close

आफ्नो छुट्टै डिजिटल वालेट सञ्चालनमा ल्याउँदै हाम्रो पात्रो, के होला नाम ?

टेकपाना टेकपाना

फागुन २१, २०७८ १३:२६

आफ्नो छुट्टै डिजिटल वालेट सञ्चालनमा ल्याउँदै हाम्रो पात्रो, के होला नाम ?

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रोपात्रोले अब आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ । सुपर एप बन्ने दिशामा रहेको एपले त्यसलाई प्रभावकारी बनाउन भुक्तानी सेवाको क्षेत्रमा हात हालेको हो ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकका लागि नयाँ लाइसेन्स जारी गर्न बन्द गरिसकेको अवस्थामा हाम्रो पात्रोले यसअघि नै अस्तित्वमा रहेको लेनदेन सेवा खरिद गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । हाम्रोपात्रो इंकले आफ्नो ७५ प्रतिशत शेयर स्वामित्व रहने गरी उक्त भुक्तानी सेवाप्रदायकमा लगानी गरेको हो ।

जारी अनुमतिपत्र बिक्री गर्न नपाउने राष्ट्र बैंकको नियमका कारण अधिकांश शेयर लगानीको रुपमा हाम्रो पात्रोले डिजिटल वालेट आफ्नो बनाएको हो । स्रोतका अनुसार लेनदेन सेवामा हाम्रोपात्रोको लगानीलाई राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ ।

काठमाडौंको टेकुमा केन्द्रिय कार्यालय रहेको लेनदेन सेवाले २० माघ २०७७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाको अनुमतिपत्र पाएको थियो ।

यसअघि एक करोड रहेको कम्पनीको चुक्ता पूँजी हाम्रो पात्रोको प्रवेशसँगै बढ्नेछ । वालेट खरिद गरेसँगै त्यसलाई अब नयाँ स्वरूपमा रिब्रान्डिङ गर्ने योजनामा हाम्रोपात्रो रहेको बुझिएको छ ।

सम्भवतः अब लेनदेन सेवाको नाम समेत परिवर्तन गरी ‘हाम्रो पे’ बन्नेछ । त्यसो त यस अघि नै कम्पनीका बोर्ड अफ डिरेक्टरका अध्यक्ष रुद्र पाण्डेले हाम्रो पात्रो अब सुपर एप बन्ने र त्यसमा डिजिटल वालेट समेत समावेश गर्ने उल्लेख गरेका थिए ।

हाम्रो पात्रोमा हाल हाम्रो ज्योतिष, टेलिहेल्थ (हाम्रोपात्रो हेल्थ), ईकमर्स (हाम्रो गिफ्ट) र रेमिट्यान्स सेवा उपलब्ध छन् । यस हिसाबले हाम्रो पात्रोको डिजिटल वालेट सुरुवाती तवरमा यिनै सेवाहरूमा केन्द्रित हुने अनुमान गर्न सकिन्छ ।

यस बाहेक विभिन्न एपहरूलाई मिनी एपको रुपमा हाम्रो पात्रोमै समावेश गर्ने योजना कम्पनीका संस्थापक शङ्कर उप्रेतीले बताउँदै आएका छन् । ती एपहरूमा समेत हाम्रो पात्रोकै वालेटबाट भुक्तानी सहज हुनेछ ।

२७ ओटा डिजिटल वालेट रहेको बजारमा आफ्नो फरक पहिचान बनाउन हाम्रोपात्रोलाई त्यति सहज भने हुने छैन । यद्यपि आफ्नो छुट्टै इकोसिस्टम बनाउँदै अघि बढिरहेको कम्पनीलाई विद्यमान सेवाहरू प्रभावकारी बनाउन भने त्यसले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२