close

आईटीमा दक्ष जनशक्ति उत्पादन गर्न चाँगुनारायण र लर्ड बुद्ध एजुकेसनबीच समझदारी

टेकपाना टेकपाना

फागुन २१, २०७८ ८:४४

आईटीमा दक्ष जनशक्ति उत्पादन गर्न चाँगुनारायण र लर्ड बुद्ध एजुकेसनबीच समझदारी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजसँग सहकार्य गरको छ । यस अन्तर्गत प्रत्येक शैक्षिक सत्रमा बीएससी आईटी पढ्ने तीन जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति, तीन जनालाई  ५० प्रतिशत छात्रवृत्ति र  दश भन्दा बढी विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान  गरिनेछ ।

नगरपालिकामा दक्ष प्राविधिक जनशक्ति वृद्धि गर्ने,  डिजिटल चाँगुनारायण निर्माणमा सहकार्य गर्ने, स्वदेशमा उत्पादित दक्ष जनशक्तिलाई स्थानीय सेवामा पँहुच पुर्‍याउने, न्यून आय भएका परिवारका जेहेन्ददार विद्यार्थीहरूलाई उच्च प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्ने, डिजिटल चाँगुनारायण एवं प्रविधिमैत्री सेवा प्रवाहमा दक्ष जनशक्तिको उपयोग गर्ने उद्देश्यका साथ यो सहकार्य भएको हो ।

छात्रवृत्तिका साथै कलेजको सहकार्यमा नगरले क्यारियर काउन्सिलिङ एवं अन्य क्षमता अभिवृद्धि तालिम समेत संचालन गर्नेछ । यसैगरी लर्डबुद्ध कलेजबाट उत्पादित विद्यार्थीहरूलाई नगरपालिका र यस अन्तगतका निकायहरूमा  इन्टर्नसिप प्रदान गरिनेछ ।

लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले चाँगुनारायण नगरपालिकाले सूचना प्रविधि क्षेत्रमा गरेका असल प्रयासहरूलाई समुदायमा अझ मजबुत तरिकाबाट कार्यान्वयन गर्न गराउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने र त्यसका लागि अन्य नगरपालिकासँग पनि सहकार्य रहने बताए । 

नगर प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिका अन्य क्षेत्र जस्तै सूचना प्रविधिको क्षेत्रमा पनि अग्रणी नगरको रुपमा कार्य गर्दै आइरहेको र सूचना प्रविधिको प्रयोगबाट हाल वडा कार्यालय तथा नगरपालिकामा लाग्ने गरेको भिडलाई क्रमश घटाउने लक्ष्यमा रहेको बताए ।

चाँगुनारायण नगरपालिकाले विकास गरेको ओपन डेटा प्लेटफर्म विश्वकै उत्कृष्ट १० शहरमा छनौट भएको छ । जुन नेपालकै पहिलो ओपन डेटा पोर्टल हो ।

सूचना प्रविधिमा धेरै बजेट विनियोजन गरि शत प्रतिशत खर्च गर्नेमा चाँगुनारायण नेपालकै पहिलो नगरपालिका भएको समेत मेयर मिश्रले बताए । गत आर्थिक वर्षमा मात्र चाँगुनारायण नगरपालिकाले यसक्षेत्रमा १ करोड ६२ लाख बजेट विनियोजन गरि शतप्रतिशत खर्च गर्न सफल भएको थियो ।

यसैगरी चालु आर्थिक वर्ष यस शीर्षकमा एक करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसै दिशामा अघि बढ्न सके चाँगु नारायण नगरपालिका दक्ष जनशक्तिको हब बन्ने दिशातर्फ रहेको मिश्रको भनाई थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२