close

स्वअध्ययनबाटै सफल आर्टिस्ट र गेम डेभलपर बनेका युवाको कथा

गणेश सुवेदी गणेश सुवेदी

चैत १५, २०७८ १९:३२

स्वअध्ययनबाटै सफल आर्टिस्ट र गेम डेभलपर बनेका युवाको कथा

काठमाडाैं । मानिसका आ-आफ्नै रुचि र चाहना हुन्छन् । कोही सानैदेखि खेल्न, कुद्न मन पराउँछन् । कोही एकान्त मन पराउने खालका हुन्छन् ।

असीम शाक्य पनि सानैदेखि एकान्त मन पराउने स्वभावका थिए । कुनै सामान पायो भने त्यसलाई खेलाउने, घन्टौंसम्म त्यसमै रमाउँथे । त्यही स्वभाव अहिले पनि उनमा कायम छ ।

काठमाडौंमा जन्मेहुर्केका उनले औपचारिक रुपमा १२ कक्षासम्म अध्ययन गरेका छन् । कलेज गएर पढ्नुभन्दा पनि उनले स्वअध्ययनकाे बाटाे राेजे । आफूलाई मनपर्ने विषयमा गहिरिएर अध्ययन र खोज गर्न थाले ।

उनको त्यो लगाव आज पनि उस्तै छ । नयाँ सिर्जना, अनि नयाँ खोजमा निरन्तर तल्लीन छन् असीम ।

कलेजको पढाइमा पूर्णविराम लगाएपछि उनले केही काम गर्ने सोच बनाए । तर भनेजस्ताे जागिर भेटिएन । अवसर खाेज्दै जाँदा भित्तामा रङ लगाउने काम भेटियाे । असीमकाे व्यावसायिक जीवन यहीँबाट सुरू हुन्छ ।

त्यसपछि उनले होटलमा कार्यालय सहयोगीको काम गरे । सामान डेलिभरी गर्ने काम पनि गरे । छोटो समयमा उनले फरक प्रकृतिका कामहरू गरे । यसबाट उनले नयाँ-नयाँ अनुभव पनि बटुल्दै थिए ।

आईटी क्षेत्रमा भने उनी कम्प्युटर शिक्षकको भूमिकामा प्रवेश गरे । विद्यार्थीलाई कम्प्युटरको बेसिक कोर्ष सिकाउँदा उनले आफूले पनि थप ज्ञान लिन थाले । फोटोशप सिके । अन्य सफ्टवेयरहरु पनि चलाउन सिके ।

कम्प्युटरप्रति उनको लगाव झनै बढ्न थाल्यो । त्यसपछि प्रविधिको बजारमा माग हुने विभिन्न कोर्षको स्वअध्ययन गरे ।

परिणामस्वरूप अहिले उनी विभिन्न भूमिकामा काम गरिरहेका छन् । असीम  ग्राफिक्स डिजाइनर, भीएफएक्स आर्टिस्ट, आर्ट डिरेक्टर हुँदै अहिले भिजुअल आर्टिस्ट र डेभलपरको रुपमा काम गर्दैछन् ।

उनले बनाएका डिजिटल आर्टहरुले नेपालमा मात्र नभई विभिन्न देशमा प्रसिद्धि कमाइरहेका छन् । यसमध्ये म्यालो ड्वेलिङ, आइडेन्टिटी जस्ता आर्टहरु चर्चित छन् ।

उनको आर्टमा प्रायः नेपाली मौलिकता र रहनसहन झल्किन्छ । म्यालो ड्वेलिङ आर्ट बनाउन दुई महिनाभन्दा धेरै समय लागेको उनी सुनाउँछन् । यसमा नेपालको सांस्कृतिक सम्पदाका साथै विभिन्न धरातल पनि देखाइएको छ ।

त्यस्तै डेभलपरका रूपमा उनले केही माेबाइल गेम बनाएका छन् । यसमध्ये ‘अर्बन लेजेन्ड सर्भाइभल’ सबैभन्दा धेरै चलेको गेम हो । यसलाई प्ले स्टोरमा अहिलेसम्म एक लाखभन्दा धेरै पटक डाउनलोड गरिएको छ ।

अर्बन लेजेन्ड एक प्रकारको ‘हरर’ अर्थात् खेल्दा डर लाग्ने गेम हो । यो गेमको अवधारणा प्राचीन समयको काठमाडौंमा आधारित छ । यसमा तपाईँलाई भूतहरूसँग जोगिएर निस्किनुपर्ने हुन्छ ।

‘यो पृथक खालकाे गेम थियो, त्यसैले नेपाल सँगै अरु दक्षिण एसियाली मुलुकहरूमा पनि रुचाइयाे,’ उनले सुनाए ।

यसबाहेक उनले फ्लाइट, राभेन नाइट, दिदी, डेमो जस्ता अन्य सातवटा गेम बनाएका छन् । जुन नेपालसँगै बाहिरी देशमा पनि रुचाइएको उनी बताउँछन् ।

यही गेमको प्रभावले होला, उनलाई बाहिरी देशबाट पनि गेम बनाउन अफर आउँछ ।

उनको गेममा विशेषतः शान्ति र नेपालको संस्कृति झल्किन्छ । उनी स्वअध्ययनलाई आफ्नो गुरु र एकाग्रतालाई आफ्नो नजिकको मित्र मान्छन् । अनि काम सुरु गरेपछि सम्पन्न नहुुँदासम्म मिहेनेत गर्ने बानीले अन्ततः उनलाई फल चखाइरहेको छ ।

आज उनले घरमै महिनामा तीनदेखि पाँच लाखसम्म कमाउँछन् ।

अहिले उनी आफ्नो आर्टको कामसँगै विभिन्न गेममा पनि काम गरिरहेका छन् ।‌‍ ओजोन, दिदी टु तथा फ्लाइट सिरिजका उनका थुप्रै गेम हामीले भविष्यमा देख्न पाउनेछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३