close

नेपाली महिलाले बनाए कृषिका लागि एआईमा आधारित एप सहितको उपकरण, चलाउन इन्टरनेट नचाहिने

टेकपाना टेकपाना

चैत १३, २०७८ १९:३७

नेपाली महिलाले बनाए कृषिका लागि एआईमा आधारित एप सहितको उपकरण, चलाउन इन्टरनेट नचाहिने

काठमाडौं । नेपाली महिलाहरूको एउटा समूहले मुलुकमै पहिलो पटक कृषि व्यवसायलाई सहज बनाउन एआईमा आधारित एप सहितको उपकरण सार्वजनिक गरेको छ । इम्प्याक्टर्स तथा महिला विकास समाज नामक संस्थाले एआई र मसिन  लर्निङमा आधारित एप र उपकरण ल्याएको हो ।

साथी नाम दिइएको उक्त उपकरणले नेपाली किसानहरूले खेतीपातीका क्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई)को प्रयोगबाट पहिचान गरी समाधानमा सघाउने बताइएको छ । यो डिभाइससँगै एप निर्माण गर्ने कार्यको नेतृत्व सूचना प्रविधिज्ञ लचना हाडाले गरेकी छन् ।

हाल एन्ड्रोइडमा उपलब्ध ‘साथी’ एप चाँडै नै आईओएसमा समेत आउने उल्लेख छ ।

जलवायु परिवर्तन, माटोको गुणस्तरमा आएको ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारणले गर्दा नेपालको कृषि व्यवसाय दिन प्रतिदिन ओह्रालो लाग्दै गएको छ । त्यसैलाई  पुनरुत्थान गर्न तथा सामान्य किसानलाई समेत सूचना प्रविधिको लाभ उपलब्ध गराउन एआईको यो नवीनतम प्रयोग उपयोगी हुने विश्वास गरिएको छ ।

विशेषगरी मसिन लर्निङ तथा एआई, इलेक्ट्रिकल इन्जिनियरिङ र कृषि विज्ञानको संयोजनमा निर्माण गरिएको ‘साथी’ डिभाइसले नेपाली किसानलाई आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य गरिदिने दाबी हाडाले गरेकी छन् । ‘यो डिभाइसको सहयोगमा स्थलगत रूपमा तत्कालै माटो र बालिनाली सम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ,’ उनले भनिन् ।

यो डिभाइसको प्रयोगबाट खेतको माटोको गुणस्तर पहिचान गर्न सकिने भएकोले कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने कुरा तय गर्न किसानहरू सक्षम हुने बताइएको छ । ‘यसले बालीनालीको स्वास्थ्य सुपरीवेक्षण गर्न समेत सघाउने हुँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न सजग पनि गराउँछ,’ हाडाले भनिन् ।

इम्प्याक्टर्सले व्यवसायिक उत्पादन गरी नाफा आर्जन गर्ने भन्दा पनि कृषि अनुसन्धानका लागि निःशुल्क प्रदान गरेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग सम्बन्धी थप वैज्ञानिक अनुसन्धान कार्यलाई सघाउने उद्देश्य राखेको छ ।

नेपालमा कृषि प्रयोगशाला सीमित सङ्ख्यामा मात्र भएका कारण त्यसबाट सेवा प्राप्त गर्न किसानहरूले निकै टाढा धाउनुपर्ने बाध्यता रहेको छ । त्यसैगरी रिपोर्ट कुर्न समेत निकै लामो समय कुर्नुपर्ने हुन्छ ।

यसरी आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य अवस्था बारे वैज्ञानिक जानकारी प्राप्त गर्ने सुविधामा सहज पहुँच नभएका किसानलाई यो डिभाइसले लाभ पुग्ने ठानिएको छ । जसले गर्दा उत्पादन बढाउन, बालीनालीमा लाग्ने रोगको समयमै निदान गर्न सजिलो हुनुका साथै कृषि व्यवसायलाई आकर्षक र प्रतिफलमूलक बनाउनमा पनि योगदान दिने विश्वास गरिएको छ ।

१० महिनाको छोटो अवधिमा तयार गरिएको यो डिभाइस काठमाडौंको सतुङ्गल र फर्पिङमा गरिएको थियो । त्यसक्रममा परीक्षण सफल रहेको र कृषकबाट उत्साहवर्द्धक प्रतिक्रिया प्राप्त भएको इम्प्याक्टर्सले जनाएको छ । कृषि क्षेत्रको समस्या पहिचानका लागि तयार पारिएको साथी डिभाइस र सफ्टवेयर निर्माणमा १६ जना महिला विज्ञको संलग्नता रहेको थियो । 

कसरी काम गर्छ ?

‘साथी’ डिभाइस र सफ्टवेयर कम खर्चमा सजिलै जडान तथा प्रयोग गर्न सकिन्छ । कृषि सम्बन्धी जटिल विश्लेषण गर्न सक्ने सेन्सर सहितको यो प्रोटोटाइप डिभाइसले माटो तथा बालीनाली सम्बन्धी तथ्याङ्क सङ्कलन गर्दछ ।

ल्यापटप वा मोबाइलमा  राखिने साथी एप तथा सफ्टवेयर उक्त तथ्याङ्कलाई विश्लेषण  गरी  माटोको लवणता, तापक्रम, आर्द्रता, नाइट्रोजन, फस्फोरस, पोटासियम र अम्लको अवस्थाबारे जानकारी प्रदान गर्दछ ।

यसैगरी उक्त सफ्टवेयरले बालीनालीमा लाग्ने २६ प्रकारका रोगको पहिचान गर्न सक्ने दाबी समेत गरिएको छ । इम्प्याक्टर्सका अनुसार हाल यो उपकरणले धान, गहुँ, केरा, गोलभेँडा, आलु, जुट तथा कफी लगायतका २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्दछ ।

यो प्रविधि प्रयोग गर्न इन्टरनेट वा क्लाउड पूर्वाधार पनि नचाहिने हुँदा दुर्गम क्षेत्रका किसानले पनि यसबाट लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२