close

के हो स्विफ्ट प्रविधि ? जसमा प्रतिबन्ध लगाएर अलग्याइदैछ रुसको अर्थव्यवस्था

टेकपाना टेकपाना

फागुन १७, २०७८ २०:१०

के हो स्विफ्ट प्रविधि ? जसमा प्रतिबन्ध लगाएर अलग्याइदैछ रुसको अर्थव्यवस्था

काठमाडौं । पछिल्लो समय पश्चिमा देशहरूले रुसलाई स्विफ्ट (SWIFT) बाट हटाउनुपर्ने माग गरिरहेका छन् । रुसले युक्रेन माथि गरिरहेको हमलाका कारण उसले कुनै पनि भुक्तानी गर्न नसकोस् भन्ने उद्देश्यका साथ पश्चिमा देशहरूले विश्वभरका वित्तीय संस्थालाई जोड्ने म्यासेजिङ सेवा स्विफ्टमा रुसलाई प्रतिबन्ध लगाउनु पर्ने धारणा अगाडि सार्न थालेका हुन् । 

संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, बेलायत र क्यानडाले संयुक्त वक्तव्य जारी गर्दै रुसले आफ्नो छिमेकी देशमा युद्ध गरेको भन्दै केही रुसी बैंकहरूलाई स्विफ्टबाट हटाउने जानकारी दिएका छन् । 

के हो स्विफ्ट ? 

स्विफ्ट (SWIFT) ‘दि सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन’ (विश्वव्यापी अन्तर बैंक वित्तीय दूरसञ्चार समाज) को छोटकरी रूप हो । सामान्य भाषामा बुझ्दा स्विफ्ट भनेको एउटा मेसेजिङ सर्भिसमा आधारित भुक्तानी प्रणाली हो ।

जसले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूलाई आपसमा जोड्ने काम गर्दछ । सन् १९७३ मा विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले एकअर्कालाई गोप्य रुपमा सुरक्षित मेसेज तथा भुक्तानी अर्डर पठाउने कार्यको सुरुवात भएको थियो । 

विदेशमा पैसा सजिलै ट्रान्सफर गर्नुको पछाडि स्विफ्ट प्रणालीको हात छ । यो एक विशाल मेसेज नेटवर्क हो, जुन बैंक र अन्य वित्तीय संस्थाहरूबीच छिटो र सुरक्षित रूपमा रकम हस्तान्तरण गर्ने निर्देशन जस्ता जानकारीहरू आदानप्रदान गर्ने कार्यमा प्रयोग हुन्छ । 

यो प्रणाली अन्तर्गत वित्तीय संस्थाहरूले इलेक्ट्रोनिक कोडहरू प्रयोग गरेर सुरक्षित रूपमा भुक्तानी सम्बन्धी जानकारी र आदेश प्रसारण गर्छन् । 

यसले कसरी काम गर्छ ? 

स्विफ्टले प्रत्येक वित्तीय संस्थालाई आठ वा ११ अङ्कको विशेष कोड प्रदान गरेको हुन्छ । जसलाई बैंक आइडेन्टिफायर कोड (बीआईसी), स्विफ्ट कोड, स्विफ्ट आईडी अथवा आईएसओ ९३६२ कोडको रुपमा चिनिन्छ । 

उदाहरणको लागि काठमाडौंमा प्रधान कार्यालय रहेको एभरेस्टलाई आठ अङ्कको स्विफ्ट कोड ‘EVBLNPKA‘ दिइएको छ । यसको पहिलो चार अक्षर (EVBL) बैंकको नामबाट लिइएको हो भने त्यसपछिका दुई अक्षर (NP) देशको अर्थात् नेपालको नामबाट तानिएको छ ।

बाँकी दुई अक्षर ‘KA’ चाँहि सहरको पोस्टल कोडबाट राखिएको छ ।  अब यदि कसलै अमेरिकाको बैंकबाट एभरेस्ट बैंकमा पैसा पठाउनु पर्‍यो भने सोही कोड दिनुपर्ने हुन्छ ।

अमेरिकाको बैंकले नेपालको बैंकलाई सो कोड सहित सम्बन्धित व्यक्तिलाई पैसा भुक्तानी गरिदिन मेसेज पठाउँछ र यही कोडको आधारमा सम्बन्धित व्यक्तिले पैसा प्राप्त गर्छ । 

आजको दिनमा विश्वभरका ११ हजार बैंक तथा वित्तीय संस्थाहरू स्विफ्टमा जोडिएका छन् । स्विफ्टको माध्यमबाट विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले एक ठाउँबाट अर्को ठाउँमा पैसाको कारोबार गर्ने भन्दा पनि यसको माध्यमबाट एकअर्कालाई पैसा कसरी ट्रान्सफर गर्ने भन्ने विषयमा निर्देशन दिने गर्दछन् ।

विश्वको वित्तीय बजारलाई चलायमान राख्नको लागि स्विफ्टको सुरुवात भएको हो । यसको अर्थ कुनै देशलाई यो प्रणालीबाट बञ्चित गर्नु भनेको आर्थिक गतिविधिमा प्रतिबन्ध लगाउने एउटा विकल्प हो ।

किनभने स्विफ्टमा प्रतिबन्ध लाग्ने वित्तिकै कुनै पनि बैंकले आफ्नो वित्तीय कारोबार गर्न सक्दैन । प्रतिबन्धित बैंकहरूलाई पैसा पठाउन मात्र होइन, उक्त बैंकका ग्राहकहरूले पनि आफ्नो कारोबार गर्न असर्मर्थ हुन्छन् । 

यसले रुसी बैंकहरूको आर्थिक कारोबारमा ठूलो असर पार्न सक्छ । सम्पूर्ण बैंकहरूमा नै प्रतिबन्ध लगाउदाँ धेरै ठूलो प्रभाव पर्ने भएकाले केही सीमित बैंकहरूमा मात्र प्रतिबन्ध लगाउन खोजिएको हो । 

यस अघि सन् २०१२ मा पनि इरानका केही बैंकहरूलाई पनि स्विफ्टमा प्रतिबन्ध लगाइएको थियो । यसले गर्दा इरानको तेल निर्यातको आम्दानी आधाले घटेको थियो भने वैदेशिक व्यापार ३० प्रतिशतले गुमेको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३