close

भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास

टेकपाना टेकपाना

चैत ४, २०७८ ८:१८

भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास

काठमाडाैं । आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मतदान केन्द्रको ‘भौगोलिक र संवेदनशील’ स्थलका आधारमा निर्वाचन सुरक्षा रणनीति अभ्यास सुरु गरेको छ ।

निर्वाचनमा आइपर्ने सम्भावित चुनौती, बाधा व्यवधान र अप्ठ्यारो अवस्थाको व्यवस्थापनका लागि प्रदेश र सङ्घमा गरी सातवटा बाहिनीस्तरमा भुर्चअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास गरिएको सशस्त्र प्रहरी प्रवक्ता कोमलप्रसाद तिउसिनाले बताए ।

स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा केन्द्रीयस्तरीय, बाहिनीहरूमा प्रदेशस्तरीय र जिल्लास्थित गण तथा गुल्ममा जिल्लास्तरीय निर्वाचन सेल गठन गरिसकेको छ ।

त्यसका लागि स्थानीय तह निर्वाचन सुरक्षा अनुशिक्षण तालिम पाठ्यक्रम–२०७८ तयार पारी आवश्यक प्रशिक्षण दिने कार्य जारी छ । निर्वाचन सुरक्षामा करिब ३४ हजार सशस्त्र प्रहरी जनशक्ति परिचालन हुने जनाइएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनाले निर्वाचन सुरक्षाका लागि जनशक्ति र स्रोतसाधन व्यवस्थापन योजना बनाउने कार्य अन्तिम चरणमा रहेको बताए ।

बाहिनी मुख्यालयलाई प्रदेशगत र गण–गुल्मलाई जिल्लागत निर्वाचन सुरक्षा योजना बनाउन निर्देशन भइसकेको छ । यस पटक उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्ने योजना सशस्त्र प्रहरी बलको छ ।

सूचनाको निरन्तर विश्लेषणसँगै संवेदनशील र अति संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी अहिलेबाट नै सुरु गरिएको उनले बताए ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३