close

माइक्रोसफ्टको स्टार्टअप प्रोग्राममा छानियो नेपाली कम्पनी बगभी

टेकपाना टेकपाना

चैत १५, २०७८ १३:४१

माइक्रोसफ्टको स्टार्टअप प्रोग्राममा छानियो नेपाली कम्पनी बगभी

काठमाडौं । माइक्रोसफ्टले एसियाली क्षेत्रका स्टार्टअपलाई लक्षित गर्दै सुरुवात गरेको ‘हाइवे टु अ १०० युनिकर्न’मा नेपाली स्टार्टअप बगभी सफ्टवेयर टेक्नाेलाेजी प्रालि रणनीतिक साझेदारका रूपमा छनाेट भएकाे छ ।

याे कार्यक्रममा छानिएसँगै बगभीले एक वर्षसम्म माइक्राेसफ्टबाट विभिन्न सहयाेग पाउनेछ । नेपालकै पहिलाे बग बाउन्टी प्लेटफर्मका रूपमा परिचित बगभीमार्फत विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको कमजोरी पत्ता लगाउने र त्यसबारे जानकारी दिन सकिन्छ ।

दक्षिण एसियाबाट वर्षेनि करिब १५ हजारभन्दा बढी स्टार्टअप कम्पनीले सो कार्यक्रममा सहभागी हुन निवेदन दिने गर्छन् । त्यसमा माइक्रोसफ्टले जम्मा ६५ कम्पनीलाई सो कार्यक्रममा सहभागी गराउँछ ।

टेकपानासँग कुरा गर्दै बगभीका संस्थापक नरेश लामगादेले भने, ‘माइक्रोसफ्टको यो कार्यक्रममा सहभागी हुन पाउँदा हामी निकै प्रफुल्लित भएका छौँ । नेपाली कम्पनीहरूले प्रडक्ट बनाउँदा नेपालमा मात्र सीमित हुने नबनाएर विश्वव्यापी बनाउँदा विश्वका ठूला-ठूला कम्पनीबाट अफर पाउन सक्छन् ।’

साे कार्यक्रममा सहभागिता जनाइसकेपछि बगभीले माइक्रोसफ्टका विशेषज्ञ सल्लाहकारबाट नेटवर्क र क्लाउड प्लेटफर्ममा प्राविधिक लाभ र बिजनेश रिसाेर्समा पहुँच पाउने छ ।

‘यस कार्यक्रममा सहभागी भइसकेपछि हामीले थुप्रै फाइदा उठाउन सक्छौँ,‘ लामगादेले भने, ‘हामी अहिले नेपालभन्दा पनि विदेशबाट बढी लाभ उठाउन लागिपरेका छौँ । यस साझेदारीमार्फत माइक्रोसफ्टले बगभीलाई विश्वव्यापी स्तरमा बगभीका सेवा सञ्चालन गर्न र उपलब्ध गराउन सहयोग गर्नेछ, जसले गर्दा इन्टरनेटका नेपाली उत्पादन विश्वव्यापी हुने अवसर पाउँछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३