close

आईफोन १३ मा प्रयोग भएको ‘एलटीपीओ’ डिस्प्ले प्रविधि के हो ? सजिलै यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

चैत २१, २०७८ १३:५

आईफोन १३ मा प्रयोग भएको ‘एलटीपीओ’ डिस्प्ले प्रविधि के हो ? सजिलै यसरी बुझ्नुहोस्

काठमाडाैं । एलटीपीओ (LTPO) को विस्तारित रूप लो टेम्प्रेचर पोलिक्रिसटलाइन अक्साइड हो । यो यस्तो प्रविधि हो, जसले कुनै पनि अन्य हार्डवेयरको सहयोग बिना डिस्प्लेलाई रिफ्रेस रेट परिवर्तन गर्न मद्दत गर्छ ।

एलटीपीओले जीपीयू र डिस्प्ले कन्ट्रोलर बीचमा रहेर काम गर्छ । डिस्प्लेमा एलटीपीओ प्रविधि प्रयोग गर्दा यसले रिफ्रेस रेट आवश्यकता अनुसार छिटो-छिटो परिवर्तन गर्छ । यसले पुराना प्रविधिमा हुने ब्याट्री खपतको समस्या भने केही हदसम्म समाधान गर्न सक्छ ।

यो प्रविधि एप्पलले विकास गरेको हो, जुन एप्पलका एप्पल वाच सिरिज फाइभमा पनि प्रयोग भएको छ । यसले रिफ्रेस रेटलाई एकै पटकमा ६० हर्जबाट १ हर्जसम्म झार्न सक्छ । अहिले यो प्रविधि मोबाइलमा ब्याट्री खपत घटाउन प्रयोग गरिँदै छ ।

अहिले मोबाइलहरुमा प्रयोग भएको ओलेड (OLED) डिस्प्लेहरुमा लो टेम्प्रेचर पोलिक्रिसटलाइन सिलिकन (LTPS) प्रविधि  गरिएको छ । जसमा पातला फिल्म ट्रान्जिस्टर प्रयोग गरिएका छन् ।

ओलेडमा एलटीपीएस प्रविधिले गर्दा २० देखि ३० प्रतिशतसम्म एलसीडी डिस्प्लेमा भन्दा मोबाइलको ब्याट्री कम खपत भएको छ । तैपनि यसमा रिफ्रेस रेट परिवर्तन गर्नका लागि भने अन्य हार्डवेयर आवश्यक पर्छ ।

तर अहिले प्रयोग हुन थालेको एलटीपीओ प्रविधि भने एलटीपीएस टीएफटी (LTPS TFTs) र इन्डियम ग्यालियम जिंक अक्साइड (IGZO)बाट बनेका ट्रान्जिस्टरहरूबाट निर्माण भएका हुन्छन् ।

यसमा रहेको इन्डियम ग्यालियम जिंक अक्साइड (IGZO)ले डिस्प्लेलाई चलाउन मद्दत गर्छ भने एलटीपीएस टीएफटी (LTPS TFTs)ले स्विच सर्किट चलाउँछ । यो सबै कुराले गर्दा नै  एलटीपीओ प्रविधि प्रयोग भएका डिस्प्लेमा पावर खपत कम र रिफ्रेस रेट सजिलै परिवर्तन हुन्छ ।

उदाहरणका लागि रिफ्रेस रेट धेरै चाहिने अवस्था जस्तै पब्जी जस्ता गेम खेल्दा रिफ्रेस रेट आफैं १२० हर्जसम्म पुग्छ, तर रिफ्रेस रेट कम चाहिएको अवस्था जस्तै मोबाइल नचलाई राख्दा वा नोटिफिकेसन आउँदा आफैं एक हर्ज रिफ्रेस रेटमा काम गर्छ ।

यसरी रिफ्रेस रेट चाहिएको बेलामा मात्र घटबढ हुँदा मोबाइलको ब्याट्री खपत कम हुने भयो नै । यो प्रविधि अहिले आईफोन १३ सिरिजका फोन, सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा, सामसङ ग्यालेक्सी नोट २० अल्ट्रामा प्रयोग भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५