close

फेसबुकको पासवर्ड बिर्सिएँ भन्दै साइबर ब्यूरोमा उजुरी !

टेकपाना टेकपाना

चैत ९, २०७८ १४:४८

फेसबुकको पासवर्ड बिर्सिएँ भन्दै साइबर ब्यूरोमा उजुरी !

काठमाडौं । विगत केही वर्षमा नेपालमा पनि प्रविधि विकासले फड्को मारेको छ । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल लगायतमा प्रयोगकर्ताको सहज पहुँच भएसँगै साइबर सुरक्षा सम्बन्धी मानिसको चेतना पनि बढिरहेको छ ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्यूरोको स्थापनासँगै सूचना प्रविधि क्षेत्रसम्बन्धी हुने अपराधको काम कारबाहीमा प्रयोगकर्ताको थप सचेतना बढेको छ ।

यतिमात्रै होइन, आफूलाई कुनै समस्या परे साइबर ब्यूरोमा जानुपर्छ भन्ने बुझाइ सर्वसाधारणमा परेको छ । यो आर्थिक वर्षमा मात्र २९ सयभन्दा बढी निवेदन साइबर ब्यूरोमा आएका छन् ।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्ष्क नविन्द अर्यालका अनुसार सामान्यदेखि गम्भीर किसिमका उजुरी आउने गरेका छन् ।

पछिल्लाे समय फेसबुक, जीमेल लगायतका अकाउन्टकाे पासवर्ड बिर्सिएँ भन्दै आईडी रिकभरका लागि धेरै निवेदन आउने उनले जानकारी दिए ।

‘अनलाइन सम्बन्धी केही समस्या परे साइबर ब्यूरो जानुपर्छ भन्ने चेतना त आएको छ, तर धेरैजसो सामान्य निवेदन पर्छन्,’ उनले भने,’ फेसबुक आईडी रिकभर गर्नपर्‍यो, जीमेलको पासवर्ड बिर्सियो, मान्छे हराएको छ, तर म्यासेन्जर अन छ बन्द गरिदिनुपर्‍यो, फेसबुक ब्लक भयो खोलिदिनुपर्‍यो भन्दै मानिस यहाँ आउने गर्छन् ।’

समस्या सामान्य जस्तै लागेपनि कार्यालयसम्म आएर सहयोग मागेपछि नाइ भन्न नसकिने र सकेसम्म समस्या समाधान गरेरै पठाउने गरेको उनले सुनाए ।

‘सामान्य समस्या बाहेक ईमेल ह्याक भएको, फेक आईडीबाट दुर्व्यवहार भएको लगायतका उजुरी पनि आउने गरेको छ,’ उनले भने ।

उनका अनुसार पछिल्लाे समय अनलाइन माध्यममार्फत महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी टिपाउनेकाे संख्या पनि बढ्दाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२