close

राष्ट्रिय स्तरको ह्याकाथन ‘कोडफेस्ट’ हुँदै, पहिलो हुनेले १ लाख पाउने

टेकपाना टेकपाना

चैत ५, २०७८ १५:२५

राष्ट्रिय स्तरको ह्याकाथन ‘कोडफेस्ट’ हुँदै, पहिलो हुनेले १ लाख पाउने

काठमाडौं । युथ इन सोसल चेन्ज नामक संस्थाद‍्वारा सञ्चालित प्राविधिक परियोजना ‘कोड फर चेन्ज’ ले मार्च र अप्रिल महिनामा राष्ट्रिय स्तरको “कोडफ़ेस्ट” नामक ह्याकाथन आयोजना गर्दैछ ।

कार्यक्रम अवधिभर सहभागीले समूहमा काम गर्न सिक्ने, प्रतिस्पर्धात्मक भावनाले आफ्नो क्षमता उजागर गर्न सिक्ने,  आफूभन्दा अनुभवी व्यक्तिबाट सिक्न पाउने, समयको महत्त्व बुझ्न सक्ने र छोटो समयमै ठूला ठूला समस्याको समाधान खोज्न सकिने क्षमताको विकास हुने आयोजकले बताएकाे छ ।

यस कार्यक्रम अन्तर्गत प्रविधि क्षेत्रका विधार्थीलाई सम्मिलित गराएर दिगो विकासका सात लक्ष्यमा आफ्नो विवेक, रचना र उनीहरूले शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्न जोड दिइने छ ।

कोडफ़ेस्ट विभिन्न प्रादेशिक र राष्ट्रिय स्तरमा गर्दै विभिन्न चरणहरूमा हुने कार्यक्रम हो जसमा विद्यार्थीहरूले आफू पढ्दै गरेको कलेजलाई प्रतिनिधित्व गर्दै वा छुट्टै टिम बनाएर पनि आफ्नो टिम दर्ता गर्न सक्नेछन र उनीहरूले सर्वप्रथम आफ्नै प्रदेशका टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सातवटै प्रदेशमा उक्त प्रतिस्पर्धा हुनेछ र प्रादेशिक विजेताहरू काठमाडौंमा अन्तिम चरणको लागि प्रतिस्पर्धा गर्नेछन्, जुन तीन दिनसम्म चल्नेछ । उत्कृष्ट तीन प्रतिस्पर्धीले क्रमशः एक लाख रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद पुरस्कार सहित विभिन्न मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै उपस्थित विधार्थीहरुको आइडिया मनपरेको खण्डमा उनीहरूले कार्यक्रमका विभिन्न कम्पनी तथा संस्थाहरूमा काम गर्ने सुवर्ण अवसर समेत पाउनेछन् । त्यसैगरी विजेताहरूको आइडियालाई पूर्णता दिन आवश्यक तालिमको पनि व्यवस्था गरिने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा सहभागी हुनका लागि विद्यार्थीहरूले यो लिङ्कमा क्लिक गरेर दर्ता गर्न सक्नेछन् । यसैगरी कोड फर चेन्जले उक्त कार्यक्रम साझेदारी तथा सहयोग गर्न चाहनेहरूका लागि समेत आवेदन खुल्ला गरेको छ, इच्छुक कम्पनी तथा संस्थाहरूले यो लिङ्कमा क्लिक गरेर आवेदन दिन सक्नेछन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३