close

नयाँ फोनमा पुराना डेटा सार्ने स्मार्ट तरिका

हरिजङ्ग थापा हरिजङ्ग थापा

फागुन २८, २०७८ २२:८

नयाँ फोनमा पुराना डेटा सार्ने स्मार्ट तरिका

काठमाडौं । सामसङको नयाँ ग्यालेक्सी फोन किन्नुभयो । फोन नयाँ किने पनि कतिपय महत्वपूर्ण डेटा पुरानो मोबाइलमा हुन्छ । जस्तै एप्स, कन्ट्याक्ट, म्यासेज, फोटो, म्युजिक, भिडिओ । यस्ता डेटा हामीलाई जुनसुकै बेला चाहिन सक्छ ।

त्यसैले नयाँ स्मार्टफोनमा पुरानो डेटा सजिलै ट्रान्सफर अर्थात सार्नका लागि सामसङको ग्यालेक्सी फोनमा स्मार्ट स्विच भन्ने फिचर छ। जसले तपाईंको पुरानो एन्ड्रोइड वा आईओएस फोनमा भएका ‍सम्पूर्ण डेटा क्षणभरमै नयाँ ग्यालेक्सी स्मार्टफोनमा सार्न सहयोग गर्छ ।

स्मार्ट स्विच सामसङका अधिकांश ग्यालेक्सी स्मार्टफोनमा उपलब्ध छ । आईफोन होस् वा एन्ड्रोइड अथवा विन्डोज फोन नै किन नहोस् ।

यो फिचरको उपयोग गरेर हामीले सजिलै पुरानो फोनमा भएका सम्पूर्ण डेटा केही मिनेटमै नयाँ ग्यालेक्सी फोनमा ट्रान्सफर गर्न सक्छौं । सामसङ ग्यालेक्सी तथा कुनै पनि एन्ड्रोइड फोनमा भएका डेटा ट्रान्सफर गर्न यो फिचर एकदमै उपयोगी छ ।

मानिलिउँ मैले नयाँ सामसङ ग्यालेक्सी फोन किनें । यसमा मलाई पुरानो फोनको कल लग, म्यासेज, एप्लिकेशनहरु सार्न पर्‍यो । सुरुमा पुरानो फोनमा स्मार्ट स्विच अप्सन छ कि छैन चेक गर्नुपर्छ ।

मेरो अरु नै कम्पनीको एन्ड्राेइड स्मार्टफाेन हो, जसमा स्मार्ट स्विच इनब्युल्ट रुपमा छैन । त्यसैले प्लेस्टोरबाट सबैभन्दा पहिला  Smart Switch इन्स्टल गर्नुपर्छ । सामसङ ग्यालेक्सी फाेनहरुमा भने याे फिचर इनब्युल्ट नै हुन्छ ।

सेटिङमा गएर सिधै Smart Switch गर्दा पनि हुन्छ । नभए Accounts & Backup भित्र जाने बित्तिकै तपाईंले Manage Accounts सँगै Samsung Cloud र Google Drive मा डेटा ब्याकअप वा रिस्टोर गर्ने विकल्पहरु देख्नुहुन्छ । त्यसकाे मुनि चाहिँ Smart Switch को दुई वटा अप्सन देखिन्छ । 

Bring Your Data from old device र External Storage Transfer । दुवैको काम डेटा ट्रान्सफर वा रिस्टोर गर्ने नै हो। तपाईंसँग पुरानो डिभाइसमा भएको डेटा सार्न पहिलो अप्सन रोज्नुपर्छ भने यूएसबीको प्रयोग गरेर कम्प्युटर वा ल्यापटपमा  डेटा सार्नका लागि External Storage Transfer लाई छान्नुपर्छ ।

अहिले म यो नयाँ फोनमा पुरानो फोनको डेटा सार्न लाग्दैछु । त्यसैले Bring Your Data From old Device लाई छानेँ । अब यहाँ केही जानकारीहरु आउँछ, जसलाई पढेर Continue मा थिच्नुपर्छ ।

त्यसपछि फोनलाई दिनुपर्न Permission को सूची देखिन्छ । जसलाई Allow गरेपछि Send र Receive अप्सन देखा पर्छन् । पुरानो फोन पनि सामसङकै ग्यालेक्सी फोन हो भने Send मा थिच्नुपर्छ । मेरो फोनचाहिँ अरु नै कम्पनीको हो, जसले गर्दा Smart Switch App खोल्दा सेन्ड र रिसिभ अप्सन देखिँदैन ।

किनकि अर्कै कम्पनीको भएकाले यसमा डेटा रिसिभ गर्ने सिस्टम छैन । तैपनि डेटा सार्न वा ब्याकअप राख्नचाहिँ यसले काम गर्छ । Transfer Your Data को माथिपट्टि मेमाेरी कार्डको आइकन पनि छ । जहाँबाट हामीले डेटा Backup वा Restore गर्न सक्छौं ।

पुरानो फोनमा देखिएको Lets go मा थिचेपछि केवल वा वायरलेस कुन माध्यमबाट डेटा सार्ने भनेर छान्नुपर्ने हुन्छ। होइन भने केवल अप्सन छान्दा पनि हुन्छ। केबलबाट सार्ने हो भने Type-C To Type-C अर्थात दुवैतर्फ टाइप-सी भएको केबल चाहिन्छ ।

यदि आईफोनबाट डेटा सार्नुपरेको खण्डमा USB Connecter आवश्यक हुन्छ । यो फिचरको प्रयोग गरेर एन्ड्रोइड, आईओएस वा विन्डोज जुनसुकै मोबाइलको डेटा सामसङ ग्यालेक्सी फोनमा सार्न सकिन्छ । ग्यालेक्सी फोनबाट ग्यालेक्सी फोनमै सार्नका लागि त झन् यो एकदमै उपयोगी हुन्छ ।

तर ग्यालेक्सी फोनबाट अरुमा सार्न पर्‍यो भनेचाहिँ यसले काम गर्दैन । किनकि यो सामसङले आफ्ना उपभोक्ताका लागि दिएको सुविधा हो ।

अहिलेचाहिँ म वाई-फाईको सहायताले पुरानो फोनको डेटा नयाँमा सार्न लागिरहेको छु । त्यसैले वायरलेस अप्सन छानें । यसका लागि दुवै फोनमा एउटै वाई-फाई कनेक्ट भएको हुनुपर्छ ।

अब मेरो पुरानो फोनले डेटा सार्नका लागि नयाँ फोनको खोजी गर्न सुरु गरिसकेको छ । त्यसैले नयाँ फोनमा Smart Switch खोजेर Bring Your Data From Old Phone भित्र गएर Receive Data मा थिचौं ।

यहाँ कुन अपरेटिङ सिस्टम भएको डिभाइसबाट डेटा सार्ने भनेर विभिन्न अप्सन देखिन्छ । अहिलेचाहिँ म एन्ड्राेइड फोनबाट डेटा सार्न गइरहेको छु । त्यसैले सुरुकै अप्सन सेलेक्ट गरेँ । यहाँ देखिने दुई विकल्पमध्ये वायरलेस छानौं ।

अब यसले पुरानो डिभाइस कनेक्सनका लागि खोज्न सुरु गरिसकेको छ । जब दुवै फोनले एकअर्कालाई भेट्टाउँछन्, तब पुरानो फोनमा कनेक्सनको invitation आउँछ । जसलाई Accept गरेपछि दुवै फोन एकअर्कासँग जोडिन्छन् ।

अब नयाँ फोनले पुरानो फोनमा भएको डेटाहरु स्क्यान गर्छ र फाइलको डिटेलबारे जानकारी सँगाल्छ । यति भएसँगै हामीले पुरानो फोनबाट के के सार्ने भनेर छान्न सक्छौं ।

सबै डेटा सार्ने हो भने कति जीबीको छ र त्यसको लागि कति समय लाग्छ सुरुमै देखिन्छ । जुन डिफल्ट रुपमा सेलेक्ट भएर बसेको हुन्छ । पुरानो फोनमा रहेको अकाउन्ट, कल लग, कन्ट्याक्ट र मेसेज मात्रै सार्ने हो भने दोश्रो विकल्प छान्न सकिन्छ ।

फाइल र एपहरु छानेर सार्नका लागि चाहिँ Custom मा थिचेर Next गर्नुपर्छ । अब यहाँ आफ्नो आवश्यकता अनुसार एप र फाइलहरु छान्छु र पुच्छरमा रहेको Transfer माथ थिच्छु ।

यति गरेसँगै पुरानो फोनबाट डेटा Transfer को काम सुरु हुन्छ। जब यो प्रोसेस सकिन्छ नयाँ फोनले त्यसको प्रोसेसको लागि थोरै समय लिन्छ। एपहरु ट्रान्सफर गर्नुभएको छ भने इन्स्टलको लागि पनि केहि समय लाग्छ ।

जब यो सबै प्रक्रिया पुरा हुन्छ तब पुरानो फोनमा भएका सबै एप तपाईंको नयाँ फोनमा देखिन्छन्। कल डिटेल र म्यासेजहरु पनि जसरी पुरानो फोनमा बसेका थिए त्यसरी नै देखिन्छ। पुरानो फोनको सबै डेटा केहि मिनेटमा नै नयाँ फोनमा आउँछ ।

यदि तपाईंको पुरानो फोन पनि सामसङकै ग्यालेक्सी स्मार्टफोन हो भने यो फिचरले झनै मजासँग काम गर्छ। डेटामात्रै होइन वालपेपरदेखि कतिपय सेटिङसम्म जस्ताको तस्तै नयाँ फोनमा ट्रान्सफर हुन्छ ।

यो सबै गर्नका लागि इन्टरनेट अनिवार्य छैन। तर वायरलेस अप्सनबाट डेटा ट्रान्सफर गर्दा दुईमध्ये एउटा फोनचाहिँ वाई-फाई नेटवर्कमा कनेक्ट भएको हुनुपर्छ । यस्तै आइफोन वा आईप्याडबाट स्विच डेटा ट्रान्सफर गर्नका लागि चाहिँ केवल नै चाहिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२