close

विश्व इन्टरनेट सञ्जालबाट आफूलाई अलग्याउदै रुस 

टेकपाना टेकपाना

चैत २१, २०७८ ८:५०

विश्व इन्टरनेट सञ्जालबाट आफूलाई अलग्याउदै रुस 

काठमाडौं । रुसी प्रयोगकर्ताले मार्च ४ को दिन आफ्नो इन्टरनेटमा अनौठो उतारचढाव महसुस गरे । रूसबाट ट्वीटर प्रयोग गर्न खोजेका प्रयोगकर्ताले आफ्नो इन्टरनेट स्पिड स्लो भएको महसुस गरेका थिए । आफ्नो नेटवर्कको स्पिड जति नै फास्ट भएपनि इन्टरनेट स्लो हुँदै गएर अन्तमा ट्वीटर नै बन्द भएको थियो ।

रुसमा ट्वीटर अफलाइन हुनुले त्यहाँको सरकारले युक्रेनमा आफूले गरेको आक्रमणको बारेमा विमति प्रकट गर्न सोसल मिडियाले खेलेको भूमिकालाई कतिको गम्भीरताका साथ लिएको छ भन्ने प्रमाण दिएको छ ।

यो कदमले रुसको ‘स्प्लिन्टरनेट’ योजना अगाडि बढिरहेको पुष्टि पनि भएको छ, जसले रुसलाई विश्वको अन्य इन्टरनेट पूर्वाधारबाट प्रभावकारी रूपमा अलग गर्ने अनुमान गरिएको छ ।

रुसको यो कदमले उसलाई आफ्नो विरुद्धमा चल्ने अभियान नियन्त्रण गर्न र असहमतिहरूलाई कम गर्न सहयोग गर्नेछ ।

विश्वमा प्रविधिको मामलामा चीन सबैभन्दा अगाडि देखिन्छ, जसले डिजिटल संसारमा विश्वका अन्य देशभन्दा धेरै सफलता हात पारेको छ ।

चीनले आफ्नो छुट्टै इन्टरनेट भर्सन (संस्करण) बनाउन ठूलो संख्यामा प्राविधिक विशेषज्ञलाई काम दिएर ठूलो रकम पनि खर्च गरेको थियो ।

सन् २००१ देखि चीनले प्रत्येक वर्ष सेन्सरियस टेलिकम उपकरणमा २० अर्ब डलर खर्च गरेको इन्टरनेसनल सेन्टर फर ह्युमन राइट्स एन्ड डेमोक्रेटिक डेभलपमेन्टले अनुमान गरेको छ । 

चीनले इन्टरनेटको एउटा यस्तो पर्खाल निर्माण गरेको छ, जसले चिनियाँ साइबर स्पेसमा प्रवेश गर्ने प्रत्येक इन्टरनेट ट्राफिकको निरीक्षण गर्दछ र यसलाई देशको ब्लक सूचीमा भए/नभएको जाँच गर्दछ ।

चीनमा धेरैजसो इन्टरनेट ट्राफिकले तीनवटा चेक पोइन्टबाट पार गर्नुपर्ने हुन्छ । जसले देशको नियम विपरीतको कुनै पनि सामग्रीलाई रोक्ने अधिकार राखेको छ ।

रुसले चिनियाँ रणनीतिको नक्कल गर्नु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहुँचभन्दा बाहिर कुरा भएको अमेरिकी इन्टरनेट अनुगमन कम्पनी ‘केनटिक’ का डो मेडोरी बताउँछन् ।

‘मलाई लाग्दैन कि रूसले चीनले प्रयोग गरेको जस्तो इन्जिनियरिङका स्रोत साधानमा लगानी गरेको छ,’ उनले भने, ‘विश्वमा धेरै यस्ता देश छन्, जुन चीनले जस्तै सफलता पाउन चाहन्छन्, तर यो सबैको हातमा हुँदैन । तिनीहरूले सक्दैनन् । तिनीहरूले यो काम गर्न जनता पाएका छैनन् । रुस चीनजस्तै बन्नको लागि धेरै काम गर्न अझैँ बाँकी छ ।’

कुनै देशको इन्टरनेट नियन्त्रण गर्न दुईवटा प्रमुख कुराको आवश्यकता हुन्छ, पहिलो आफूलाई बाँकी संसारबाट अलग गर्ने र दोस्रो देशभित्रबाट हुने अन्य देशको पहुँचमा रोक लगाउने । यद्यपि यो दुवै कुरा चीनका लागि सहज भएपनि रुसका लागि भने सहज नभएको उनले बताए ।

अर्कोतिर हेर्ने हो भने चीनले पहिलो पटक इन्टरनेटमा सन् १९९६ मा लगइन गरेदेखि नै इन्टरनेटको पूर्ण नियन्त्रण राज्यको हातमा राखेको थियो । समाजवादी प्रणालीलाई फ्याँक्ने नीतिको रुपमा यो आएको हुँदा यसमा सरकारको निगरानी राखिएको चीनको भनाइ छ ।

रूसको कानून अनुसार त्यहाँको इन्टरनेट नियामक ‘रस्कोमनाड्जोर’ ले रूसको इन्टरनेट सेवा प्रदायकहरूको सामग्री ब्लक गर्न वा ट्राफिक अनुरोध रोक्न निर्देशन दिन सक्छ । नियामकलाई उचित नलागेका सामग्री निर्देशन अनुसार आईएसपीहरूले इन्टरनेट ट्राफिकलाई फर्काउन पनि सक्छन् । 

‘रूससँग ३००० भन्दा बढी आईएसपी छन्, यी निर्देशन विभिन्न गतिमा लागू गरिरहेको छ । ती सबै आईएसपीले बीबीसी वा अथवा अन्य संस्थाको सामग्रीलाई सरकारी निर्देशन अनुसार रोक्न आफ्नै छुट्टै उपकरणहरू प्रयोग गरिरहेका छन्,’ उनले भने ।

प्रत्येक आईएसपीले विभिन्न तरिका प्रयोग गरेर रूसी मिडिया नियामकले निषेध गरेका सामग्री वेबसाइटहरूमा पहुँच पुर्‍याउन रोक्दै आएको छ । यो काममा रुस सफल पनि भएको छ ।

सामान्यत: रूसी आईएसपीहरूले प्रयोगकर्ताले निषेधित सामग्री भएको वेबसाइटमा पहुँच पुर्‍याउन खोज्दा कनेक्सनलाई रिसेट गरिदिन्छन् र प्रयोगकर्ताको रिक्वेस्ट पुरा हुँदैन ।

उनीहरूले कनेक्सन रिसेट गरेर प्रयोगकर्तालाई आफूले चाहेको वेबसाइटमा पहुँच पुर्‍याउनबाट रोक्ने गरेका छन् । योसँगै रूसले इन्टरनेटको पहुँचलाई रोक्न अन्य धेरै कदम पनि चालेको छ ।

जस्तो कि, रुसी सरकारले केही सीमित वेबसाइटमा मात्र प्रयोगकर्ताको पहुँचलाई रोक लगाएको छ भने अर्को कदम भनेको रुसी सरकारले डीएनएस प्रयोग गरेर वेबसाइट पहुँच गर्ने प्रयास गर्ने प्रयोगकर्तालाई ब्लक सूचना प्रदान गर्ने गर्दछ ।

यद्यपि यी प्रणालीहरूमा पनि केही कमजोरी भने पक्कै छन् । देशको सेन्सरशिप विभिन्न माध्यममा छरिँदा यो कम प्रभावकारी हुने विज्ञहरूको भनाइ छ ।

रूसले त्यसलाई सुधार्ने प्रयास गर्ने दिशामा केही कदम चालेको छ, तर हालको स्थितिमा रुसी इन्टरनेट पूर्वाधारको इन्टरनेट इकोसिस्टमका कारण रुसले राष्ट्रव्यापी रुपमा बेवसाइटहरू ब्लक गर्न धेरै चुनौती खेपेको छ ।

रूसको इन्टरनेट इकोसिस्टम विश्वव्यापी रूपमा इम्बेड गरिएको छ । दूरसञ्चारदेखि डेटा डेलिभरी नेटवर्कसम्म रुसको पूर्वाधार सञ्चालनमा धेरै विदेशी कम्पनीहरू संलग्न भएको छ, जसमध्ये एक नोकिया पनि हो ।

यस विषयमा रुस आफैं पनि सचेत छ र पछिल्लो समयमा यसले विश्वव्यापी इन्टरनेट पूर्वाधारबाट आफूलाई बाहिर निकाल्न काम गरिरहेको छ ।

यो सबै काम सूचना प्रवाह नियन्त्रणका लागि, हानिकारक जानकारी फैलिनबाट रोक्न लगायतका कामका लागि रूसले आफ्नै सार्वभौम प्रविधि क्षमता विकास गर्ने प्रयास गरिरहेको छ ।

सन् २०१५ मा, रूसको राष्ट्रिय सुरक्षा रणनीतिले विदेशी-निर्मित सूचना प्रविधिका हार्डवेयरलाई बहिस्कार गर्ने प्रावधान ल्याएको थियो । यो राष्ट्रवादी नीतिले रुसलाई आफ्नो सिमानाभित्र इन्टरनेट पहुँच प्रदान गर्ने र प्रदान गर्ने कम्पनीहरूमा थप शक्ति प्रदान गर्ने उद्देश्य पनि पुरा गरेको छ ।

यद्यपि यसले पूर्ण रूपमा भने काम गरेको छैन । रूस अझै पनि अन्तर्राष्ट्रिय कम्पनीहरूमा निर्भर छ ।

सन् २०१५ को नीति रुसको एकमात्र कदम भने थिएन । आफ्नै स्वतन्त्र इन्टरनेट लागू गर्न सन् २०१९ को मे महिनामा पुटिनले ‘रुनेट’ को घोषणा गरेको थियो । यसपछि सोही वर्षको नोभेम्बर महिनामा पुटिनले डोमेस्टिक (घरेलु) इन्टरनेट कानून पनि जारी गरेको थियो ।

रुनेटको विशेष तीनवटा मुख्य नीति छन्; कम्पनीमा प्याकेट-स्नुपिङ हार्डवेयर स्थापना गर्ने, अधिकारीहरूलाई इन्टरनेटको नियन्त्रण केन्द्रीकृत गर्न अधिकार दिने र राष्ट्रिय डीएनएस प्रणाली सिर्जना गर्ने ।

यसको अर्थ हो, रूसले यो सुनिश्चित गर्न सक्छ कि, यसको सिमानाभित्र कसैले पनि प्रतिबन्धित वेबसाइटहरू सजिलै पहुँच गर्न सक्ने छैन । राष्ट्रिय डीएनएस प्रणालीले रुसभित्र विश्व इन्टरनेटको स्थानीय भर्सन स्थापित गर्छ, जुन चीनले राखेको इन्ट्रानेट-शैली अथवा केही हदसम्म इरानको राष्ट्रिय सूचना नेटवर्कसँग मिल्न जान्छ ।

यसपछि २०१९ कै डिसेम्बर महिनामा रूसले देशका १० वटा सार्वजनिक इन्टरनेट एक्सचेन्ज पोइन्टमार्फत संसारको बाँकी भागमा कनेक्ट हुन आवश्यक नभई विश्वव्यापी इन्टरनेटबाट आफूलाई अलग्याउने सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको थियो । यद्यपि यो परीक्षणको प्रभावकारिता र वैधता दुवै विवादित छन् ।

विस्तारै नै सही, तर रुस आफ्नो लक्ष्यतिर भने अगाडि बढिरहेको छ । सन् २०२१ को मार्च महिनामा रोसकोमनाड्जोरले रुसमा ट्वीटरले लागूपदार्थको प्रयोग, बालबालिकाको यौनिकरण र आत्महत्यालाई प्रोत्साहन गर्ने सामग्री होस्ट गरेको दाबी गर्दै यसको पहुँचलाई कम गरिरहेको घोषणा गरेको थियो ।

रुसका आईएसपीहरूले पनि ट्वीटरलाई ब्लक गर्नुको साटो ‘टेक्निकल सोलुसन फर थ्रेट काउन्टरमेजर’ (धम्कीपूर्ण प्राविधिक समाधान) अपनायो ।

यो विधिले ब्लक सूचीमा रहेका यूआरएलहरूका लागि इन्टरनेट ट्राफिकको निगरानी गर्दछ, त्यसपछि ती अनुरोधहरू समावेश भएका सबै प्याकेटहरू रोक्न अनुरोध गर्दछ ।

यसो गरेको खण्डमा अनलाइनको संसारलाई कडाइ गर्ने चीन, उत्तर कोरिया र इरानपछि रुस चौंथौ देश हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५