close

मालवेयर प्रयोग गरी लाखौं फेसबुक प्रयोगकर्ताको पासवर्ड चोरी, कतै तपाईं त पर्नुभएन ?

टेकपाना टेकपाना

चैत ८, २०७८ १३:३२

मालवेयर प्रयोग गरी लाखौं फेसबुक प्रयोगकर्ताको पासवर्ड चोरी, कतै तपाईं त पर्नुभएन ?

काठमाडौं । फेसबुक क्रेडेन्सियल (युजरनेम र पासवर्ड) चाेरी गर्ने एक एप लाखाैं डिभाइसमा इन्स्टल भएकाे पाइएकाे छ ।

गुगल प्ले स्टाेरबाट ‘क्राफ्ट्सआर्ट कार्टुन फोटो टुल्स’ (Craftsart Cartoon Photo Tools) नामक याे एप एक लाखभन्दा बढी डिभाइसमा इन्स्टल भएकाे पाइएकाे हाे ।

यस एपमार्फत प्रयोगकर्ताले आफ्नो फोटो अपलोड गरेर साे फोटोको कार्टुन क्यारेक्टर बनाउन मिल्छ । विगत एक हप्ताको समयावधिमा ‘प्राडियो’ नामक मोबाइल सुरक्षा कम्पनीले एन्ड्रोइड एपमा ‘फेस स्टिलर’ नामको ट्रोजन भेटाएको थियो ।

यस्तोमा एपको रुपमा इन्स्टल हुने एप प्रयोग गर्नका लागि प्रयोगकर्ताको फेसबुक लगईन आईडी माग्ने गरिन्छ । प्रयोगकर्ताले आफ्नो फेसबुक लगईन राखेपछि उक्त युजर आईडी र पासवर्डमा ह्याकरले सजिलै पहुँच राख्छन् ।

अहिले प्ले स्टोरबाट यो एप हटिसकेको छ । यद्यपि एक लाखभन्दा बढी प्रयोगकर्ताले यो एप डाउनलोड गरिसकेका थिए भने प्ले स्टोरमा १.७ रेटिङ पाएको थियो ।

User reviews on the Play Store

यस्तो प्रकारको मालवेयरलाई स्टिलर मालवेयर (stealer malware) भनिन्छ, जहाँ कुनै एप वा वेबसाइट अथवा अन्य कुनै अनलाइन सेवाको रुपमा मालवेयर सार्वजनिक गरेर प्रयोगकर्ताको पहुँचमा पुर्‍याइन्छ र त्यसबाट डेटा चोरी गर्ने गरिन्छ ।

यस्ता एप अझै पनि प्ले स्टोरमा धेरै हुनसक्ने प्राडियोले तयार गरेको रिपोर्टमा उल्लेख छ ।

केही एप थाहा पाउने वित्तिकै हट्छन्, केही अलि समय रहन्छन् र पछि आफै हट्छन् भने केही एप लामो समयसम्म प्ले स्टोरमा नै रहिरहने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२