close

टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुल्यो

टेकपाना टेकपाना

चैत १६, २०७८ १७:३६

टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुल्यो

काठमाडौं । लामो समयदेखि अदालतको आदेशले अल्झिएको नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अब अघि बढ्ने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएसँगै अब प्रक्रिया अघि बढ्ने भएको हो ।

टेलिकम गएको पुस २२ देखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीको कार्यकाल सकिन लाग्दै गर्दा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको भएतापनि अदालतमा रिट दायर भएसँगै रोकिएको थियो ।

टेलिकम प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

नियुक्ति निर्देशिका संशोधन गर्दै योग्यता पुगेकोलाई समेत रोक्नेगरी काम भएको भन्दै सबै प्रक्रिया रद्द गर्नुपर्ने मागसहित दुईवटा मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा अदालतले अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

उक्त रिटउपर सर्वोच्चका न्यायाधीश दीपकुमार कार्की र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै पूर्ण सुनवाईको निम्ति पेस गर्न आदेश दिएको थियो ।

त्यसैका आधारमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएसँगै अब प्रक्रिया अघि बढ्ने भएको हो ।

योसँगै पुरानै प्रक्रियाले निरन्तरता पाएको छ । यसको अर्थ यसअघि आएका आवेदनलाई मान्यता दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनोटको काम अघि बढाउने छ । यसअघि मन्त्रालयले मागेको आवेदनमा ९ जनाले आवेदन दिएका थिए ।

सम्बन्धित समाचार:

टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोकिने, अदालतको पत्र कुर्दै मन्त्रालय

टेलिकम प्रबन्ध निर्देशकको नियुक्तिमा किचलाे किन ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३