close

लिनक्स किन प्रयोग गर्ने ?

टेकपाना टेकपाना

फागुन २८, २०७८ ११:४२

लिनक्स किन प्रयोग गर्ने ?

काठमाडौं । स्मार्टफोनदेखि कार, सुपरकम्प्युटर तथा घरेलु उपकरण, पर्सनल पीसीदेखि इन्टरप्राइज सर्भर सबैतिर लिनक्स अपरेटिङ सिस्टम छ । यसलाई १९९० को मध्यतिर फिनल्याण्डका सफ्टवेयर इन्जिनियर लिनस टोर्भाल्ड्सले सुरु गरेका हुन् ।

हाल लिनक्सको युजरबेस विश्वभरी नै छ । यो तपाईंको फोन, थर्मोस्ट्याट, कार, रेफ्रिजिरेटर, रोकु डिभाइसदेखि टेलिभिजन सबैतिर हुन्छ । यो विश्वभरका अधिकांश इन्टरनेटमा प्रयोग भइरहेको छ ।

विश्वका शीर्ष पाँच सय सुपरकम्प्युटर लगायत वर्ल्ड स्टक एक्सचेन्ज समेत गरी सबैमा यो प्रयोग भइरहेको छ । लिनक्स विश्वभरका डेस्कटप, सर्भर तथा इम्बेडेड सिस्टमलाई रन गर्ने प्लेटफर्म मात्र होइन । यो त वास्तवमा एकदमै विश्वासनीय, सुरक्षित तथा सजिलो अपरेटिङ सिस्टम हो ।

विण्डोज, आईओएस, म्याक ओएसजस्तै लिनक्स पनि एक प्रकारको अपरेटिङ सिस्टम नै हो । वास्तवमा विश्वका लोकप्रिय तथा शक्तिशाली प्लेटफर्मध्ये एक एन्ड्रोइड पनि लिनक्सबाट पावर्ड छ ।

अपरेटिङ सिस्टम भनेको एउटा सफ्टवेयर हो, जसले डेस्कटप वा ल्यापटपसँग सम्बन्धित सम्पूर्ण हार्डवेयर संसाधनलाई व्यवस्थापन गरिदिन्छ । सामान्य अर्थमा भन्नुपर्दा यसले तपाईंको सफ्टवेयर र हार्डवेयरबीचको सञ्चारलाई व्यवस्थापन गर्दछ ।

ओएस बिना कुनै पनि सफ्टवेयरले काम गर्न सक्दैन । किन प्रयोग गर्ने त लिनक्स ? अधिकांश डिभाइसहरु एन्ड्रोइड, आईओएस तथा विण्डोजजस्ता डिभाइसहरुमा काम गरिरहँदा हामीले छुट्टै इकोसिस्टममा किन काम गर्ने भन्ने कतिले प्रश्न उठाउन सक्लान् ।

यो प्रश्न जायज पनि छ । तर तपाईंले हाल प्रयोग गरिरहेको अपरेटिङ सिस्टमले राम्रो काम गरिरहेको छ त ? त्यहाँ तपाईंले भाइरस, माल्वेयर, स्लो डाउन, क्र्यास, महङ्गो मर्मत तथा लाइसेन्सिङ शुल्कको सामना गर्नुपरेको छैन र ?

यदि तपाईं माथि उल्लेख गरिएजस्तै कुराहरुसँग लडिरहनु भएको छ भने लिनक्स तपाईंका लागि सबैभन्दा उत्तम प्लेटफर्म हुनसक्छ । यसैले गर्दा लिनक्स अहिलेसम्म उपलब्ध विश्वको सबैभन्दा विश्वसनीय र सुरक्षित कम्प्युटर इकोसिस्टम हो ।

शुन्य शुल्क पर्ने यो सिस्टम एकदमै विश्वासनीय र सुरक्षित सोल्युसन मानिन्छ । ओपन सोर्स लिनक्स ओपन सोर्स लाइसेन्स अन्तर्गत वितरण हुन्छ । यो ओपनसोर्स हुने भएका कारण यसमा जुनसुकै प्रोग्राम जुनसुकै प्रयोजनका लागि जुनसुकै व्यक्तिले निशुल्क रन गर्न पाउँछन् ।

यसमा रहेका प्रोग्रामले कसरी काम गर्छ भन्ने कुरा खुल्लारुपमा अध्ययन गर्न सकिन्छ । साथै इच्छाएको खण्डमा कोडहरु परिवर्तनसमेत गर्न सकिन्छ । यसका कपीलाई वितरण गर्नुका साथै आफूले परिवर्तन गरी मोडिफाइड कपी भर्सनलाई समेत वितरण गर्ने स्वतन्त्रता यसले दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२