close

साना उद्यमी र किसानलाई डिजिटल ऋणमा सहजीकरण गर्ने स्टार्टअप

अर्पना आले मगर अर्पना आले मगर

फागुन २८, २०७८ १८:४

साना उद्यमी र किसानलाई डिजिटल ऋणमा सहजीकरण गर्ने स्टार्टअप

काठमाडौं । २१औं शताब्दीको यो समयसम्म आइपुग्दा प्रविधि हाम्रो अभिन्न अंग बनिसकेको छ । हरेक पाइला पाइलामा हामी प्रविधिमा निर्भर भइसक्यौं । जान्ने बुझ्नेहरूका लागि प्रविधिले दैनिकी जति सरल बनाइदिएको छ, केही थाहा नहुनेहरूका लागि प्रविधि उति नै जटिल छ ।

विहान काम गरेर बेलुकाको छाक टार्नेहरुलाई त झन् यसको उपयोग कसरी गर्न सकिन्छ भन्ने हेक्कासम्म हुन्न । विशेषगरी नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि धेरै महिलालाई आफ्नो हक अधिकार तथा सरकारले दिने सुविधाको बारेमा थाहा छैन । सामान्य महिलाहरुलाई त झन् थाहा हुनै कुरै भएन ।

आफ्नो खुट्टामा आफैं उभिन चाहने महिलाका लागि बैंकहरूले व्यवस्थापन गरेको ऋणको विषयमा अहिले पनि धेरै महिला अनभिज्ञ नै छन् । यही सामान्य मान्छेको ज्ञान र प्रविधिको उपयोगबीचको दूरी मेटाउने कम्पनी हो ‘एलोई’ ।

३२ वर्षीया कम्प्युटर इन्जिनियर सोनिका मानन्धर आफ्ना सहसंस्थापक हङकङका नागरिक टिफ्यानी टङसँगको सहकार्यमा यसरी नै महिला उद्यमीहरूका लागि भनेर डिजिटल लोन अर्थात विद्युतीय माध्यमबाट लिने ऋणको व्यवस्था गरिदिने सोचसहित एलोईलाई अगाडि बढाइरहेकी छिन् ।

एलोईले महिला उद्यमी विशेष गरी विद्युतीय टेम्पो चालक र कृषिमा काम गरिरहेका महिलालाई डिजिटल लोन अर्थात डिजिटल रुपमा ऋण प्राप्त गर्न सहयोग गरिरहेको छ । शाब्दिक अर्थको हिसाबले हेर्दा एलोई भनेको कुनै वस्तुलाई बलियो बनाउन दुईवटा धातुको प्रयोग गरेर अथवा मिश्रणबाट बनेको एउटा मेटल हो ।

यही कुरालाई व्यवसायिक रुपमा दुई पक्ष मिलेर बलियो बन्ने अर्थसहित कम्पनीको नाम एलोई रहन गयो । ‘हामीले वित्तीय कारोबारलाई प्रविधिसँग जोडेर एउटा उत्कृष्ट सेवा दिने उद्देश्यले यो कम्पनीको सुरुवात गरेको भएर यस्तै अर्थ दिने खालको नाम दिन हामीले एलोई नाम जुराएका हौं,’ उनले बताइन् ।

नाम त जुराइयो । तर नाम कै कारण बजारमा चिनिन भने कम्पनीलाई धेरै गाह्रो पर्‍यो । सामान्य पृष्ठभुमिबाट भएका मानिसलाई कम्पनीको कामभन्दा अगाडि नामको बारेमा बुझाउनु परेको उनले बताइन् । सन् २०१७ मा मानन्धर अमेरिकाको सिलिकन भ्यालीमा रहँदा उनले कम्पनीको सहसंस्थापकलाई भेटेका थिए ।

दुवैको सोच थियो सामान्य पृष्ठभुमिबाट आएका मानिसका लागि केही प्रभावकारी गर्ने । ‘हुन त त्यो समयमा प्रविधिको क्षेत्रले यति धेरै फड्को मारिसकेको थियो कि, हामी रोबोटिक्स लगायत कुनै पनि क्षेत्रमा काम गर्न सक्थ्यौं,’ उनले भनिन्, ‘तर हामी सानो क्षेत्रमा ठूलो प्रभाव पार्न काम गर्न चाहन्थ्यौं । दुवैजनाको सोच मिलेपछि सहकार्य गर्ने सोचसहित हामी अगाडि बढ्यौं ।’

सहकार्यको वातावरण बनिसकेपछि उनीहरूले काम गर्ने क्षेत्रमा लाग्न थाले । सामान्य मानिसका लागि केही गर्ने सोचमा यो टोलीले सुरुमा किसानका लागि केही गर्ने सोचे ।

‘कृषि क्षेत्रमा काम गर्‍यौं भने सामान्य स्तरका मानिससम्म पुग्न सकिन्छ भन्ने सल्लाह भएपछि हामीले माटो परीक्षण गर्ने प्रविधिको विषयमा काम गर्न सुरु गर्‍यौं,’ उनले भनिन्, ‘तर यो प्रविधि एउटा किसानका लागि धेरै महँगो पर्ने देखियो । आर्थिक हिसाबले हेर्दा सामान्य मानिसको मुख्य समस्या लगानी जुटाउनु अथवा पैसा नै उनीहरूका लागि मुख्य समस्या रहेछ भन्ने हामीलाई महसुस भयो ।’

यसपछि कम्पनीले आफ्नो बाटो फेर्‍यो । केही समयको अध्ययनपछि सोनिका र उनकी सहसंस्थापक टिफ्यानीले कुनै पनि काम गर्नको लागि सुरुमा आवश्यक हुने पैसा जुटाउन मानिसहरूलाई मद्दत गर्नु उपयोगी हुने देखेपछि सन् २०१८ देखि एलोईको सुरुवात गरे ।

आफूहरूले काम गर्ने क्षेत्रलाई विशिष्टिकृत गर्ने क्रममा उनले कृषि र सवारी (विशेषगरी विद्युतीय गाडी) मा काम गर्ने सोच बनाइन् । यो सोच उनलाई त्यत्तिकै आएको थिएन । सानो लगानीबाट सुरु भएको उनको बुवाको व्यवसायिक यात्राले उनलाई यो क्षेत्रमा नै काम गर्न प्रेरणा दिएको थियो ।

‘म पाँच वर्षकी थिएँ, जब मेरो बुवाले सरकारले दिने ऋणबाट मिनिबस किनेर आफ्नो व्यवसाय सुरु गर्नुभएको थियो,’ आफ्नो पुरानो दिन सम्झँदै सोनिका भन्छिन्, ‘यसले गर्दा पनि मलाई एउटा साना व्यवसायीका लागि सहुलियतपूर्ण ऋण कति महत्त्वपूर्ण छ भन्ने बुझ्न कठिन भएन । अनि साना व्यवसायिको लागि केही गरौं भन्ने उद्देश्य सहित मेरो एलोईको यात्रा सुरु भयो ।’

यसपछि एलोईले नेपालमा विद्यु्तीय गाडीमा केन्द्रित हुने निर्णय गर्यो, जसका लागि कम्पनीको पहिलो छनौट थियो सफा टेम्पो । तर यात्रा सोचेजति सहज थिएन । त्यसमाथि सामान्य मानिसलाई प्रविधिको बारेमा बुझाउनु कम्पनीको लागि छुट्टै चुनौती थियो । २०१९ देखि सोनिका लागिन् उद्यमीको समस्या बुझ्न ।

टेम्पाे चालिकासँग कुराकानी गर्दै साेनिका

‘आफूहरूले समाधान दिनेभन्दा अगाडि समस्या के हो भनेर बुझ्नु जरुरी थियो । त्यसैले सुरुमा फिल्डमा नै गएर सफा टेम्पो चालकहरूको समस्या के छ भनेर बुझ्न गयौं,’ उनले भनिन्, ‘धेरै जनासँग कुरा गर्दा थाहा भयो कि मुख्य समस्या पैसा नै रहेछ ।ब्याट्री फेर्नु अर्को मुख्य समस्या रहेछ ।

यस्तोमा बैंकले ऋण नदिने समस्या पनि भेटियो । दोस्रो समस्या थियो प्रविधिको । मान्छेहरूले सामान्य रुपमा एसएमएस गर्न पनि जानेका हुँदैनन् । एसएमएस गर्न सिकाउनु पनि हाम्रो एउटा जिम्मेवारी थियो, जसका लागि हामीले धेरै काम गर्यौं ।’

एपबाट डराउने, इन्टरनेट चलाउन आउँदैन अथवा डेटा धेरै जान्छ भन्ने कुरा धेरै सामान्य मान्छेमा रहेको उनले सुनाइन् । त्यही भएर कम्पनीले सुरुमा एसएमएस नै प्रयोग गर्न पनि सिकायो ।

‘प्रयोगकर्ताको सहजतालाई हेरेर हामीले हाम्रो प्रविधिलाई पनि परिवर्तन गरिरहेका छौं । अहिले चाहिँ अफलाइन एप पनि सञ्चालनमा आइसकेको छ । हाम्रो सिस्टम स्मार्टफोनदेखि फिचर्ड फोनसम्ममा प्रयोग गर्न सकिन्छ,’ उनले बताइन् ।

लगानी जुटाउने पनि सोचियो, प्रविधि पनि सिकाइयो । तर समस्या यहाँ ऋणीको मात्र छैन । समस्या त ऋण दिने बैंक अथवा लगानीकर्ताको पनि छ । अहिले पनि डिजिटल लेन्डिङ चलिरहेको छ, तर ऋण दिइसकेपछि त्यो पैसा कहाँ जान्छ, अथवा ठीक ठाउँमा जान्छ वा जादैन भन्ने कुरामा समस्या नै रहेको उनको अनुभव छ ।

यो कुरालाई पनि सम्बोधन गर्नेगरी फिनटेक प्लेटफर्मको हैसियतले एलोईले व्यवसायमा भएको लगानीलाई सही ढंगले सदुपयोग गर्न व्यवस्थापन गर्ने सोनिकाले जानकारी दिइन् । एलोईको सेवा अन्तर्गत कम्पनीले आफ्नो सहकार्यमा रहेको बैंक तथा वित्तीय संस्थाबाट महिला उद्यमीहरूलाई ऋण उपलब्ध गराउन सहयोग गर्छ ।

‘हाम्रो डिजिटल ऋणको सेवा एउटा इकोसिस्टम (पारिस्थितिक प्रणाली) मा चल्छ, जहाँ उद्यमी, एलोई, बैंक तथा वित्तीय संस्था र विक्रेता हुन्छन्,’ सोनिकाले भनिन्, ‘ऋणको आवश्यकता भएको व्यक्ति हामीसँग आउँछन् र हामीले आवश्यक कागजात संकलन गरेर हामीसँग सम्बन्धित बैंक तथा वित्तिय संस्थामा लैजान्छौं । बैंकले उक्त कागजातको प्रक्रिया पुरा गरेपछि ऋण प्राप्त भएको कुरा सम्बन्धित व्यक्तिलाई म्यासेज मार्फत जानकारी दिन्छ र ऋणको रकम बराबरको टोकन म्यासेज मार्फत नै व्यक्तिलाई उपलब्ध गराउँछ । सो टोकन लिएर ऋणी हामीसँग सम्बद्ध विक्रेताकोमा जान्छ र सामान खरिद गर्न सक्छन् ।’

टेम्पाे चालिकाका लागि डिजिटल टाेकनबारे तालिम हुँदै

उदाहरणका लागि एक जना सफा टेम्पो व्यवसायीलाई आफ्नो टेम्पोमा ब्याट्री परिवर्तन गर्नुपर्‍यो र नयाँ ब्याट्री खरिद गर्न ऋणको आवश्यकता परेको छ भने एलोई मार्फत ऋणका लागि आवेदन दिन सक्छन् । एलोईले आवश्यक प्रक्रिया पुरा गरी कम्पनी सम्बद्ध बैंक तथा वित्तीय संस्थासँग ऋणका लागि आवेदन दिन्छ ।

ऋणी व्यक्तिको ऋणको इतिहास तथा अन्य आवश्यक कागजातहरू भेरिफाइ गरी बैंकले ऋणका लागि स्वीकृति दिन्छ र एलोईले बनाएको टोकन ऋणीको मोबाइलमा म्यासेज मार्फत पठाइन्छ । सो टोकन लिएर एलोई सम्बद्ध बिक्रेताकोमा गएर ऋणीले आफ्नो लागि नयाँ ब्याट्री खरिद गर्न सक्नेछन् ।

यसपछि सो टोकन लिएर विक्रेता सम्बन्धित बैंकमा जान्छन् र टोकन बराबरको रकम झिकेर ल्याउन सक्छन् । ‘यो प्रक्रियाले बैंक तथा वित्तीय संस्थाको ऋण पनि दुरुपयोग नभएको सुनिश्चित हुन्छ भने उद्यमीहरूका लागि पनि ऋण प्राप्त गर्न सहज हुन्छ,’ उनले थपिन् । यद्यपि कतिपय अवस्थामा टोकन प्रयोग नहुने देखिएपछि भने कम्पनीले नगद पनि उपलब्ध गराउने व्यवस्था थप गरेको छ ।

‘कृषिमा संलग्न उद्यमीका लागि भने यो टोकन प्रणाली अलि सहज नभए जस्तो देखियो । खेतमा काम गर्ने मजदुरहरूलाई दिनुपर्ने पैसादेखि खाजा खर्च जस्ता सामान्य खर्चका लागि टोकन उपयुक्त देखिएन । यसलाई सहज बनाउन केही रकम दिने र केही चाहिँ आवश्यक रकम बराबरको टोकन उपलब्ध गराउने व्यवस्था गरेका छौं,’ सोनिकाले बताइन् ।

यसैगरी पहिलोपटक ऋण लिनेलाई पनि कम्पनीले सहयोग गर्ने उनलाई बताइन् । यो सेवाले गर्दा ऋणीहरूको बैकिङ कारोबारको गतिविधि डिजिटल रुपमा रेकर्ड रहँदा भविष्यका लागि पनि फाइदा हुने उनको विश्वास छ ।

हाल बैंकहरूले विद्युतीय गाडीको ब्याट्री खरिदका लागि बिना धितो ऋण उपलब्ध गराइरहेको छ । यसको फाइदा धेरै सफा टेम्पो चलाउने महिलाहरूले एलोई मार्फत लिन सकेको उनले बताइन् । यसरी प्राप्त ऋण, ऋणी आफैंले बैंकमा गएर नगद जम्मा गरेर फिर्ता गर्न सक्नेछन् ।

विद्युतीय टेम्पोको हकमा भने ऋण तिर्ने प्रक्रिया अलिक फरक छ । ‘ऋण लिने व्यक्तिले ऋण निकाल्नुभन्दा अगाडि नै कुनै एउटा सहकारीमा प्रति दिन केही रकम जम्मा गर्ने सम्झौता गरेको हुन्छ । यसरी उक्त ऋणीले जम्मा गरेको रकम सहकारीले बैंकमा लगेर ऋणको किस्ता तिर्दिन्छ, ’ उनले बताइन् ।

एलोईका संस्थापक साेनिका मानन्धर र टिफ्यानी टङ

हालसम्म एलोई एउटा वाणिज्य बैंक, एउटा लघुवित्त वित्तिय संस्था र चारवटा सहकारी संस्थाका साथै ५६ जना विक्रेतासँग जोडिएर काम गरिरहेको छ । हालै मात्र नेशनल माइक्रोफाइनान्ससँग पनि कम्पनीले सम्झौता गरेको छ ।

‘डिजिटल ऋण भुक्तानी नै अबको भविष्य हो । नेपाल राष्ट्र बैंकले डिजिटल ऋणका लागि पनि निर्देशन जारी गरेको छ । हाम्रो सफ्टवेयरले बैंकलाई पनि आफ्नो ऋण सही ठाउँमा उपयोग भइरहेको र ऋण चुक्ताको पनि प्रत्याभूत गराउँछ भने ऋण आवश्यक भएका व्यक्तिका लागि पनि सहज रुपमा ऋण उपलब्ध गराउन सक्छ,’ उनले बताइन् ।

यद्यपि कम्पनीको लक्ष्य डिजिटल ऋणलाई प्रवर्द्धन गर्नु मात्र होइन । कम्पनीले आउने दिनमा अझै धेरै मानिसहरूलाई यस विषयमा तालिम दिने लगायतको तयारी पनि गरिरहेको छ । यसका लागि कम्पनीले अन्य विभिन्न संस्थासँग पनि सहकार्य गरेको सोनिकाले सुनाइन् ।

एलोई टिम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२