close

जिमेलमा आउने ई-मेलका लागि यसरी सेट गर्नुहोस् अटोमेटिक रिप्लाई

टेकपाना टेकपाना

फागुन २०, २०७८ १४:११

जिमेलमा आउने ई-मेलका लागि यसरी सेट गर्नुहोस् अटोमेटिक रिप्लाई

काठमाडौं । कुनै व्यवसायिक अथवा व्यक्तिगत ई-मेल पठाउँदा, सेन्ड बटनमा क्लिक गर्ने बित्तिकै उक्त ई-मेलको रिप्लाई आएको कुरा तपाईँले पनि याद गर्नुभएको होला । यसरी नै तपाईँले  पनि ई-मेल प्राप्त गर्ने बित्तिकै स्वतः रुपमा प्रतिक्रिया दिन सक्नुहुन्छ ।

यसले तपाईँको व्यवसायिक सम्बन्ध थप बलियो बनाउन सहयोग पुर्‍याउँछ । आज हामी तपाईँलाई जिमेलमा भएको यो फिचर कसरी प्रयोग गर्ने भन्ने बारेमा बताउँदै छौँ ।

१. टेम्प्लेट इनेबल गर्नुहोस्ः 

कुनै ई-मेल आउँदा आफैँ रिप्लाई हुने फिचर इनेबल गर्नुभन्दा अगाडि ई-मेलको टेम्प्लेट इनेबल गर्न जरुरी हुन्छ । किन भने यसरी आफैँ जाने रिप्लाईमा केके लेख्ने भनेर पनि निधो गर्नुपर्ने हुन्छ ।

यसका लागि सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा जिमेल खोल्नुहोस् र स्क्रिनको दायाँतिर माथि भएको सेटिङको आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि ‘सि अल सेटिङ’ मा क्लिक गरेर ‘एडभान्स’ अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईँले विभिन्न अप्सनहरू देख्न सक्नुहुनेछ । ती मध्ये टेम्प्लेट अप्सनमा क्लिक गर्नहोस् र थोरै स्क्रोल गरेर ‘सेभ चेन्जेस’ मा क्लिक गरी आफ्नो सेटिङ सेभ गर्नुहोस् । 

२. टेम्प्लेट तयार गर्नुहोस् 

टेम्प्लेट इनेबल गरिसकेपछि सधैँ झै ई-मेल पठाउनको लागि स्क्रिनको माथि बायाँतिर भएको ‘कम्पोज’ मा क्लिक गर्नुहोस् । त्यसपछि मेसेज बक्स ओपन हुन्छ र मेसेज बक्सको तलपट्टि दायाँ तिर रहेको तीनओटा थोप्लामा क्लिक गर्नुहोस् ।

त्यहाँ पपअप बक्समा आउने टेम्प्लेटमा क्लिक गरेर ‘सेभ ड्राफ्ट एज टेम्प्लेट’ मा क्लिक गर्नुहोस् । अब ‘सेभ एज न्यु टेम्प्लेट’ अप्सनमा क्लिक गर्नुहोस् । यसपछि एउटा सानो बक्स आउँछ, जहाँ तपाईँ आफ्नो मेसेज टाइप गर्न सक्नुहुन्छ । 

३. अटोमेटेड फिल्टर सेटअप गर्नुहोस् 

आफ्नो टेम्प्लेट तयार भइसकेपछि स्वतः मेसेज पठाउनको लागि अटोमेटेड फिल्टर सेटअप गर्नुपर्ने हुन्छ । यसका लागि पुनः सेटिङमा गएर ‘सि अल सेटिङ’ मा क्लिक गर्नुहोस् र ‘फिल्टर्स एन्ड ब्लक्ड एड्रेस’ मा क्लिक गर्नुहोस् ।

त्यसपछि ‘क्रियट अ न्यु फिल्टर’ मा क्लिक गर्नुहोस् र आवश्यक विवरण भरेर ‘क्रियट फिल्टर’ अप्सनमा क्लिक गर्नुहोस् । यसपछि स्क्रिनमा आउने विभिन्न अप्सनहरू मध्ये ‘सेन्ड टेम्प्लेट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२