सकिन्छ ।

गोपाल पौडेल, राजकुमार श्रेष्ठ, सन्तोष खड्का र परिन लिम्बुले दुई वर्षअघि सञ्चालनमा ल्याएको स्क्राइप्ट स्पाइडर टेक्नोलोजीले ‘मेरो रेटिङ’ ल्याएको हो ।

No description available.

‘नेपालमा नै यो एउटा त्यस्तो साइट हो, जसको माध्यमबाट कुन कुरा कत्तिको उपयुक्त छ भनेर सहजै जानकारी पाउन सकिन्छ,’ सह-संस्थापक पौडेलले भने ।

यस कम्पनीले अहिले बजारमा आफ्ना दुईवटा साइट सार्वजनिक गरेको छ । एउटा ‘मेरो रेटिङ’ र अर्को ‘ट्रान्सपोर्ट नेपाल’ ।

मेरो रेटिङले प्राय सेवा प्रदायकको काम गर्छ । यस साइटका माध्यमबाट मानिसहरू कुन कुरा कत्तिको भरपर्दो छ भन्नेबारे जानकारी पाउन सक्छन् ।

हाल विभिन्न पसलमा सेवा लिएका प्रयोगकर्ताले दिएको रेटिङको जानकारी राखेको यस साइटले भविष्यमा अन्य थुप्रै कुराको पनि रेटिङ समावेश गर्ने योजना ल्याएको छ ।

‘जस्तो कुन मोबाइललाई प्रयोगकर्ताले कति रेटिङ दिएका छन्, कुन अटोमोबाइल्सलाई कस्तो रेटिङ मिलेको छ भन्नेबारे जानकारी राख्नेछाैं । कुनै सामान आवश्यक परेका प्रयोगकर्ताले सो सामान कत्तिको उपयुक्त, टिकाउ वा भरपर्दो हुन्छ भन्ने कुरा मेरो रेटिङकै माध्यमबाट थाहा पाउन सक्छन्,’ पाैडेलले भने ।

उनी अगाडि भन्छन्, ‘मानिसहरू कुनै सामान किन्न कुन पसल उपयुक्त छ भनेर जान्न धेरै वेबसाइटमा खोज्छन् । जसले गर्दा उनीहरूको समय खेर गइरहेको हुन्छ । कतिपय अवस्थामा भरपर्दो जानकारी पाउन सकिँदैन । यस्तो अवस्थामा उनीहरूका लागि मेरो रेटिङ निकै उपयुक्त विकल्प हुनसक्छ ।

ग्राहक मात्र नभइकन व्यापारीहरू पनि यसबाट लाभान्वित हुन सक्छन् । आफूले उपलब्ध गराउने सेवाका बारेमा उनीहरूले निःशुल्क प्रचार गर्न सक्छन् ।

यस साइटले रेटिङ दिएकै भरमा प्रयोगकर्तालाई रिवार्ड दिने व्यवस्था पनि ल्याएको छ । यसको माध्यमबाट मेरो रेटिङ प्रयोग गरेर रेटिङ दिने प्रयोगकर्ताका लागि विभिन्न गिभअवे, उपहार, छुट र अन्य थुप्रै इनामको व्यवस्था गरिएको छ ।

‘ग्राहकहरूको समय उनीहरूले गरेको प्रयासलाई सम्मान गर्न हामीले यो सुविधा ल्याएका हौं,’ पौडेलले सुनाए ।

‘मेरो रेटिङ’ को माध्यमबाट प्रयोगकर्ताले त्यस ठाउँमा आफूले भोगेका तिता मिठा पलहरू रेटिङमा समावेश गर्न सक्छन्, जसले गर्दा भविष्यमा त्यही कुरा विगतको सम्झना हुन सक्छ ।

अरूलाई त्यस ठाउँले कस्तो सेवा उपलब्ध गराएको छ भन्नेबारे जानकारी दिएर सहयोग गरेको अनुभूति लिन सकिन्छ । भन्नुको अर्थ, उनीहरूले दिएकै रेटिङका आधारमा अन्य प्रयोगकर्ताले कुन ठाउँ राम्रो वा सहज भन्नेबारे जानकारी पाए सहयोगी भावना विकास हुन्छ ।

त्यस्तै व्यापारीहरूले पनि आफूले दिएको सेवा ग्राहकले कत्तिको मन पराएका छन् भन्नेबारे जानकारी पाउँछन् ।

त्यसैका आधारमा आफूले कुन कुरामा ध्यान दिने भन्ने विषयबारे ज्ञान पाउँछन् । राम्रो गरेको खण्डमा उनीहरूको व्यापारको प्रचार हुन्छ । यसरी व्यापारी र ग्राहक दुवै यस सेवाबाट लाभदायी हुनसक्ने कम्पनीको भनाइ छ ।

यस कम्पनीले सञ्चालनमा ल्याएको अर्को वेबसाइट हो, ट्रान्सपोर्ट नेपाल । यातायात व्यवसायी, जो सामान ढुवानी तथा आपूर्ति गर्ने गर्छन्, उनीहरूका लागि यो वेबसाइट उपयुक्त रहेको पौडेलले जानकारी दिए ।

ढुवानी वा आपूर्ति गर्नुपर्ने सामानका लागि कस्तो गाडी (ट्रक, ट्रिपर) आवश्यक पर्छ भन्ने कुराको विश्लेषण गरेर सामान ढुवानी गर्ने ठाउँमा गाडी पठाउँछ । जसले गर्दा ढुवानीकर्ता वा आपूर्तिकर्ताले सुलभ दरमा गाडीको सेवा पाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३