close

सीपीयू र जीपीयूमा नझुक्किनुहोस्, यस्तो छ फरक

टेकपाना टेकपाना

चैत २२, २०७८ १७:३२

सीपीयू र जीपीयूमा नझुक्किनुहोस्, यस्तो छ फरक

काठमाडौं । सीपीयू अर्थात् सेन्ट्रल प्रोसेसिङ युनिटलाई कम्प्युटरको मस्तिष्क मानिन्छ । ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) लाई चाहिँ कम्प्युटरको आत्माको रुपमा लिन सकिन्छ । वितेको एक दशकयता जीपीयूले कम्प्युटरको सीमितताको दायरा तोडेको छ ।

जीपीयूले विश्वव्यापीरुपमा एआईलाई फल्नफुल्न मद्दत गरेको छ । जीपीयू आजको आधुनिक सुपर कम्प्युटिङको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यो नयाँ हाइपरस्केल डेटा सेन्टरमा जोडिदैछ । गेमरहरुबीच चर्चित जीपीयू, इन्क्रिप्सन, नेटवर्किङदेखि एआईसम्म सबै कामलाई स्पीड अप गर्ने एक्सिलेरेटर बनेको छ । 

जीपीयूले गेमिङमा एड्भान्समेन्ट ल्याएको छ । साथै यसले डेस्कटप, पीसी तथा नयाँ जेनेरेसन ल्यापटपहरुमा प्रो ग्राफिक्स एडभान्समेन्ट ल्याइरहेको छ । 

जीपीयू अब पीसीमा मात्र सिमित छैन । यो प्यारेलल कम्प्युटिङको पुरानो आइडियामा अडिएको छ । यही कुराले जीपीयूलाई अझ शक्तिशाली बनाएको छ । 

वास्तवमा के हो त जीपीयू भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ । कल्पना गर्नुहोस् तपाईसँग कोर आई सेभेन प्रोसेर वाला लेटेस्ट कम्प्युटर छ र तपाईंले त्यसमा अलग्गै ग्राफिक्स कार्ड लगाउनु भएको छैन ।

तर तपाईंको साथीसँग पुरानो बेकारको कोर आई थ्रीवाला ल्यापटप छ र तपाईंको साथीले हाइ ईण्डवाला नयाँ ग्राफिक्स कार्ड प्रयोग गरेको छ । जब तपाईंहरु दुईजना आआफ्नो कम्प्युटरमा जीटीए फाइभ गेम सँगसँगै खेल्नुहुन्छ, तब तपाईंले गेमको पर्फमेन्स आफ्नोमा कमजोर र साथीको कम्प्युटरमा राम्रो देख्नुहुन्छ ।

कम्प्युटरको दिमाग सीपीयू हो, यसलाई चलाउन तपाईंले अहिलेको लेटेस्ट प्रोसेसर प्रयोग गर्नु भएको छ । तर पनि तपाईं राम्ररी गेम खेल्न सक्नुहुन्न । तपाईकै साथी भने बेकारको पुरानो प्रोसेसरमा पनि यो गेम मज्जाले खेल्न सकिरहेको छ । यस्तो देखेर तपाईंको दिमाग पक्कै घुम्नेछ । 

अब जीपीयूको महत्व तपाईले यहीँनिर आएर बुझ्नुहुन्छ । जीपीयूको पुरा शब्दवाली ग्राफिक्स प्रोसेसिङ युनिट हो । सीपीयूको चाहिँ सेन्ट्रल प्रोसेसिङ युनिट हो । जब यी दुई कुरालाई तपाईं सतही रुपमा हेर्नुहुन्छ, तब तपाईलाई यी दुवै कुरा एकै भएजस्तो लाग्न सक्छ ।

त्यसो त यी दुवै साना चिप हुन् । तर यी दुई जसरी डिजाइन भएका छन्, जसरी काम गर्छन् र जे काम गर्छन्, तिनै कुराले यीनलाई फरक र विशेष बनाएको हो । 

तपाईंको फोन वा ल्यापटपमा राखिएको प्रोसेसर एउटा सामान्य प्रयोजनको (जनरल परपस) प्रोसेसर हो । त्यसले सबै काम गर्छ । कुनै हिसाब किताब गर्न, फिल्म हेर्न, गीत सुन्न, इन्टरनेट  ब्राउजिङ गर्न आदि तपाईंलाई जे मन लाग्छ, त्यही गर्न सक्नुहुन्छ ।

किनभने यो एउटा जनरल परपस प्रोसेसर हो । तर जीपीयूको कुरा गर्दा यो चाहिँ एउटा विशेष प्रयोजन भएको प्रोसेसर हो । जसले प्यारेलल कम्प्युटिङको मद्दतबाट ग्राफिक्सलाई मात्र हेर्दछ । 

जीपीयूको दुई किसिमको हुन्छ । एउटा इन्टिग्रेटेड जीपीयू र अर्को डेडिकेटेड जीपीयू । इन्टिग्रेटेड जीपीयू, एउटा सिंगो प्रोसेसरभित्र छुट्टै हिस्साको रुपमा रहेको हुन्छ । जसले ग्राफिक्सलाई छुट्टै ह्याण्डल गर्दछ । 

यस्तै डेडिकेटेड जीपीयू भनेको चाहिँ तपाईंले ल्यापटप तथा कम्प्युटरमा अलग्गै राख्न सक्नुहुन्छ । उदाहरणका लागि जीटीएक्स १०८०, आरएक्स ४६० डेडिकेटेड जीपीयू हुन् । तर इन्टिग्रेटेडका लागि इन्टेलको एसडी ग्राफिक्स, इन्टेल आइरिस ग्राफिक्स, इन्टेल आइरिस प्रो ग्राफिक्स छन् ।

यदि तपाईंले आफ्नो स्मार्टफोन वा ट्याब्लेटमा क्वालकम प्रोसेसर प्रयोग गर्नु भएको छ भने त्यसमा तपाईंले अड्रिनो जीपीयू पाउन सक्नुहुन्छ । यदि तपाईंले एक्जिनसको प्रोसेसर प्रयोग गर्नु भएको छ भने माली जीपीयू पाउन सक्नुहुन्छ ।

यदि तपाईंले आईफोन प्रयोग गर्नुहुन्छ भने त्यहाँ पावर भीआर जीपीयू हुन्छ । इन्टिग्रेटेड जीपीयू चिपको एउटा हिस्सा हो, जसले ग्राफिक्समा काम गर्दछ । 

अब तपाईंभित्र प्रश्न पलाउन सक्छ कि वास्तवमा ग्राफिक्सभित्र के छ त ? जसका लागि हामीले अलग्गै सिस्टम लगाउनु पर्छ । यसको पछाडिको कारण भनेको हामी ग्राफिक्सका लागि प्यारेलल कम्प्युटिङ प्रयोग गर्दछौं ।

उदाहरणका लागि तपाईं जीटीए फाइभ खेल्दै हुनुहुन्छ भने तपाईंको गेमभित्र सडक, गाडी, घर, रुख, बादल, मान्छे यी सबै ग्राफिक्स चरित्र हुन्छन् ।

जब तपाईं गेम खेल्दै जानुहुन्छ, तब तपाईंको मोनिटरमा के कुरा कता देखिने के कता पुग्ने, अगाडि पछाडि घुम्दाको दृश्य कस्तो बन्ने भन्ने यी तमाम कुरा कम्प्युटरले चाँडोभन्दा चाँडो प्रोसेस गरेर तपाईंको सामुन्ने ल्याइपुर्‍याउनु पर्छ ।

दृश्यमा देखिने यी सबै वस्तु एक अर्कोसँग निर्भर नहुने भएका कारण यसमा प्यारेलल कम्प्युटिङको प्रयोग हुन्छ । तपाईंको जीपीयूको एउटा हिस्साले गाडी, अर्कोले मान्छे, अर्कोले सडक र अर्कोले अन्य कुरालाई ह्याण्डल गर्दछ । यी सबै कुरा एकसाथ प्रोसेस भएर तपाईंको गेममा एउटा सिंगो दृश्यलाई सिर्जना गर्दछ ।    

तर एउटा सीपीयूले यो सबै काम गर्न सक्दैन । यसकारण यदि तपाईंसँग एउटा डेडिकेटेड जीपीयू छ भने तपाईंको गेमिङ पर्फमेन्स एकदमै राम्रो हुन्छ । यसबाहेक यदि भिडियो रेन्डरिङ, भिडियो प्रोसेसिङ र इमेज प्रोसेसिङको काम गर्दै हुनुहुन्छ भने रेन्डरिङ ब्लकमा गरिन्छ ।

त्यहाँ तपाईंले भिडियोलाई ससाना टुक्रामा विभाजन गरेर सबैलाई सँगै समानान्तररुपमा कम्प्युटिङ गर्न सक्नुहुन्छ । यसरी तपाईंसँग डेडिकेटेड जीपीयू छ भने कामको पर्फमेन्सलाई अझ राम्ररी बढाउन सक्नुहुन्छ ।

 इन्टिग्रेटेड जीपीयूको कुरा गर्दा तपाईंले स्नापड्रागन ४३० लाई स्नापड्रागन ६१५ सँग तुलना गर्न मिल्दैन । स्नापड्रागन ६१५ करटेक्स ए ५३ मा आधारित अक्टाकोर प्रोसेसर हो । यसको अधिकतम फ्रिक्वेन्सी भनेको १.७ गिगाहर्ज हुन्छ ।

त्यस्तै स्नापड्रागन ४३० पनि  करटेक्स ए ५३ मा आधारित अक्टाकोर प्रोसेसर नै हो । यसको अधिकतम फ्रिक्वेन्सी भने १.४ गिगाहर्ज हुन्छ । यस्तो बेला तपाईं ६१५ बलियो भनेर सोच्नुहुन्छ । तर यो भ्रम हटाउनुहोस् । गेमिङका लागि ४३० धेरै नै शक्तिशाली हुन्छ ।

किनभने यसमा एड्रिनोको ५०५ जीपीयू पाउन सकिन्छ र ६१५ मा तपाईंले एड्रिनोको ४०५ जीपीयू मात्र पाउनुहुन्छ । यदि सामान्य सीपीयूमा आधारित पर्फमेन्सको कुरा गर्ने हो भने सीपीयूमा ६१५ ले राम्रो काम गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५