close

कुनैकुनै व्यक्ति फोनमा चर्को स्वरले किन बोल्छन् ? यस्ता छन् त्याग्नै पर्ने भ्रम

हिक्मत आचार्य हिक्मत आचार्य

चैत ३, २०७८ १५:६

कुनैकुनै व्यक्ति फोनमा चर्को स्वरले किन बोल्छन् ? यस्ता छन् त्याग्नै पर्ने भ्रम

काठमाडाैं । तपाईंले कहिलेकाहिँ ठूलो आवाजमा कसैसँग फोन गर्ने गर्नुभएको छ ? वा, कसैले ठूलो आवाजमा तपाईंको अघि फोन गर्दा तपाईंलाई नराम्रो लागेको अनुभव छ ? वैज्ञानिक तथ्य अनुसार यसरी अरूले ठूलो स्वरले बोलेको मन नपर्नु स्वभाविक नै हो ।

तर, ठूलो स्वरले बोल्नु चाहिँ अस्वभाविक हो । फोनमा बोल्ने शैली मान्छे पिच्छे फरक फरक हुन सक्छ । यसलाई उनीहरू बसेको ठाउँको भूगोल, भाषा, संस्कृति  र परम्पराले असर गरेको हुन्छ ।

कतिपय अवस्थामा हाम्रो शैली हामीलाई वा हाम्रो वरपरका बाहेक अरू कसैलाई मन नपरेको पनि हुनसक्छ । फोन गर्दा यी साना कुरालाई ख्याल गर्‍याैं भने अरूलाई तपाईं राम्रो संस्कारको बढेको बन्ने अनुभव हुन्छ ।

कहिलेकाहिँ फोनमा ठूलो स्वरमा बोल्दा हामी नजिकै बसेका कसैको महत्वपूर्ण काममा बाधा पुगेको हुनसक्छ । वा उ कसैसँग फोनमा बोलिरहेको छ भने उनीहरूबीच कुराकानीको गलत अर्थ लाग्न सक्छ ।

हाम्रो ठूलो स्वरमा बोल्ने बानीले कसैलाई गम्भीर असर पुर्‍याइरहेको पनि हुनसक्छ । त्यसैले फोन गर्दा भरसक सानो स्वरमा वा सानो स्वरमा बोल्ने बानी छैन भने कतै एकान्तमा गएर बोल्नुपर्ने हुन्छ ।

अचेलका प्रायः युवालाई त यसबारे बुझाउनु आवश्यक नै हुँदैन किनभने उनीहरू आफ्नो प्रेमीप्रेमिकासँग फोनमा कुरा गरिरहँदा छेउमै बसेका मान्छेले समेत थाहा पाउँदैन ।

खासमा सबैले सबैसँग बोल्नु पर्ने त्यसरी नै जसरी अचेलका युवायुवतीले आफ्ना प्रेमीप्रेमिकासँग फोनमा कुरा गरिरहेका हुन्छन् । प्रायः मानिसहरू किन फोनमा ठूलो स्वरले बोल्छन् भन्नेबारे रोचक जानकारी यहाँ उल्लेख छन् ।

१. फोन गरिरहेको बेला फोनमा बोल्ने अर्को व्यक्तिले नबुझेको अवस्थामा

कतिपय अवस्थामा कसैसँग फोन गरिरहेको बेला विभिन्न कारण जसलाई फोन गरिएको हो, उसले हाम्रो आवाज नबुझेको हुनसक्छ । यस्तो अवस्थामा प्रायः मानिस ठूलो स्वरले बोल्दा बुझिन्छ भन्ने भ्रम बोकिरहेका हुन्छन् ।

नेटवर्कमा समस्या आउनु यसको प्रमुख कारण हुनसक्छ । त्यसैले फोनमा बोलिरहेको मान्छेले आफ्नो आवाज नबुझेको खण्डमा नेटवर्कको अवस्था बुझ्नु आवश्यक हुन्छ । हामी ठूलो स्वरमा बोल्नु नबोल्नुले फोनमा बोलिरहेको मान्छेको बुझाइलाई केही फरक पार्दैन भन्ने बुझ्नुपर्छ  ।

२. फोन गरिरहेका दुईमध्ये कुनै एक जना मान्छेको फोनको आवाज सानो हुनु

हामीलाई हामीले फोन गरिरहेको मान्छेको फोनमा के समस्या छ भन्नेबारे उसले नभनेसम्म केही थाहा हुँदैन ।

कतिपय यस्ता घटना घटिरहेका हुन्छन् जहाँ, एकअर्कालाई फोन गरिरहेका दुई जनामध्ये एक जनाको फोनको आवाज सानो भएको थाहा नपाई उसले अर्को व्यक्तिलाई ठूलो स्वरले बोल्न लगाइरहेको हुन्छ ।

यस्तो अवस्थामा सबैभन्दा पहिले उसको फोनको अवस्थाबारे बुझ्नु आवश्यक हुन्छ । फोनको आवाज सानोठूलो भए नभएको ख्याल गर्न लगाई आवाज सानो भएको खण्डमा ठूलो बनाउन लगाउनुपर्छ ।

३. कल आउँदा फोनको स्थान सही ठाउँमा नहुनु

हामी सबैलाई थाहा नै होला हामीले कल गर्दा फोन स्पिकरमा नराखेको अवस्थामा हामीले सुन्ने स्वर फोनको टुप्पोमा भएको सानो स्पिकरबाट आइरहेको हुन्छ भने हामीले बोलेको आवाज फोनको तलतिर भएको माइकबाट अर्को व्यक्तिको फोनमा गइरहेको हुन्छ ।

कतिपयलाई यही कुरा नबुझ्दा ठूलो स्वरले बोल्न परिरहेको हुन्छ । फोन कस्तो स्थानमा राखेर बोल्ने भन्ने थाहा नपाउनेहरू बोल्न लाग्दा फोनको माथिको भाग मुखतिर लिएर बोल्ने गर्छन् । जसले गर्दा फोनमा बोलिरहेको अर्को मान्छेले आवाज बुझ्दैन र ठूलो स्वरले बोल्न लगाउँछ । यसकारण पनि कल गर्दा फोन कस्तो ठाउँमा राखेर प्रयोग गर्ने भन्ने बुझ्न पर्ने हुन्छ ।

४. फोनमा बोल्ने मान्छेको भाषा नबुझ्नु

मान्छेका भ्रम पनि अनेक खालका हुन्छन् । कोही फरक भाषा बोल्ने र बुझ्ने मान्छेसँग फोनमा बोल्दा उसलाई आफ्नो भाषा बुझाउन ठूलो स्वरले बोल्न खोज्ने पनि कमी छैन यहाँ ।

समस्या कहाँ के भएको भन्ने नबुझी एकोहोरो ठूलो स्वरमा बोल्नुले फोनमा बोलिरहेको मान्छेले त केही बुझ्दैन नै, साथै छेउछाउमा बसेका मानिसलाई पनि गम्भीर असर पारिरहेको हुन्छ ।

५. आफू कस्तो ठाउँमा छु भन्ने कुरा बिर्सनु

कतिपय मानिसहरू फोनमा बोल्दा सबै कुरा भुलेर एकोहोरो गफमा व्यस्त भइरहन्छन् । अरू मानिसहरूलाई आफूले ठूलो स्वरले बोलिरहँदा बाधा हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि आफू कति ठूलो स्वरमा बोलिरहेको छु भन्ने बिर्सिसकेका हुन्छन् । यस्तो अवस्था नआओस् भन्नका लागि कहीँ एकान्तमा गएर कुरा गर्ने गर्नुपर्छ ।

६. मानिस हुर्केको समाजको प्राभाव

देश एउटै भए पनि संस्कार, बानी, रीतिरिवाज, भाषा, धर्म, चालचलन सबैको फरक फरक हुन्छ । हाम्रो स्थानीय भाषा हामी एउटा गाउँका बाहेक अरू कसैले नबुझ्न सक्छन् ।

त्यस्तै हाम्रो बानी कस्तो छ वा संस्कार कस्तो छ भन्ने कुरा अरूलाई थाहा नहुन सक्छ । कतिपयको समाजमा ठूलो स्वरममा बोल्नपर्ने पनि हुन्छ । यसका बावजुद पनि फोनमा बोलिरहँदा आफू कस्तो ठाउँमा छु वा त्यहाँका मानिसलाई के कस्तो असर गर्छ भन्ने कुराको हेक्का राखी बोल्नुपर्ने हुन्छ ।

एउटा अध्ययनले देखाए अनुसार सानो वा मध्यम स्वरले बोल्ने मानिसहरू सबैलाई चित्त बुझ्ने पाइएको थियो । सो अध्ययनमा ठूलो स्वरले बोल्ने मानिसलाई कम मान्छेले मात्र रुचाएको पाइएको थियो । हामी कसैको समाजमा ठूलो स्वरले बोल्नुलाई राम्रो मानिए पनि वैज्ञानिक तथ्य अनुसार असभ्य मानिएको छ ।

ठूलो स्वरले बोल्ने मानिसमा भविष्यमा कान कम सुन्ने, मानसिक असन्तुलन जस्ता समस्या हुने भएकाले यस्ता केही समस्या नभएर साधारण अवस्थामा छ भने पनि ठूलो स्वरले बोल्दा वरपरका मानिसले त्यही समस्या भएको अनुमान गर्छन् । यसकारण पनि फोनमा बोल्दा आफू कस्तो ठाउँमा छ त्यो कुराको निकै ख्याल गर्नुपर्छ ।

ठूलो स्वरले फोनमा बोल्नुले अरूलाई बाधा पुर्‍याउनुका साथसाथै तपाईंको संस्कारमा वा तपाईंको व्यक्तित्वमा समेत प्रश्न आउन सक्छ । यसकारण फोनमा ठूलो स्वरले बोल्नु नै छ भने यी सबै कुरालाई ध्यान दिएर बोल्नु आवश्यक हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३