close

युरोपेली युनियनको नयाँ निर्णयले अस्थिर बनाउन सक्छ बिटक्वाइनको बजार

टेकपाना टेकपाना

चैत २, २०७८ १२:४५

युरोपेली युनियनको नयाँ निर्णयले अस्थिर बनाउन सक्छ बिटक्वाइनको बजार

काठमाडौं । युरोपेली युनियनकाे कानून बनाउने निकाय युरोपेली संसदका सदस्यबीच आउँदो सोमबार वातावरणको विषयलाई लिएर बिटक्वाइन माइनिङमाथि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा भोटिङ हुँदैछ ।

युरोपेली युनियनको मार्केट्स ईन इकोनोमिक एन्ड मनिटरी अफ्यर्स कमिटीले मस्यौदालाई हेर्ने हो भने यसले क्रिप्टोकरेन्सीलाई अवैधानिक बनाउन सक्छ ।

मस्यौदामा क्रिप्टोकरेन्सी माइनिङ प्रक्रिया ‘प्रुफ अफ वर्क’ मा आधारित काम हो, जसमा शक्तिशाली कम्प्युटर प्रयोग गरेर नयाँ डिजिटल सम्पत्ति उत्पादन गरिने र यसले गर्दा वातावरणलाई असर गर्ने कुरा उल्लेख गरिएको छ ।

अन्य क्रिप्टोकरेन्सी जस्तै बिटक्वाइन पनि प्रुफ अफ वर्क प्रविधिमा आधारित छ, जसलाई इथेरियमले प्रुफ अफ स्टेक प्रविधिमा लैजाने योजना बनाइरहेको छ ।

किनभने प्रुफ अफ वर्कमा भन्दा प्रुफ अफ स्टेक प्रविधिमा कम उर्जा प्रयोग हुन्छ । यही मस्यौदामा आधारित भएर युनियनका सदस्यहरूले प्रुफ अफ वर्कमा प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा निर्णय लिनेछन् ।

यदि यो मस्यौदा पास भयो भने बिटक्वाइन लगायत अन्य क्रिप्टोकरेन्सीहरूले प्रुफ अफ वर्कलाई छोडेर प्रुफ अफ स्टेक प्रविधि प्रयोग गर्नुपर्ने हुन्छ ।

क्रिप्टोकरेन्सी सम्बन्धित सरोकारवालाहरूले भने प्रुफ अफ वर्कलाई प्रतिबन्ध गर्नु भनेको गणितीय प्रविधिलाई प्रतिबन्ध गर्नु हो, जुन मुर्खता हो भनेर व्याख्या गरेका छन् ।

त्यस्तै यो प्रतिबन्धले क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो अस्थिरता निम्त्याउन सक्ने चेतवानी पनि दिइएकाे छ ।

गत हप्तामात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रिप्टोकरेन्सीको जिम्मेवार विकासका लागि जारी गरेको निर्देशनले क्रिप्टो बजारमा उत्साह छाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३