close

हार्दिक श्रद्धाञ्जली सामसङ ग्यालेक्सी नोट !

टेकपाना टेकपाना

फागुन १७, २०७८ १३:३४

हार्दिक श्रद्धाञ्जली सामसङ ग्यालेक्सी नोट !

काठमाडौं । पछिल्लो दुई वर्षदेखि सामसङले आफ्नो ग्यालेक्सी नोट अन्त्य गर्ने चर्चा सुनिँदै आएको छ । अन्ततः कम्पनीले आइकनिक ब्रान्डको रुपमा स्थापित ‘ग्यालेक्सी नोट’लाई मृत्यु शैय्यामा पुर्‍याएको छ ।

मोबाइल वर्ल्ड कँग्रेस २०२२ को अन्तरवार्तामा सामसङको मोबाइल एक्सपिरियन्सका प्रमुख रोह ताइ-मूनले ग्यालेक्सी नोट ब्रान्डको भाग्यको फैसला दिएका हुन् ।

ताइ-मूनले स्पष्ट रुपमा ग्यालेक्सी नोटको फिचर तथा डिजाइन ग्यालेक्सी एस ‘अल्ट्रा’ को रुपमा रहने उल्लेख गरे, जसको सुरुवात ग्यालेक्सी एस २२ अल्ट्रासँगै भइसकेको छ ।

यो कुनै अनौठो विषय पनि होइन । किनभने ग्यालेक्सी एस २२ अल्ट्रा वास्तवमै ग्यालेक्सी नोटकै अर्को नाम भएजस्तो लाग्छ । यो फोनले रूप, अनुभव र फिचरको हिसाबले ग्यालेक्सी नोटलाई जीवित तुल्याएको छ ।

ताइ-मूनको संक्षिप्‍त वक्तव्यलाई आधार मान्ने हो भने कम्पनीले ग्यालेक्सी एस अल्ट्रा लाइनअपलाई निरन्तरता दिने अपेक्षा गर्न सकिन्छ ।

एस २२ अल्ट्रा बाहेक सामसङले नोटको विरासतलाई भविष्यमा सार्वजनिक हुने ग्यालेक्सी जेड फोल्ड ४ मा समेत कायम राख्ने चर्चा चल्न थालेको छ ।

जसमा ‘एस पेन’ का लागि छुट्टै स्टोरेज स्लट हुनेछ । आखिर जे भए पनि सामसङले राम्रो उद्देश्यका लागि आजबाट ग्यालेक्सी नोट ब्रान्डको हत्या गरेको छ । हार्दिक श्रद्धाञ्जली ! 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३