close

गुगल न्युजमाथि रुसको प्रतिबन्ध

टेकपाना टेकपाना

चैत ११, २०७८ ८:३२

गुगल न्युजमाथि रुसको प्रतिबन्ध

काठमाडौं । रुसी सञ्चार नियामकले युक्रेनमा आफ्ना देशका सैनिकको गतिविधिबारे गलत सूचना फैलाएको भन्दै गुगल न्युजमाथि प्रतिबन्ध लगाएको छ । रुसमा रहेका प्रयोगकर्ताले  गुगल न्युज एप र वेबसाइट प्रयोग गर्न समस्या आउनुमा कुनै अन्य प्राविधिक समस्या नभएको गुगलले बताएको छ ।

गुगलका प्रवक्ताले भनेका छन्, ‘हामीले रुसका मानिसहरूलाई सूचना दिनका लागि निकै मेहेनतका साथ सम्भव भएसम्मका सबै प्रयास गरिरहेका थियौँ ।’ गुगल न्युजलाई रुसले अहिले ब्लक गरेतापनि गुगललाई सम्पूर्ण रुपमा ब्लक गर्न रुस यस अघिदेखि नै लागिरहेको थियो ।

गुगलले युक्रेनमा जारी द्वन्द्वका क्रममा भइरहेको उत्पीडन, शोषण खारेज वा समर्थन गर्ने सामाग्रीका साथसाथै वेबसाइट, एप र युट्युब च्यानलहरूमा विज्ञापन नदिने बताएपछि रुसले यस्तो कदम चालेको हो । त्यस्तै गुगलले अघिल्लो महिना रुसमा अनलाइन विज्ञापन बन्द गर्ने घोषणा गरेको थियो ।

इन्टरफ्याक्सका अनुसार रुसको प्रोसेकुटर जनरलको कार्यालयबाट बन्द गर्ने निर्देशन आएपछि रुसी नियामकले गुगल न्युज बन्द गरेको हो ।

अमेरिकी अनलाइन समाचार स्रोत गुगल न्युजले युक्रेनी इलाकामा विशेष सैन्य अपरेसनको बारेमा अप्रमाणिक र सार्वजनिक रूपमा महत्त्वपूर्ण जानकारी समावेश गर्ने अनेकौँ प्रकाशन र सामग्रीमा पहुँच दिएको भन्दै रुसी प्रोसेकुटर जनरल कार्यालयले रुसी नियामकलाई गुगल न्यज बन्द गर्न निर्देशन दिएको थियो ।

रुसी नागरिकहरूसम्म पुग्ने बाहिरका सूचनालाई कडाइका साथ नियन्त्रण गर्ने भ्लादिमिर पुटिनको चाहनासँग गुगल न्युज बन्द गर्ने कदम मेल खाएको स्विनबर्न युनिभर्सिटीकी प्रविधि विशषज्ञ बेलिंगा बार्नेटले बताएकी छन् । त्यस्तै युनिभर्सिटी अफ न्यु साउथ वेल्सको बिजनेस स्कुलका नियमन प्राध्यापक रोब निकोल्सले अल जजीरालाई गुगल न्युजमा भएको प्रतिबन्धले सेवाको महत्त्वपूर्ण प्रभाव र पहुँचलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

गत सोमबार अतिवादी गतिविधिमा जिम्मेवार देखिएपछि रुसी अदालतले फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाएको थियो ।  फेसबुकको अभिभावक कम्पनी मेटाले गत महिना हेट स्पिच पोलिसीमा केही नबोल्ने र युक्रेनी नागरिकलाई रुसी नेता र सैनिकहरूप्रति हिंसात्मक भावना व्यक्त गर्न पाउने नीति ल्याएपछि रुसले फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२