close

आईपीओ जारी गर्दै वर्ल्डलिङ्क, यस्तो छ तयारी

टेकपाना टेकपाना

चैत १८, २०७८ १८:४६

आईपीओ जारी गर्दै वर्ल्डलिङ्क, यस्तो छ तयारी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले आईपीओ जारी गर्ने तयारी थालेको छ । कम्पनीका निर्देशक मनोज अग्रवालले टेकपानासँगको विशेष कुराकानीमा आगामी एक वर्षभित्र आईपीओ जारी गर्ने योजना रहेको बताएका हुन् ।

उनका अनुसार हाल आईपीओ जारी गर्न कम्पनीले आन्तरिक तयारीहरू अगाडि बढाइसकेको छ । ‘अहिलेसम्मको तयारी अनुसार हामी सन् २०२३ भित्र आईपीओ जारी गर्ने योजनामा छौँ,’ उनले भने ।

वर्ल्डलिङ्कमा बेलायत सरकारको हिस्सेदारी रहेको सीडीसीको १० प्रतिशत विदेशी लगानी रहेको छ । स्थापना भएको २६ वर्ष पूरा गरिसकेको कम्पनीका लागि उक्त लगानी ठूलो ‘रिकग्निसन’ (पहिचान) भएको अग्रवाल बताउँछन् ।

‘विदेशी लगानी आउनु भनेको कम्पनीको विश्वसनीयता बढ्नु पनि हो,’ उनी भन्छन्, ‘यो हाम्रो लागि धेरै नै ठूलो उपलब्धि हो ।’ कम्पनी सानोबाट ठूलो हुँदै जाँदा पब्लिकमा लगिएको र अझ विस्तार हुने क्रममा जनताको समेत शेयर लगानीको कुरा आउने निर्देशक अग्रवालले बताए ।

‘२०२३ पछि वर्ल्डलिङ्कमा नेपाली सर्वसाधारणको समेत शेयर रहने वातावरण बन्छ,’ उनले भने, ‘आवश्यक तयारी पूरा भएसँगै सार्वजनिक रुपमा त्यसको जानकारी गराउने छौँ ।’

नेपाली इन्टरनेट बजारमा ३० प्रतिशत हिस्सा रहेको वर्ल्डलिङ्कका हाल करिब सात लाख ग्राहक रहेका छन् । जहाँबाट नेपालका २४ लाख भन्दा बढी प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३