close

सातै प्रदेशमा नवप्रवर्तन केन्द्र, युवालाई निःशुल्क प्राविधिक तथा व्यावसायिक तालिम

टेकपाना टेकपाना

चैत १०, २०७८ ७:३९

सातै प्रदेशमा नवप्रवर्तन केन्द्र, युवालाई निःशुल्क प्राविधिक तथा व्यावसायिक तालिम

काठमाडाैं । युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि केही प्रक्रियामा भने युवा संलग्न हुनुपर्नेछ ।

नवीनतम सोच लिएका युवालाई केन्द्रमार्फत आवश्यक परामर्शसाथ प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गरिनेछ ।

तालिमको माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्रले सहयोग गर्ने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार नवीनतम सोच लिएर केन्द्रमा जाने युवालाई बसोबास, विज्ञको सल्लाहअनुसार प्रशिक्षण, युवाले लिएको सोचअनुसार उत्पादन हुने वस्तु तथा सेवाको बजारलगायतका विषयमा छलफल गरेपछि मात्रै काम अघि बढ्नेछ ।

बागमती प्रदेशमा केन्द्र स्थापनाको काम अघि बढिसकेको छ । बस्नेतका अनुसार यस प्रदेशअन्तर्गत रहने गरी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा केन्द्र स्थापनाका लागि बहुपक्षीय समझदारी भइसकेको छ ।

नमोबुद्ध नगरपालिका–८ मा रहेको आरुबारी चौरमा केन्द्र स्थापना हुन लागेको हो । केन्द्रका लागि नगरपालिकाले ५३ रोपनी जग्गा भोगचलनका लागि परिषद्लाई दिएको छ ।

समझदारीअनुसार केन्द्र स्थापना र सञ्चालनको मुख्य भूमिका राष्ट्रिय युवा परिषद्ले निर्वाह गर्नेछ । यस्तै नमोबुद्ध नगरपालिकाले जग्गा भोगाधिकार र अभ्यास साझेदारका रूपमा भूमिका निर्वाह गर्नेछ ।

काठमाडौँ विश्वविद्यालयले ज्ञान साझेदार र आइडिया स्टुडियो नेपालले प्राविधिक साझेदारका रूपमा भूमिका निर्वाह गर्ने परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले जानकारी दिए ।

केन्द्रका लागि परिषद्ले गत वर्ष एक करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष भने ४९ लाख रुपियाँ छुट्याइएको जानकारी शर्माले दिए ।

त्यस्तै प्रदेश १ अन्तर्गत पनि केन्द्र स्थापनाका लागि मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी शैक्षिक प्रतिष्ठानसँग सम्झौता भएको परिषद्ले जनाएको छ ।

शर्माले भने, ‘यस प्रदेशको सामाजिक विकास मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको छ । अन्य प्रदेशमा पनि काम अघि बढिसकेको छ ।’ प्रदेश १ मा यस कामका लागि ६५ लाख रुपियाँ बजेट छुट्याइएको जानकारी शर्माले दिए ।

परिषद्ले मुलुकभरका सबै प्रकारका शैक्षिक संस्थाहरूले आफ्ना नियमित कार्यक्रममा नवप्रवर्तन तथा इन्क्युबेसनलाई समावेश गर्दै लैजाने, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूले नवप्रवर्तन तथा इन्क्युबेसनलाई आफ्ना क्रियाकलापमा आत्मसात् गर्दै लैजाने नीति परिषद्ले लिएको छ ।

त्यसबाहेक विज्ञान र प्रविधिका विद्यार्थीलाई प्रतिस्पर्धाका आधारमा नवप्रवर्तन अनुदान उपलब्ध गराउँदै लैजानेलगायतका लक्ष्य परिषद्ले राखेको छ ।

सरकारले युवा विकासका क्षेत्रमा युगान्तकारी परिवर्तन गराउने कार्यक्रमका रूपमा ‘युवा नवप्रवर्तन केन्द्र’को स्थापनालाई पन्ध्रौँ पञ्चवर्षीय योजनामा समेटेको छ ।

सोही योजनाअनुसार सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत प्रक्रिया अघि बढाएको हो । परिषद्ले सातवटै प्रदेशबाट न्यूनतम दुई विद्यालय छानेर एक शैक्षिक संस्था एक उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ ।

युवाको समग्र विकासका लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो । शिक्षालाई गुणस्तरीय, व्यावसायिक, सीपमूलक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्ने भन्दै सरकारले युथ भिजन २०२५ सहित १० वर्षको रणनीतिक योजना अघि सारेको छ ।

परिषद्ले केन्द्र तथा जिल्लास्तरमा युवा लक्षित तालिम सञ्चालन, प्रदेश तथा स्थानीय तहमा राजनीति र विकासमा सहभागिता बढाउन कार्यक्रमका साथै र युवा (आर्थिक, राजनीतिक र सामाजिक विकास) सहभागिता जनाउने तालिम सञ्चालन गर्दै आएको प्रशासकीय प्रमुख शर्माले जानकारी दिए ।

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको दायरामा राखिएको छ । यो समूहको जनसङ्ख्या ४० प्रतिशत हाराहारी छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२